२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ताङतिङका समाजसेवी हर्कजङ गुरुङको जीवनी प्रकाशित

कास्की जिल्लाको ताङतिङ क्षेत्रका समाजसेवी हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ प्रकाशित भएको छ।

शिक्षासेवी प्रकाश गुरुङले लेखेको पुस्तक सोमबार पोखरामा लोकापर्ण गरिएको छ। २०५२ सालमा ७० वर्षको उमेरमा बितेका समाजसेवी हर्कजङको सत्ताइसौं स्मृति दिवसमा ताङतिङ दुधपोखरी समाजले आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

समाजसेवी गुरुङले ताङतिङमा हिमालय मिलन मावि स्थापना गर्न, गाउँमा चिठीपत्र पढेर गाउँलेलाई सघाउन, पोखरामा ताङतिङ दूधपोखरी समाज स्थापना गर्न, गाउँमा खानेपानीको व्यवस्थापन, पुलपुलेसा निर्माण र बाटो निर्माणमा खेलेको भूमिकाको चर्चा गरिएको छ।

जनबोलीमा ‘बहीदार बा’ र ‘प्रधान बा’ का रूपमा सम्मानित थिए हर्कजङ। उनी दुई दशक जति तत्कालीन नामार्जुङ देउराली गाउँ पञ्चायत (हालको मादी गाउँपालिका वडा नं २)को प्रधानपञ्च बनेका थिए। यसरी नेतृत्वमा पुगेका बेला उनले जनमुखी काम गरेर स्याबासी पाएका थिए।

समग्रमा यो पुस्तक प्रेरणादायी दस्तावेज बनेको विमोचन कार्यक्रममा टिप्पणी गरिएको छ। ‘गाउँको विकासमा योगदान पुर्‍याउने यस्ता असल मान्छेको विषयमा पुस्तक लेख्नु राम्रो काम हो’, कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले भने, ‘हर्कजङको जीवनकथा पढ्दा समाजका लागि सत्कर्म गर्न प्रेरणा मिल्छ।’

पुस्तकको प्रकाशन स्व. हर्कजङ गुरुङका सुपुत्रा क्याप्टेन गौबहादुर गुरुङ (एमविई) हुन्। कार्यक्रममा उनले बेलायतबाट पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो। ‘समाजका लागि बाँच्नेहरू अमर हुन्छन्’, पुस्तकको टिप्पणी गर्दै पत्रकार अमृत भादगाउँलेले भने, ‘बितिसकेका मान्छेको योगदान खोजविन गरी पुस्तक लेख्नु चानचुने काम होइन। त्यसैले लेखकलाई धन्यवाद छ!’

समाजका अध्यक्ष वीरध्वज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्ण केसी, समाजसेवी क्याप्टेन पूर्णबहादुर लामा, बहीदार बाकी छोरी खासामाया गुरुङ, छोरा हिराजङ गुरुङ र शिक्षिका कुमारी गुरुङले स्व. हर्कजङको योगदानको चर्चा गरेका थिए।

बहीदार बाका सन्तानले बाबाको नाउँमा समाजसेवीलाई बर्सेनि सम्मान गर्न अक्षयकोष राखेका छन्। हिमालय मिलन माविमा उत्कृष्ट शिक्षक, मादी गाउँपालिका वडा नं २ कार्यालयमा आदर्श नागरिक पुरस्कार र ताङतिङ दुधपोखरी समाजमा समाजसेवी पुरस्कार स्थापना गरेका छन्।

यसपालि ताङतिङ दुधपोखरी समाजका तीन जना समाजसेवी स्व. श्रवण सिंह गुरुङ, श्रीप्रसाद गुरुङ र विरमाया गुरुङलाई सम्मान गरियो। यसअघि ‘ताङतिङ मेरो गाउँ’ पुस्तकबाट चर्चित बनेका शिक्षासेवी प्रकाशले ‘बहीदार बा’ पुस्तकपछि लाहुरे संस्कृतिमा आधारित अर्को पुस्तक लेख्ने योजना रहेको बताए।  

प्रकाशित: ८ असार २०७९ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App