विष्णु आभूषण
बाटाछेउमा एउटा रहरलाग्दो फूल फुलिरहेको थियो। मानौ सुन्दरताको अद्भूत आभा फ्याँकेर मुस्कुराइरहेको हो। कोही बटुवा डालीबाट फूल चुँडेर हातमा खेलाउँदै फूलको बखान गाउँदै अगाडि बढ्थे।
कोही भने गनगनाउँथे, ‘कसले बाटाको छेवैमा यो फूल रोपेको हो! हिंड्नै अप्ठेरो।
फूल भने आफैंमा हराएझैं कसैको प्रशंसा र निन्दाबाट बेखबर मुस्कुराइरहेको थियो।
त्यहीबेला अरू एक हुल बटुवा आए। एउटा बटुवाले फूलको डालीमा अन्धाधुन्ध हातको खुकुरी प्रहार गर्दै सिंगो फूलको बोट ढालेर बाटामुनि पन्छाइदियो,‘कसले बाटाछेउ यो फूल रोपेको हो?’
उसको वितण्डाका साथ आएको त्यो कर्कश आवाजलाई अरू बटुवाले कुनै प्रतिक्रिया दिन उचित ठानेन क्यारे। कोही बोलेनन्। आफ्नै धुनमा अगाडि बढिरहे। बाटाभन्दा तल फूलको बोट लतारिएर झर्यो। आफ्नो सर्वांग सौन्दर्य बाँड्दै निर्बोध मुस्कान छरेर उसरी नै मुस्काइरहेकै थियो-फूल।
प्रकाशित: १९ असार २०७९ ०७:४८ आइतबार