पुष्पा खनाल
पुस्तकहरू मेरा लागि कहिले साथी बन्छन्, कहिले जीवनमा जाँगर दिने स्रोत। सबै पुस्तकको शक्ति रहरलाग्दो हुँदैन। त्यसैले पनि म पुस्तक सकेसम्म छानेर अध्ययन गर्छु। पुस्तक प्रकाशन भएपछि त्यसको बारेमा लेखिएका समीक्षा र समालोचना पढेपछि त्यो पुस्तकको बारेमा थाहा पाउन धेरै मद्दत मिल्छ। त्यसबाहेक लेखन शक्ति थाहा पाइसकेको कारणले पनि पुस्तक छनौट गर्न सजिलो पर्दछ।
गएको २०७८ सालको कार्तिक महिनादेखि नै एउटा पुस्तकबारे निकै सुन्दर चर्चा भएको पाएँ मैले-त्यो हो डाक्टर दामोदर पुडासैनीको नियात्रासंग्रह ‘ग्रीष्मको नीलो बतास’। त्यसो त डा. पुडासैनीका कविता र दर्शनकृतिहरू मैले धेरै अध्ययन गरेको हुँ। नेपाली नियात्रा साहित्यका स्पष्ट सिमाना बनाइसकेका र फरक धारका नियात्रा लेखकका कारण डा. पुडासैनीका नियात्राहरूले त मन नजित्ने कुरै भएन। उनै प्रिय लेखकको ग्रीष्मको नीलो बतासको चर्चा थाहा पाएपछि अमेरिकामै मैले त्यो कृति मगाएँ। कृति हात परेपछि पहिलोपटक हतारहतार पढें। दोस्रो पटक फुर्सद लिएर पढें, हरेक शब्दशब्दको स्वाद लिएर, हरेक दृश्य र घटनाहरू अघिल्तिर आफू सहभागी भएर। साँच्चै डा. पुडासैनीको ग्रीष्मको नीलो बतासले मलाई एक किसिमको सम्मोहनमा पार्यो, एक किसिमको ऊर्जा र तरङ्ग पनि दिइरह्यो। मलाई यो कृति असाध्य मनपर्नुको अर्को कारण पनि छ, त्यो हो मैले पनि खप्तड भ्रमणको आनन्द लिइसकेकी छु। अझ त्योभन्दा पनि उल्लेखीय कुरा त संयोगवश डाक्टर पुडासैनीको त्यो खप्तड यात्राको क्रममा झिंग्रानादेखि बीचपानीसम्म हामी दाज्यूबहिनीले सँगै यात्रा तय गर्ने अवसर पायौं र सँगै एकछाक खाना खाने अवसरपनि जुर्यो बीचपानीमा।
आदरणीय लेखक डा. दामोदर पुडासैनी ‘किशोर’ का हरेक नियात्राहरूले मान्छेको मन मष्तिष्कमा ठूलै उथलपुथल ल्याउँछन्। झन् यो ग्रीष्मको नीलो बतासले त पाठकलाई शब्द सौन्दर्यको सुवास मात्र दिंदैन मध्यपश्चिमी र सुदुरपश्चिमी नेपालको जीवन र भूगोलको शक्तिशाली लय पनि प्रस्तुत गर्दछ। मेरो विचारमा डा. पुडासैनीको ग्रीष्मको नीलो बतासको अध्ययनले हरेक पाठकले नेपालको हिमाली र लेकाली जीवन र जगतको स्वाद यति मीठो ढंगले आश्वादन गर्न पाउँदछ कि, त्यो बयान गर्न गाह्रो छ। डा. पुडासैनीका नियात्रामा प्रकृति बोल्छ। भेटिएका जोसुकै मान्छेसँग बोलिहाल्ने, उनीहरूको जीवन खोतलिहाल्ने र पुगेको ठाउँ र भेटिएका घटनाहरूलाई उन्नतिशील दर्शनका माध्यमबाट मूल्यांकन गरिहाल्ने र त्यसलाई लालित्यपूर्ण ढंगले लेख्ने पुडासैनीको बानीले पनि उनका नियात्राहरू ओजनदार हुने गर्दछन्। ग्रीष्मको नीलो बतास यसको साक्ष्य बनेर उभिएको छ।
ग्रीष्मको नीलो बतास पढेपछि मेरो मनमा एक किसिमको सुमधुर बतास नै चल्यो। यात्रा गर्दा देखेका ठाउँहरू, भेटेका मान्छे, जीव र वनस्पतिहरू र घटेका घटनाहरूलाई चटक्क बिर्सने होइन पुडासैनीले झैं मानसपटलमा राख्ने र त्यसबाट जीवनमार्ग उज्यालोतिर मोड्न प्रयास गर्ने हो भने मात्र घुम्नुको सार्थकता हुने कुरा यही पुस्तकले सिकायो मलाई। संसार र जीवनका फरक मोडहरू चिनाउने यति सुन्दर ग्रीष्मको नीलो बतास मैले मात्र पढेर पुग्दैन, सबैले पढन पाउनुपर्छ भन्ने लाग्यो मलाई। त्यसो हो भने मैले मात्र किन संसारभरका पाठकलाई यो कृति पढने अवसर दिनुपर्छ भन्ने लाग्यो।
यसै अनुरूप ग्रीष्मको नीलो बतासका हरेक परिच्छेदलाई वाचन गर्दै युटुव ‘दि पुष्पा क्रिएसन’ मा अपलोड पनि गरें मैले। वाचनका यी श्रृङ्खलाहरूलाई शिखर एफएम १०२.७ ले समेत हरेक बिहीबार राति ९.१५ मा प्रसार गर्न थाल्यो। अहिले संसारका कुनाकुनाबाट ग्रीष्मको नीलो बतासको सुवास सुनेर धेरै पाठकले प्रतिक्रिया दिएको देख्दा खुशी लाग्छ। यति सुन्दर पुस्तकका हरेक शब्दशब्दलाई आफ्नो स्वर दिन पाएकामा आफैंलाई धन्य ठानिरहेछु। साँच्चै ग्रीष्मको नीलो बतास जस्तो शक्तिशाली पुस्तकले दिनहुँ असंख्य पाठकको मन जितेको प्रतिक्रिया पाउँदा बेग्लै आनन्द आउँदै छ। पुस्तक होस् त ग्रीष्मको नीलो बतास जस्तो पनि लाग्छ मलाई।
ग्रीष्मको नीलो बतास पढदा कयौं कुराले मन ताने, तानिरहे मेरा।
मुग्लिङ कृष्णभिर, नेपाली जनतालाई सँधै दुःख पीर भनेझै २०५२ सालमा पहिलो पटक त्यो बाटोमा तीन दिन थुनिएको याद आयो। तीन रुपैयाँ घोगा पर्ने मकै, पाँच रुपैयाँ प्याकेट पर्ने चाउचाउ ५० रूपैयाँ तिरेर खान्छु भन्दा पनि नपाउनुको दुःख ताजा भयो मनभरि। लेखक पुडासैनी होइन, म आफैं छु त्यहाँ भन्ने लाग्यो। यतिसम्म त ठीकै हो–बाटामा कहिलेकाहीं पर्ने कुरा तर भालुवाङ पुगेपछि त्यहाँको भातले भने मनै ओडालिदियो। फेरि बाटाका कुनै होटलमा भात खान छिर्न नपरोस् भन्ने बनाइदियो। हुन त स्वास्थ्य सचेतना र जिम्मेवारीबोध दुवैको अभाव छ हाम्रामा। त्यो होटलको भातले हाम्रो व्यवस्थाको पनि त चित्रण गर्दछ कतै न कतै। शीर नै स्वच्छ नभएपछि शरीर, पाउ कहाँ स्वच्छ हुन्छ र? भालुभाङको भात शीर्षकमा उनिएका बाटामा दुःखहरूले मनलाई अमिलो बनाइदिन्छ।
मलाई अँध्यारोदेखि पटक्कै डर लाग्दैन। तर, अँध्यारोको फाइदा उठाउनेदेखि धेरै डर लाग्छ। अँध्यारो र उज्यालोका धेरै पन्ना च्यातिइसके, च्यातिन्छन्। तर, त्यही अँध्यारोभित्र थुनेर मान्छेले गर्ने व्यवहारले भने मान्छेलाई धेरै सताएको हुन्छ। कर्णाली पुगेर चिसो पानीको माछा भनेर खानेहरू पनि धेरै ठगिएको हुनुपर्छ। लेखकले यो कुरा माझी र वादीका कुरामार्फत् छर्लङ्ग पारेका छन्। किनकि कर्णालीमा चिसोपानीका माछा खाएँ भनेर वादी वस्तीमा पस्नेहरू भ्रममा हुनुहुन्छ। अरूको फाइदा उठाउनुअघि नै ठगिइरहनुभएको छ पत्तै नपाई।
कैलालीको अत्तरिया चोकबाट धेरै पटक उकालीओराली गरेको मान्छे। यो ग्रीष्मको नीलो बताससँगै फेरि स्मृति यात्रामा छु आज लेखकको सहयात्री बनेर। आफूले टेकेको जमिनमा अरूको स्मृतिसँगै उडान भर्नु निकै मजाको अनुभूति हुँदोरहेछ। त्यही भइरहेको छ मलाई। पाताल देशको एउटा शहरको, एउटा गाउँको एउटा कोठामा बसेर थपक्क त्यही माटो, त्यही पानी, त्यही बनजंगल र हावा सँगसँगै यात्रा गर्नुको मजा म लिइरहेकी छु ग्रीष्मको नीलो बताससँगै। किनकि यो मौसम र त्यो मौसम उस्तैउस्तै हो। अहिले वसन्त भए पनि शिशिर र ग्रीष्मको बीचबाट म नीलो आकाश चिहाइरहेकी छु।
‘पच्चीस/छब्बीस दिनमा बल्ल काठमाडौं डडेल्धुराको पालो आउँछ...’ बस चालक मार्फत लेखकले हाम्रो एकोहोरापन र लहडलाई देखाएका छन्। हाम्रो चलन के छ भने एउटाले विद्यालय खोले सबै त्यतैतिर लाग्ने, एउटाले मम पसल खोेले अरू पनि त्यतैतिर लाग्ने, एउटाले बस सञ्चालन गरे सबै त्यसै गर्ने अनि यात्रु पाए नि नपाए नि एउटै रुटमा भएभरका गाडी हाल्ने। कुनै काम गर्नुअघि अध्ययन अनुसन्धान नगरी अरूले गर्यो, म पनि यही गर्छु भन्ने खोटो र छोटो सोचले यस्तो बनाउँछ। जुन कुराको उदाहरण हो एउटै चालकले लामो रुटमा एक्लै गाडी चलाउनु, महिनामा एकपटक पनि पालो नपाउनु।
स्याउलीको चुरीफुरीमार्फत लेखक पुडासैनी मानिसलाई मेहनत गर्न अर्हाउँछन्। अन्न फल्ने खेतहरू मासेर घर उमार्ने र वनजंगल मासेर मूर्ति उमार्नेदेखि निकै रिसाउँछन् उनी। डाँडामा मन्दिर बनाउन र मन्दिर जाने बहानामा हिंडेपछि स्वस्थ बनिने कुरा सिकाउँछन्। स्याउला काट्ने, दूध दुहुने, चिया खाने र कुरा काट्ने लगभग मेचीकालीकै दिनचर्या हो। त्यही दिनचर्याभित्र अटेसमटेस एउटा अन्धविश्वास–बलि। मेरो गर्धनबाट कसरी बग्यो रगतको धारा? लेखकको यो प्रश्नले दैनिक देवदेवालयमा बलिको नाममा काटिने जनावरको जिउँदो प्रश्न हो भन्ने लाग्छ। किनकि मानिस आफ्ना स्वार्थका लागि कतिसम्म गिर्छ भन्ने प्रष्ट उदाहरण हो बलिप्रथा। गर्धनमा रगतभित्रको मर्म शरीरमा त्यही रगत सञ्चार भएसरह स्मृतिपटलमा फैलिन्छ र पुर्याउँछ बाराको गडिमाई। जन्मिन्छ एउटा किशोर प्रश्न–बलिको बलि दिने दिन कहिले आउला?
बारा स्मृतिको पानाबाट फर्कन नपाउँदै भासुको भिर आइपुगेछ। छाँगाबाट होइन भासुको भिरबाटै खसेजस्तो लाग्यो त्यो पढिरहँदा। त्यही बाटो धेरै पटक ओहोरदोहोर गरें तर त्यो बाटाबाट गुड्दै गर्दाभन्दा त्यसको वर्णन पढ्दै गर्दा बढी डर लाग्यो त्यो बाटो सम्झेर।
केही निराशा र केही अनिश्चितता बीच पनि एउटा सुन्दर सपना देख्ने र हरेक कुरामा सौन्दर्य भर्ने लेखक डा. दामोदर पुडासैनीको विशेषता नै हो। पुस्तकका पानाहरू पल्टिएको थाहा हुँदैन। भनिन्छ, मानिस आफूभित्र जे छ, त्यही पोखिन्छ। यहाँ लेखक पनि त्यसरी नै पोखिएझैं लाग्छ नीलो बताससँगै ग्रीष्मको शीतल र मधुर छायाँ बनेर।
अनुभव र अनुभूतिको केन्द्रमा आफूलाई राखेर कलम चलाउँछ एउटा सर्जक। मैले पनि शुरूमै आफूलाई केन्द्रमा राखें र त्यहींबाट शुरू गरें आफूसँगै हुर्किएको नीलो बतासको फेर समात्न। यो पुस्तक पढिरहँदा लाग्छ म कम्प्यूटरको स्क्रिनमा लेखकबाट प्राप्त डिजिटल पुस्तकका पन्नाहरू पल्टाइरहेकी छैन बरू मेरा पैतालाहरू लेखकसँगै चलेका छन् खप्तडका पाटनहरूमा, भेडीखर्कहरूमा र विद्यालयमा पढेको तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्दा’ जस्तै झिंग्रानादेखि बिचपानीसम्मको उकालोमा।
आयोजनाहरूको निर्माण शुरू गर्ने र नसकिने, सरकारी योजना अलपत्र पर्ने, विकास कछुवा गतिमा हुने सबै कुरा प्रसंग मिलाएर घुसाइएको छ। लाग्दैन लेखकले आफ्ना कुराहरू राखिरहेका छन् भन्ने। यस्तो लाग्छ, कुनै घटनाको साक्षी बोलिरहेको छ। पाइलापाइलामा देखिएका, भोगिएका, सुनिएका र छेलिएका कुराहरू एकएक उधिनेर पस्किएको छ। विम्ब र प्रतीकको बेजोड संगमले शब्दलाई लयबद्ध बनाएको छ। पढ्दै जाँदा रोकिनुपर्ने र अलमलिनुपर्ने ठाउँ कहीं कतै भेटिंदैन।
गर्न सके देशभित्रै सुन फलाउन सकिने कुरा लेखक बताउँछन्-लासीमाई मार्फत् फूलबुट्टे बादल, फूलबुट्टे धरतीमा। शहर शहरजस्तो लाग्दैन लेखकलाई, पाठकलाई पनि त्यस्तै लाग्छ। गाउँगाउँजस्तो छैन। बिनायोजना कङ्क्रिटको जंगल थुपारेर शहर भन्ने भ्रममा बाँचेका छौं हामी। अब बन्ने शहर पनि त्यस्तै हुनेछन् कति शताब्दीसम्म। यो कुराले लेखकको मन पोलेको छ।
पहाडहरू आकाश छेक्न तम्तयार भएर बसेका छन्–मलाई पहिलोपटक २०६० सालमा कालिकोट जाँदा त्यस्तै भएको थियो। यी पहाडहरू कत्ति अग्ला र नजिक नजिक। म इलामेली छोरी। हाम्रो पहाड त्यसरी आकाशै छुम्लाजस्तो गरेर उठेको हुँदैन। केही भिरालोजस्तो परेर लमतन्न सुतेको हुन्छ। त्यस्तो चुचुरे पहाड पहिलोचोटि देख्दा लागेको थियो, एउटा पहाडको टुप्पाबाट कुदेर हामफाल्दा अर्को पहाडको टुप्पामा पुग्न सकिन्छ। तर, त्यो कल्पना र यथार्थबीच आकाश जमिनको फरक छ। त्यहाँको एउटा गाउँबाट अर्को गाउँ पुग्न लगभग पूरै एक दिन लाग्छ। रक्सीले परिवार सिध्याएको कुरा, बालबच्चाको हुर्काइका दर्दनाक चित्र–यी सबै हामीले देख्दैभोग्दै आएका कुरा हुन्। तर पनि पहिलोपटक चलचित्र हेरेझैं लाग्छ प्रत्येक शीर्षकहरू पढ्दै जाँदा।
बगलेखका झिंगाको प्रसंगले फेरि भालुवाङको भात सम्झाइदिन्छ। मध्य होस् या सुदूर मान्छेमाथि झिंगा भन्किन कहाँ छोडेको छ र कहिले किरा बनेर, कहिले पिराहा बनेर। म पनि सोही दिन सिलगढीबाट बगलेख हुँदै झिंग्रानासम्म पुगेकी हुँ खप्तड यात्राका लागि। बगलेखका झिंगा झिंग्रानासम्मै लर्को लागेका थिए। हामीले ठट्टा पनि गर्यों–यो ठाउँको नाम झिंग्राना नभएर झिंगा नाच्ने हुनुपर्ने भनेर। हाम्रो सहयात्री कर्णेल सापले थप्नुभयो–हो ठीक भन्यौ। पहिले यसको नाम झिंगा नाच्ने नै थियो। मानिसले छिटोछिटो झिंगा नाच्ने भन्दाभन्दै झिंग्राना भयो भनेर। हाँसोले थकाइ पनि मेटाउँछ भन्छन्। हामी सबै मजाले हाँस्यौ।
त्यस दिन हामी कर्णेल साबका पाहुना थियौं। त्यसैले लेखकले झैं झिंग्राना फाइव स्टारमा बास बस्ने र साउद दाजुले पकाएको खाना चाख्दै उनको सुन्दर जीवन दर्शन सुन्न भने छुटेछ। झिंग्राना फाइव स्टार एउटा व्यंग्य भरिएको नियात्रा हो। तर, यस नियात्रामा ग्रामीण जीवनको सरलता, नेपाली होटलको दूर्दशा र जीवन बँचाइको फरक प्रसंगलाई कति चाखलाग्दो ढंगले प्रस्तुत गर्नुभएको छ लेखकले। फाइव स्टार नाम दिएकै होटलमा पकाउँने भाँडा नै नमाझी चुल्हामाथि झुन्डयाउने, रगरगी कुखुरा र बाख्रा मझेरीभरि ओहोरदोहोर गर्ने र रातभर गन्हाउने सिरक, डसनामा उडुस–उपियाँसँगै पौठेजोरी खेलिरहनुपर्ने बाध्यता कति सुन्दर ढंगले चित्रण गरिएको छ।
पोखरी नै धमिलिएपछि जुन छेउको पानी झिके पनि उस्तै हो–गन्तव्य बीचपानीमा लेखकले प्रेम दाइको मुखबाट देशको राजनीतिक अवस्थालाई छर्लङ्ग पारेका छन्। जनताको निराशाको पराकाष्ठा हो प्रेम दाइको बोली। व्यवस्था बद्लियो तर अवस्था उस्तै छ आज पनि। बाटाका भेटिएका सिपाहीको मुखबाट निस्किएका शब्दशब्दले युद्ध र जीवनको सार, युद्ध र विजयको उमंग, देश प्रेम र मानवीय धर्म एकैपटक प्रस्फुटन भएको पाइन्छ।
प्रत्येक कुरा कसरी अभिलेख बन्छन् खोई? मैले आफैंले बोलेका कुराहरू बिर्सिसकेकी थिएँ। तर, लेखकले बीचपानी पुर्याएर फेरि ताजा बनाइदिएका छन् यहाँ। त्यो डर, त्यो चिन्ता, त्यो थकान र त्यो भेट एकै पटक महसुस गरें मैले फेरि। भालुको डरले फेरि ढुंगामा लौरो बजारें र सँगै लाएँ उत्तिसले लाएका झ्याउका लुगाहरू। ती लुगाहरू साँच्चै मूल्यवान् थिए र छन् आज पनि।
बीचपानीको खाना जीवनमा सँधै आइरहने एउटा याद हो। त्यहाँ हामीलाई खानाभन्दा मीठो भोक थियो सायद। उठीउठी जंगली सागको गुन्द्रुक र भातसँगै थाल सिनित्त पारेको बिर्सिन्छु भनेर पनि बिर्सिंदैन। पकाउँदापकाउँदै फेरि काँचो बन्ने चिसौ मौसममा तताउँदै खन्याउँदै गरेको गुन्द्रुक मीठो लागेको थियो मलाई निगालाका टुसाको तरकारीभन्दा।
बाटामा पाइलैपिच्छे भेटिने प्रत्येक वस्तुसँग लेखकले कुराकानी गरेको पाइन्छ। प्रकृति र प्रकृतिलाई पछ्याइरहेका पाइलाहरूको मीठो संगम लाग्छ, यो नीलो बतास। चराहरूको प्राकृतिक संगीतको माध्यमबाट निस्कने मिठासको तुलना सिर्जना गरिएका संगीतको भन्दा लाखौं गुणा राम्रो हुने लेखकको भनाइ छ। सिर्जना गर्नेहरूले प्रकृति बुझ्नुपर्ने तर्क छ।
प्रत्येक शीर्षकमा विहंगम दृष्टिकोण पस्कन सक्नु लेखकको खुबी हो। यात्रा एकै क्षेत्रको, गन्तव्य एकै भए पनि प्रत्येक शीर्षकले छुट्टै कथावस्तु बोकेका छन्। फूलको जुलुसमा राँगोको रन्कोमा हिरामती मार्फत पश्चिम नेपालको व्यवस्था र देशका महिलाको अवस्था खोतलिएको छ। हिरामतीलाई पढ्दै गर्दा त्यसबेला होइन, यसबेला पनि उस्तै छ अवस्था। हिरामतीलाई बुझ्न सके बुझिन्छ त्यहाँको यथार्थ।
खप्तड नदीभित्रको दर्शनले मानव सभ्यतामाथि कठिन प्रश्न फ्याँकेझैं लाग्छ। सुन्दर पाटनभरि छरिएर लुकेका जीवनका अनन्त दुःखलाई समेटेर पोखिएको छ जसमतीमा। शिक्षाको उज्यालो घामबाट वञ्चित चेलीहरूको कथा हो जसमती। ती फूल, ती जडीबुटी, ती कलकल बग्ने सङ्लो खोला। फूलझैं सुन्दर हाम्रा छोरीचेली, हाम्रो दुःखको साथी र दुःखमा पनि हाँसीहाँसी बाँच्न सक्ने नेपालीको सादापनलाई प्रतिनिधित्व गर्दै पोखिएका छन् कलमका नीवबाट मसीहरू।
यो भारी बोक्ने भन्ने जातै यस्तो धेरै बोक्यो थोरै बोक्न मन लाग्ने। भारी र जिम्मेवारी उस्तैउस्तै हुन्, होइन र? चुने दाइको मुखबाट लेखकले मानिसको जीवनको सार बोलेका छन्।
नेपाल सरसफाइमा कहिले आत्मनिर्भर हुने? जहाँ जाँदा पनि सरसफाइका कुराले मन अमिलो बनाउँछ। कम्तीमा विदेशी बस्ने, हिंड्ने ठाउँहरू त व्यवस्थित बनाउनू। यतातिर कसको ध्यान जाने? उपियाँ उडुस भन्नेबित्तिकै जिउ चिलाउने, यता उता टोकेजस्तो लाग्ने यो किताब पढ्दै गर्दा धेरै पटक जिउ कन्याएकी छु मैले। दिगमिंग लागेर झण्डै उल्टी भएको। प्रस्तुति यति सरस छ कि आफू त्यहीं भएको महसुस हुन्छ र त्यहाँको वातावरणले छुन्छ।
बीचपानीको बास पढ्दै गर्दा उपियाँ, उडुसको साम्राज्य आफ्नै जिउमा सरेजस्तो हुन्छ। झिँग्राना फाइभ स्टारका भाँडाकुँडाले वाकवाकी लगाउँछ। भासुको भीरले रिंगटा चलाउँछ। बीचपानी झरेपछि साथीले भेटेको भालुले झम्टन्छ। यस्तैयस्तै धेरै कुरा हुन्छन् नीलो बतासका लहरहरूमा।
म लेखकसँगै किन पनि यात्रा गरिरहेकी छु भने उनको यात्रा क्रममा भेटिएकी एक पात्र म पनि हुँ। यो पुस्तक पढ्दै गर्दा थाहा पाएँ बिचपानीमा खाएको गुन्द्रुकभात एउटै रहेछ। नीलो बताससँगै मङ्सीरमा झुल्ने धानका बालासँगै बयली खेल्ने रहर अझ बढेर जानुको पछि त्यो छोटो भेट, औपचारिक परिचय र लेखकको मीठो प्रस्तुति पनि हो।
एकएक पाइला तिहारमा फुल्ने सयपत्री जसरी उनिएको छ खप्तडको कथा, खप्तडको व्यथा।
प्रकृति मासेर शहरमा नाम मात्रको जंगल ठड्याउनेका विरुद्ध आगो ओकल्छ लेखकको कलम। अव्यवस्थित विकासका विरुद्ध हो उनको आवाज। शहर शहरजस्तो नबन्नु, गाउँ गाउँजस्तो नहुनुको विडम्बना ओकलेका छन् लेखकले।
खप्तड सम्भावनाको खानी हो। गर्न सके खप्तडले लाखौं विदेशी पर्यटक भित्र्याउन सहयोग गर्छ। विदेशतिर पानी जमाएर बनाइएको हिउँमा चिप्लेटी खेल्नेहरूको भीड देख्दा लाग्छ-खप्तडका पाटनहरूमा प्रकृतिले दिएको हिउँसँग खेल्न पाए पाइन्छ भन्ने कुरालाई यथार्थ बनाउन पाए कति विदेशीको लर्को लाग्ने थियो। खप्तडको यात्रामा रहँदा मैले पनि यस्तै कल्पना गरेकी थिएँ जुन लेखकले ग्रीष्मको नीलो बतासमा गरेका छन्।
किताबका पछिल्ला प्रसंगहरू लेखकले आफ्नो कार्यालयको काममा जाँदा त्यहाँ देखेका, भोगेका र व्यवहार परिवर्तन गराएका प्रसंगहरू जोडेका छन्। बसीबसी सरकारी पैसा खाएर काम रिठ्ठो नगर्नेहरूलाई उदाङ्गो बनाएका छन्। सामाजिक सेवाका नाममा खुलेका तस्करहरूको पर्दाफास गरेका छन्। त्यति मात्र नभएर तपाईंलाई सिमानापारि कटाएका छन् र पुर्याएका छन् नैनीताल।
नैनीताल साँच्चिकै नैनी छ। सुन्दर छ। त्योभन्दा सुन्दर लेखकको कलमले भरिदिएको छ नैनीतालको सुन्दरतामा। साँच्चै, भारतमा बृटिसले राज्य नगरेका भए नैनीतालको सुन्दरता कसले खोतल्थ्यो होला? नैनीताल जाँदा जावेदसँग डराउनु पर्दैन तर कर्णेल्नी सावको जस्तो जिद्धीपनदेखि भने सतर्क हुनैपर्छ। यात्रा गर्दा समय र बाटो दुवै हेरिएन भने यात्रा गराउने मान्छे सबै जावेदजस्तै पर्छन् भन्ने पनि त छैन।
किताब पढेपछि कतिपय नसुनेका शब्दहरू पनि सिक्ने मौका मिल्यो। यार्सागुम्वा भनेको सुन्दै आएको थियौं हामीले तर यारचागुन्भु पो भन्नुपर्ने रहेछ। त्यस्तै मताव, जर्केको, कौलासें, तरबर्र जस्ता अनेक शब्द मलाई नौला लागे। तर यस्ता शब्दको प्रयोगले कृतिमा मीठास थपेको अनुभव भयो। कति सुन्दर ढंगले कथा भन्छन् डा. पुडासैनीका शब्दहरूले।
पढ्दै जाँदा कहींकहीं प्रसंग फुत्त हामफाले जस्तो लाग्नसक्छ। तर समय र सन्तुलनलाई नटेरी अघि बढ्ने हो भने भालुभाङको भात बिर्साउँछ। झिंग्रानाको बास भुलाउँछ। भालुको डर भगाउँछ। बीचपानीका उपियाँ उडुस मारिदिन्छ र नैनीतालमा डुङ्गा सयर गराउँछ। पाटनका फूलहरूले महकता छेड्छन्, त्रिवेणीको पानीले शीतल बनाउँछ। खप्तडका जरीबुटीले बर्सौंदेखि दुखेको टाउको सञ्चो गराउँछ। कति मीठो ढंगले बताउन सक्छन् पुडासैनी। जीवन र संसारका रहस्यमय कथाहरू। ज्ञान र मनोरञ्जन दुवै पाउँछन् पाठकले पुडासैनीको कलमबाट।
त्यो बाटो हो ग्रीष्मको नीलो बतास जसले यात्रा गर्नै नमान्नेलाई गरूँगरूँ बनाउँछ। यात्रा गर्नै नजान्नेहरूलाई सिकाउँछ। यात्रा गरिरहनेहरूलाई अझ अहिले नै कुम्लोकुटुरो बाँधेर निस्किहालूँ खप्तडतिर बन्ने बनाउँछ।
अझ खप्तड गएकाहरूलाई पुनः त्यतै फर्काउँछ र बोलाउँछ पाटन र पाटनका फूलले, घोडामा चापले, वर्फिलो बतासले र चराहरूका संगीतले। ऋनि बाध्यतावश खप्तडको यात्रा गर्नै नसक्नेलाई पनि थपक्क टिपेर पुर्याउँछ खप्तडमा र त्यहाँका ढुंगा, माटो, हावा र पानी र प्रकृतिसँग साक्षात्कार। दिलाउँछ आफू पुगेसरहको स्वर्णिम अनुभूति।
खप्तड यात्राका लागि भरपर्दो गाइडबुक हो यो। नेपालका हिमाल, पहाड, लेक र खर्कको सुवास अर्गानिक ढंगले दिलाउने महत्त्वपूर्ण पुस्तक पनि हो ग्रीष्मको नीलो बतास। आँट गर्नेलाई एक्लै खप्तड पुर्याएर ल्याउँछ यसले।
जाने होइन त खप्तड? रत्न पुस्तक भण्डार र बजारमा पाइन्छ है यो पुस्तक मित्रहरू। मेरो निष्कर्ष छ जीवनको सही अर्थ र रंग बुझ्न अनि संसारका सिधा र बक्र रेखाका मर्म बुझ्न डा. दामोदर पुडासैनीका हरेक कृति त पढनुपर्छ नै अहिले भने यो ग्रीष्मको नीलो बतास नपढने हो भने घाटामा परिन्छ आफैं।
प्रकाशित: २७ जेष्ठ २०७९ ०६:१५ शुक्रबार