ढाकामोहन बराल
शर्मिला गोदामको काउन्टरमा बसेर खातापाताहरू हेरिरहेकी थिइन्। एउटा हरियो टेम्पो अगाडि आएर रोकियो। टेम्पोबाट उनका श्रीमान् फुँयालजी ओर्लेर ‘चानचुन पैसा देऊ त भाडा मिलाउनुपर्यो’ भन्दै आए।
चोकर र दानाको मात्र गोदाम थियो उनीहरूको। उनीहरूसँग दुई दिन मात्रै पुग्ने दाना र चोकर थियो। अर्डर गरेको माल आउन अझै एक हप्ता लाग्ने सम्भावना थियो। आफ्ना ग्राहकलाई नियमित सेवा दिन समस्या पर्ने हुँदा गजुरीको भाजुमान साहुसँग माग्न गएको थियो।
दुई वर्षअघि उसले पनि धादिङ जिल्लामा वर्डफ्लु आएर सबै कुखुरा नष्ट भएकामा भाजुमानको दानाको स्टक राताराता नुवाकोटको मामाको छोरामार्फत विदुरतर्फ कटाइदिएको थियो।
यो गुण तिर्न पनि भाजुमानले यसपटक सहयोग गर्ला भन्ने उसलाई लागेको थियो। गजुरी हिंडेका श्रीमान् बिच बाटाबाट नै फर्केको देखेर शर्मिलालाई अचम्म लाग्यो।
उनले सोधिन्,‘गजुरी किन नगा?’
‘अब जानुपर्ला।’ काँधको बोरा गोदामको पल्लो छेउमा राख्दै उसले भन्यो।
ढोकाबाट बाहिर हेर्दै टेम्पो चालकसँग चर्को गरेर सोध्यो, ‘भाइ दश वटा नै आयो?’
टेम्पोको चालकले बोल्यो,‘एउटा बाँकी छ। मै ल्याउँछु।’
‘चोकर र दाना सकिराछ। के ल्याको हो फेरि?’ शर्मिलाले सोधिन्।
फुयाँलको जवाफ आयो,‘बढी हल्ला नगर् भन्या, युरिया हो।’
शनिबार कृषि सामाग्रीको कार्यालय बन्द हुने दिन त्यसमाथि सहकारीबाहेक अन्यलाई मल दिंदैन तर उनको गोदाममा मल आयो।
उनले सोधिन्,‘हैन हो, बुढा कहाँबाट ल्या हो युरिया?’
‘गजुरी गइरा’को बाटामा सबैले ट्रकबाट मल झिकिरा देखें। मेरो पालो मनजिकैको टेम्पो ल्याएर दनादन राखेर टाप कसें।’ उनको श्रीमानको जवाफ थियो।
प्रकाशित: १९ असार २०७९ ०६:२२ आइतबार