सृष्टिको एउटा नियम छ। यसले सधैँ आफ्नो कार्य गर्छ। उत्पत्ति कालदेखि नै आफ्नो नियममा अडिग छ। सृष्टि पनि त्यो नियमभित्र नै छ। मौसम परिवर्तनको कुरा होस् वा दिनरातको कुरा होस्, एकछिनका लागि पनि नियम छोड्दैन। त्यस्तै कुनै पनि देशको एउटा नियम हुन्छ। जसलाई संविधान भनिन्छ। त्यसअनुसार देशको व्यवस्था चल्छ। यो नियम भएन भने कुनै पनि व्यवस्था चल्न सक्दैन। चारैतिर असमानता र अशान्तिको स्थिति रहन्छ। यसैप्रकार बिनानियम जीवनको केही मूल्य छैन। हामीसँग सबै भौतिक कुरा हुँदाहुँदै पनि शान्ति छैन भने जीवनमा केही पनि छैन भन्ने बुझ्नुस्। हामी सबैको आन्तरिक चाहना शान्ति नै हो। कुनै पनि मान्छे एकछिनका लागि पनि दुःख, तनाव र अशान्ति मन पराउँदैन तर पनि दैनिक जीवनमा हामीहरूलाई यसको सामना गरिराख्नुपर्छ। दुःख र तनाव छ भने त्यसको कारण पनि छ। कारण छ भने निवारण पनि छ।
सातवटा आध्यात्मिक नियम छन्, जसको उपयोग गरेर हामी आफ्नो जीवनलाई दुःख, तनाव र पीडाबाट मुक्त गर्न सक्छौँ।
१. सन्तोष
अध्यात्मको पहिलो सूत्र हो सन्तोष। सन्तोषबिना आध्यात्मिकताको कल्पना गर्न सकिँदैन। यसैकारण भनिन्छ– संतोषम् परम सुखम्। संसारको सबै कुरा तपाईसँग छ तर असन्तुष्टिको भाव छ भने सुख पाउनुहुन्न। तर, जुन स्थितिमा हुनुहुन्छ, तपाईंसँग सन्तोष छ, यसको मतलब तपाईं सुखी हुनुहुन्छ। सन्तोषको यो मतलब हुँदैन कि अब तपाईं केही पाउनुहुँदैन। वर्तमानको सन्तोषको भावमा भविष्यको फल लुकेको हुन्छ। यो एउटा मानसिक स्थिति हो, जसले मनमा सुखको स्थिति सिर्जना गर्छ। जसले गर्दा सन्तुष्टि र साहस बढ्छ। फेरि एउटा कुरा हामीले याद राख्नुपर्छ कि ज्ञानी व्यक्ति मात्रै सन्तोषको लाभ लिन सक्छ।
२. सहयोग
हामी सबैले अर्कासित सहयोगको अपेक्षा राख्छौँ। अरूले पनि हामीले जस्तै सहयोगको अपेक्षा राख्छन् भन्ने सोच्नुपर्छ। यसकारण हामीले सकेसम्म सबैलाई सहयोग गर्नुपर्छ। एकपटक भगवान् शिवसित मा पार्वतीले सोध्नुभएछ– तपाईको भक्त को हो? उहाँले भन्नुभयो- ‘जुन अर्कालाई सहयोग गर्छ।’ माताले फेरि सोध्नुभयो– ‘जुन मान्छेसित सहयोगको क्षमता हुँदैन भने के हुन्छ?’ भगवान् शिवले भन्नुभयो( ‘जसले कल्याणको भाव मात्र राख्छ, त्यो पनि मेरो भक्त हुन्छ।’ अर्कालाई सहयोग गर्यौँ भने हामीलाई आत्मसन्तुष्टि हुन्छ। यो आत्मसन्तुष्टिले आनन्दमा वृद्धि गर्छ। सहयोगको भाव छैन भने लोभ र मोहको वृद्धि हुन्छ। जसले गर्दा दुःख र तनावको वृद्धि हुन्छ।
३. क्षमा
जीवनमा हामीले पनि अर्कालाई दुःख दिन्छौँ। अर्काले पनि हामीलाई दुःख दिन्छ। सानोसानो दुःख अनि अशान्तिको याद राख्यो भने बेलाबेलामा दुःख, तनाव र अशान्तिको स्थिति सिर्जना भइरहन्छ। याद गर्नुस्, जसरी एउटा चुट्किला सुनेर दोस्रोपटक हाँस उठ्दैन त्यसैगरी एउटै दुःखबाट पटकपटक किन दुःखी र अशान्त हुने। तर, मान्छेको स्वभाव नै एउटै दुःखबाट पटकपटक दुःखी हुने हुन्छ। यसैले क्षमा गरिराख्नुपर्छ र क्षमा मागिराख्नुपर्छ। क्षमा गर्नाले आफ्नो चित्तको फोहोर सफा हुन्छ, मनको विकार नष्ट हुन्छ। त्यसपछि मनको भाव शुद्ध हुन्छ एवम् शान्ति र आनन्दको स्थिति जन्मिन्छ। एउटा कुरा हामीले याद राख्नुपर्छ कि सकेसम्म चाँडै हामीले माफी दिन सकौँ। मान्छेहरू भित्री स्तरमा एकदमै कमजोर र संवेदनशील हुन्छन्। सानोसानो कुरामा चित्त दुखिहाल्छ। यसकारण हामी सबै वाणी र व्यवहारमाथि सावधान हुनुपर्छ।
४. संयम
अंग्रेजीमा एउटा उखान छ– मान्छेका उद्देश्य भगवान्ले निष्कृय पार्छन्। भन्नाले हामी जे चाहन्छाँै, त्यो प्राप्त हुँदैन र जे प्राप्त हुन्छ, त्यसका बारेमा सोचेका हुँदैनौँ। हामी सबै जीवनलाई राम्रो बनाउनका लागि कुनै न कुनै काम गर्छौं। यसक्रममा उतार–चढाव, मान–अपमान, सहयोग–असहयोग भइरहन्छ। कुनै बेला नकारात्मकताले गर्दा असन्तुलनको स्थिति आइदिन्छ। यस्तो स्थितिमा संयम राख्नुभएन भने धेरै नै दुःखद् परिणाम आउन सक्छ। जीवनमा धेरैपटक मन निराश भइन्छ, त्यस्तै उदास पनि भइन्छ। यहाँसम्म कि जीवन खत्तम गर्ने भाव पनि उत्पन्न हुन्छ। त्यस्तो असन्तुलित बेलामा संयम राख्नुभयो भने शान्ति छाउँछ। क्षणिक दुःखलाई संयमको गाडीमा चढेर पार गर्नुपर्छ।
५. सन्तुलन
जीवनयात्राको क्रममा हामीले सबै कुरामा सन्तुलन राख्नुपर्छ। खानपानमा सन्तुलन राख्यौँ भने शरीर स्वस्थ रहन्छ। वाणीमा सन्तुलन राख्यौँ भने सम्बन्ध राम्रो रहन्छ। धन–आर्जन र खर्चमा सन्तुलन राख्यौँ भने जीवनमा कहिल्यै पनि सङ्कटको स्थिति आउँदैन। यही सन्तुलन नराखेका कारणले ठूलाठूला उद्योगपतिहरूको उद्योग टाट पल्टिराखेको देखिन्छ। सन्तुलनले जीवन जिउन सजिलो हुन्छ।
६. नैतिकता
नैतिकता हाम्रो जीवनको आधार हो। यसबिना आध्यात्मिक जीवनको कल्पना पनि गर्न सकिँदैन। जीवनभर हामी आफ्नो जीवनलाई सुखी र सम्मानित बनाउनका लागि प्रयास गरिराख्छौँ। तर, बेहोसीमा अज्ञानताको पर्दा हाम्रो अगाडि देखापर्छ। त्यसपछि अहङ्कार र अति महŒवाकाङ्क्षामा भारी वृद्धि हुन्छ। यसक्रममा हामी नैतिकताबाट टाढा हुन थाल्छौँ। यहीँबाट सारा समस्या सुरु हुन्छ। यसकारण हामीले कहिल्यै पनि नैतिकताको साथ छोड्नुहुँदैन।
७. ध्यानसाधना
प्राचीनकालमा ध्यानसाधना जीवनको अंग थियो। जसले गर्दा त्यस बेलाको जीवन अहिलेभन्दा धेरै नै सुव्यवस्थित थियो अनि एकअर्कामा सहयोगको भावना थियो। तर, बिस्तारैबिस्तारै हामी यसबाट टाढा हुँदै गयौँ। यसकारण जीवन नै अस्तित्वहीन भएको छ। सबै कुरा हुँदाहुँदै पनि हामीलाई लाग्छ कि हामीसित केही पनि छैन। थरीथरीका भौतिक साधन भए पनि दुःख र पीडामा भारी वृद्धि भइरहेको छ। बेलाबेलामा लाग्छ कि यो जीवन नै अर्थहीन छ। ध्यानसाधनाले हाम्रो जीवनलाई एउटा आधार दिन्छ। सत्य र असत्यको अन्तर छुट्टयाउनमा सहयोग गर्छ। यसकारण हामी सबैले दैनिक जीवनमा ध्यानसाधना गर्नुपर्छ।
यसका लागि प्रत्येक दिन बिहान नित्यक्रियाबाट निवृत भएर दश मिनेटका लागि शान्त मन लिँदै पलेँटी कसेर आँखा बन्द गरेर बसौँ। यसमा पहिलो पाँच मिनटमा लामो र गहिरो सास एकदमै बिस्तारै–बिस्तारै लिने र छोड्ने गरौँ। दोस्रो पाँच मिनेटमा लगातार ऊँ ध्वनिको उच्चारण गरौँ। यो सरल ध्यानविधिको प्रयोग दैनिकरूपमा गर्नुभयो भने तीन सातामा नै यसको लाभ र प्रभाव देख्न सकिन्छ।
प्रकाशित: १८ असार २०७९ ०३:३५ शनिबार