१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

विडम्बना

लघुकथा

मिलन समीर

‘हैन हो! यो स्कुलमा अस्ति भर्खर आएको त्यो नयाँ सरको फुर्तीफार्ती त निकै बढी देखिन्छ है सर!’

कक्षा दशमा पढ्ने एकजना ट्यापे टाइपको विद्यार्थीले गुनासो सुनाउने आँट गर्दै थियोे, आफूलाई पढाएझैं गर्ने जँड्याहा सरसँग।

‘नयाँ जोगीले धेरै नै खरानी घस्छ भन्ने उखान सुनेको थिएँ। साँच्चै हो रहेछ भन्ने कुरा आज आएर आफ्नै आँखाले देखिंदैछ है सरहरू!’

वर्षौंदेखि सोही स्कुलमा पढाएझैं गर्दै आएको महाअल्छी पाराको एकजना अस्थायी शिक्षकले व्यंग्य गर्दै थियो, ठ्याक्कै आफ्नोजस्तै स्वभाव भएको सहकर्मी स्थायी शिक्षकसँग।

‘यो अरू केही होइन। उसलाई हेडसर हुन हतार भएको मात्रै हो। हिजो आएको त्यो फुच्चेले यसो गरौं, उसो गरौं भनेर मलाई सिकाउन खोज्ने! मैले पनि जानेको छु, कसलाई कसरी ठिक पार्नुपर्छ भन्ने कुरा!’

वर्षौंदेखि सोही स्कुलमा कार्यरत महाअल्छी निमित्त टाउके मास्टरले पहिलेदेखिको रिस पोख्दै थियोे, नयाँ सरको अनुपस्थितिमा बसेको शिक्षक स्टाफ मिटिङमा।

‘पढाउन भनेर आएको हो कि, हाम्रो स्कुलमा भाँडभैलो मच्चाउन आएको हो त्यो मुला मास्टर! हाम्रो स्कुलमा आएर हिरो हुन खोज्ने साला! हाम्रो हेडसरलाई सिकाउन खोज्ने त्यसको के हैसियत? हाम्रो हेडसरलाई बाइकट गर्न खोज्ने उम्रिंदैको तीनपाते त्यो मुला मास्टर यहाँ धेरै दिन टिक्दैन है! मैले भन्दिया छु!’

विद्यालय व्यवस्थापन समितिको एकजना सदस्यले चिरिप्प पार्दापार्दै झ्याप भएर चिच्याउँदै थियोे साँझको नियमित जाँड पार्टीमा।

‘नयाँ सर आएपछि त स्कुल पहिलेको जस्तो छैन नि! धेरै सुधार हुँदै गएको छ है!’

एकजना अभिभावकले मसिनो स्वरमा सुनाउँदै थिए।

‘स्कुलमा जानै नखोज्ने हाम्रो हरामी ठूलो केटा पनि अचेल लामो कपाल काटेर, दुवै काने टप निकालेर खुरुखुरु पढ्न जान थालेको छ त!’

अर्का अभिभावकले पनि उस्तै गरी मसिनो स्वरमा सुनाउँदै थिए।

‘अहिले त सबै विद्यार्थी स्कुल ड्रेसमा चट्ट परेर दिनहुँ दस बजेको घण्टी नबज्दै स्कुलभित्र पसेको देखिन्छ। स्कुल टाइममा पनि पहिले झैं ग्वारग्वार्ती बाहिर निस्केको पनि देखिंदैन नि!’

गाउँलेहरूले पनि एक आपसमा यस्तै कुरा गरेको सुनिन्थ्यो।

साँच्चिकै दुःखको कुरा, ठीकबेठीक छुट्याएर तीतो तर सदैव सत्य कुरा गर्ने नयाँ सरलाई प्रत्यक्ष रूपमा हौसला दिने गरी विवेकशील भएर समग्र विद्यालयको संस्थागत सुधारसँगै त्यहाँ पढ्ने विद्यार्थीहरूको उज्यालो भविष्यका लागि साँच्चिकै अप्ठेरो परिरहेको बेलामा पनि मुख फोरेर बोलिदिने जिउँदो मान्छे त्यहाँ कोही पनि थिएन।

प्रकाशित: ३२ असार २०७९ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App