दुर्गा वनवासी
नेपाली महिलाहरूसँग अन्तर्वार्ता लिंदालिंदै नेपाली बोल्नमा निकै पोख्त भइसकेकी खैरेनीले अंग्रेजी जिब्रोमा नेपाली पड्काइन्, ‘टपाईं अमेरिका कटि बस्ने?’
‘धेरै होइन मेडम, तीनचार महिना बस्ने हो, बढीमा ६ महिना।’ मधुरो आवाजमा थोरै डराउँदै रटाएको उत्तर दिइन् बुद्धिमायाले।
‘ओ... यटि ठोरै समयका लागि किन जाने अमेरिका?’ उनको जवाफको अनुमान लगाइसकेकी खैरेनीले औपचारिकता पूरा गर्दै फेरि सोधिन्।
‘बुहारीको बच्चा हुन लागेको छ मेडम! छोरा काममा जान्छ। त्यसैले बुहारी स्याहार्न जाने।’आशालु आँखाहरू खैरेनीतिर तेस्र्याइन् उनले।
‘ओ.... सेम केस! ठीक छ, टपाईं अमेरिका जान सक्नुहुन्छ।’ खैरेनीले तोक लगाइदिएसँगै उनको खुशी सगरमाथाझैं उचालियो। चम्किलो अनुहारमा विजयी मुस्कान भरेर खैरेनीलाई अजस्र धन्यवाद दिइन्।
‘डेख्नुबायो गनशामजी, स्वार्ठी सन्टानको नकली माया! अचेल ढेरै यस्टै आमाहरू आउँछन् इन्तरव्युका लागि। टपाईं भन्नुहुन्छ नि अमेरिकामा जस्टो नेफालमा हुँडैन। यो के हो गनशामजी? अचेल ट बिडेश जाने सन्टानहरूले बाचा हुने बेलामा आमाबुबालाई बोलाउने अनि पछि नेफाल पाठाइडिने। विडेश जाने, उटा सेठल हुने, वृद्ध बाआमालाई किन नहेर्ने? आमालाई ढाईआमा बानाउने, बाउलाई सर्भेन्त बानाउने?’ छेउको सहकर्मीसँग तितो पोखिन् खैरेनीले।
जोसिलो पाइला चाल्दै बाहिर निस्किंदै गरेकी बुद्धिमाया जड बनिन्।
मनमनै सम्झिन्, ‘हो त नि! गएदेखि पाँच महिनामा एकपल्ट फोन गर्न नभ्याउने र यताबाट उनले अरूसँग लगाइमागेको कलमा समेत विभिन्न वहानामा बोल्न नचाहने छोराबुहारी एकमहिना अघिदेखि त लगातार फोन गरिराखेका छन् नि! बुहारीको सुत्केरी बिदा सकिएपछि त उनलाई पनि त नेपाल फर्काइदिन्छन् नि!
एक्ली आमालाई छोडेर गएपछि बेलाबेलामा फोन गरेर खबर सोध्नसम्म नभ्याउने छोराले अचानक बाक्लै कल गरेर अमेरिका लैजाने कुरा त गयो तर सधैंका लागि आउनु त भनेन नि! सँगै बस्दा पनि त एउटै घरमा दुईटा चुलो बाल्नुपरेकै थियो। आखिर उनीहरुसँग कहाँ अटाएकी थिइन् र उनी?
‘म अमेरिका जान्न मेडम! अप्ठेरो परेका बेला मात्र सम्झिने स्वार्थी सन्तानका हातको कठपुतली बन्नु हुँदैन अब। केहीबेरको विदेशी झिलिमिलीको लोभमा आफ्नो गौरव र स्वाभिमान गिर्न दिनुहुन्न। यसको सुरुवात म गर्छु मेडम र आजैबाट।’
दृढ निश्चयसाथ खैरेनीका टेबलमा अघि छाप लागेको कागज पछार्दै फनक्क फर्किइन् बुद्धिमाया।
प्रकाशित: १९ असार २०७९ ०७:०० आइतबार