१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

फूलको जीवन

लघुकथा

अम्बिका धिताल

कुसुम विद्यालयबाट घरमा आइपुग्दा उनकी आमा औंसीको रातझैं चेहरा बनाएर बस्नुभएको थियो। अरू दिन छोरी घर आइपुग्नेबित्तिकै उज्यालो मोहोडामा बस्नुभएको आमाको पहिलो काम कुसुमको पोसाक परिवर्तन गरिदिने,हातगोडा धोइदिने र खाजा खान दिने हुन्थ्यो। आज आमाले कुसुमलाई ‘लुगा फेरेर  टेबुलको खाजा खाऊ’ मात्र भन्नुभयो। न आमा हँसिलो हुनुहुन्थ्यो न बोलीमा मिठास नै।

आमा यस्तो परिवर्तन हुनुभएको देखेर कुसुमलाई कौतुहल जाग्यो। उनले निकै मिठास बोलीमा भनिन्,‘आमा, हजुरलाई के भयो आज? मलाई त हजुरको हातले हाँस्दै दिएको खाजा मात्र मिठो लाग्छ। भन्नुस् न, हजुर आज किन रिसाउनुभएको?’

आमा कड्किनुभयो, ‘अब तिमी ठुली भइसक्यौ। आफैं झिकेर खाऊ। म सक्दिनँ तिमीहरू बाउछोरीको नोकर हुन्। जति गरे पनि यसो कतै तिम्रो बाबाले कहिल्यै घुमाउन लैजाने होइन। कति बस्नु यो जेलमा काम गरेर मात्र।’

कुसुमले आमा रिसाउनुभएको कारण थोरै बुझिहालिन् र हत्त न पत्त बोलिन्,‘लल आमा, आज म नै हजुरलाई घुमाउन लान्छु। म ठुली पनि भइसकें। बाबाले नलगेर के भयो त। बाबाको अफिस छुट्टी भएपछि फेरि जाऔंला बरु।’

तत्कालै आमाको हात तान्दै कुसुम घर नजिकैको बगैंचामा पुगिन्। आमाको मुखमा अझै घाम लागेको थिएन। उनले हाँस्दै बगैंचामा फुलिरहेको रंगीचंगी फूल देखाउँदै भनिन्, ‘आमा, यी फूलहरू कति राम्रा है!’

आमा मलिन स्वरमा बोल्नुभयो,‘हो नि कति सुन्दर छन्!’

कुसुमले पुनः थपिन्, ‘यी फूल पनि सधैं आफ्नै ठाउँमा बस्छन्,फूलेर छिट्टै झर्छन्। फेरि यिनीहरूले घामपानी, हावाहुरी र असिना सबै सहन्छन् तर पनि कत्ति राम्रा है यी फूलहरू! भन्नुस् न आमा, किन कहिल्यै नरिसाएका! बरु अबदेखि हामी पनि फूलजस्तै भएर बाँचौं न, हुन्न!’

प्रकाशित: २५ जेष्ठ २०७९ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App