२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

मृदुलको ‘समकालीन लघुकथा विवेचना’ विमोचित

साहित्यकार ममता मृदुलको ‘समकालीन लघुकथा विवेचना’को विमोचन गरिएको छ।

वरिष्ठ कथाकार पद्मावती सिंहको प्रमुख आतिथ्यमा राजधानीको बत्तीसपुतलीस्थित तृप्ति रेस्टुरेन्टमा बिहीबार बिहान साहित्यकारहरू-प्राडा सावित्री मल्ल कक्षपति, वरिष्ठ कथाकार पद्मावती सिंह, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, सचिव तुलसीहरि कोइराला,  स्रष्टा साझ अमेरिकाका संस्थापक अध्यक्ष प्रभात दिक्षित, कृतिका लेखक ममता मृदुल र प्रतिलिपि अधिकार कार्यालयका रजिस्टार विष्णुकुमारी भट्टराईले कृतिको विमोचन गरेका थिए।

साहित्यकार प्राडा सावित्री मल्ल कक्षपतिले नेपाली लघुकथा समालोचनाका क्षेत्रमा नवीन कृति आएको बताइन्। उनले भनिन्, विधातात्त्विक समालोचनाका आधारमा यो कृति आएको छ। लोकप्रिय बनेको लघुकथा विधामा बहिनी पुस्ताले प्रतिनिधित्व गरेकोमा अत्यन्त खुसी लागेको छ।’

बाहिरबाट यो कृति लघुकथासंग्रहजस्तो देखिए पनि समालोचनात्मक कृति रहेको उनले बताइन्। साथै  फेसबुकजस्तो डिजिटल मिडियामा आएका लघुकथाहरू सामग्री स्रोतका रूपमा संकलन गरिएकाले यसले नयाँ पद्धतिको सुरुवात गरेको उनले बताइन्।

कार्यक्रममा प्रतिलिपि अधिकारको कार्यालयकी रजिस्टार विष्णुकुमारी भट्टराईले कुनै पनि विधाको गहन अध्ययन र विश्लेषणबिना समालोचना गर्न नसकिने बताइन्। उनले भनिन्, ‘लघुकथाको गहन अध्ययन र विश्लेषण गर्नु चानचुने कुरा होइन। मृदुलले साहसिक काम गरेकी छ।’

कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ कथाकार पद्मावती सिंहले आफूले लामा खालका कथा लेखे पनि लघुकथा थोरै मात्र लेख्न सकेको बताइन्। उनले भनिन्, ‘आफू पनि कथाकार भएकाले लघुकथा लेखनबारे जानकार छु। लघुकथालाई चोटिलो र प्रहारात्मक पार्नुपर्ने भएकाले यो ज्यादै कठिन कार्य हो। अझ त्यसको समालोचनात्मक कृति अझ महत्त्वपूर्ण छ।’ पछिल्लो विधालाई बहिनी पुस्ताले नेतृत्व गरेकोमा आफू हर्षित बनेको उनले बताइन्।

लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लोकार्पित समालोचना संग्रह लघुकथाको पहिलो समालोचना संग्रह भएको बताए। उनले भने, ‘लघुकथसंग्रहका पुस्तक, लघुकथाको विधा सिद्धान्त र फुटकर समालोचना प्रकाशित भए पनि कृतिगत तहमा यो नै पहिलो पुस्तक हो।’

यसभित्र केही कमीकमजोरी होलान्। त्यसको समीक्षा र सुधार हुँदै जाने र लघुकथाको यो पुस्तक आउनु आफैंमा एउटा उपलब्धि भएको उनले बताए।

तुलसीहरि कोइरालाले सञ्चालन गरेको कार्यक्रममा राजेश खनाल र दायित्व प्रकाशनका अध्यक्ष रामप्रसाद पन्तले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित: ३० असार २०७९ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App