२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

तीन सर्जकलाई मधुपर्क सम्मान

यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना साहित्यकार छानिएका छन्। लेखक तथा साहित्यकारहरू पुरुषोत्तम बस्नेत, गणेश रसिक र मोमिला जोशी सम्मानित हुँदै छन्।

सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य) २०७९ प्रदान गरिने भएको छ। उनले मधुपर्क प्रकाशनको आरम्भदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशन मार्फत नेपाली साहित्यमा योगदान पुर्‍याएका छन्। कथा, कविता, निबन्ध, संस्मरण, राजनीतिक लेखनमा कलम चलाएका बस्नेतले सिउँडी, मुकुट, कल्पना, नेपाल पुकार जस्ता ऐतिहासिक प्रकाशनको सम्पादन गरेका छन्।

नेपाली कांँग्रेसको इतिहास (दुई भाग) प्रकाशित गरेका उनले नेपाली राजनीतिक इतिहासका विभिन्न विषयमा फुटकर तथा अनुसन्धानात्मक लेख लेख्दै आएका छन्।

त्यस्तैगरी अर्का सर्जक गणेश रसिकलाई मधुपर्क सम्मान (पद्य), २०७९ प्रदान गरिने भएको छ। उनले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशन मार्फत नेपाली साहित्यमा विशिष्ट योगदान गरेका छन्। उनी कविता, गीत, संस्मरण, उपन्यास र गायनमा लोकप्रिय छन्।

युवा पुस्तामा लोकप्रिय साहित्यकार मोमिला जोशीलाई मधुपर्क प्रतिभा सम्मान–२०७९ प्रदान गरिने भएको छ। उनका रचना मधुपर्क मासिक लगायत विभिन्न पत्रिकामा छापिएका छन्। उनको कलम कविता, निबन्ध र सम्पादनमा उत्तिकै सशक्त छ। सर्जकहरूलाई सम्मानसहित जनही ३५ हजार रुपियाँ प्रदान गरिने भएको छ।

सम्मानका लागि गोरखापत्र संस्थानले वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। जसमा मधुपर्कका सम्पादक जयदेव भट्टराई सदस्य र नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले सदस्यसचिव रहेका छन्।

यही जेठ ३० गते काठमाडौंमा मधुपर्कको पचपन्नौं वार्षिक उत्सवका अवसरमा सर्जकहरूलाई  सम्मान प्रदान गरिने जनाइएको छ। ०५९ सालदेखि प्रदान गर्न थालिएको उक्त सम्मानका लागि मधुपर्क मासिक मार्फत साहित्यिक योगदान पुर्‍याएको व्यक्ति हुनुपर्ने मापदण्ड छ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App