देवकी केसी
कमरेड बले र कमरेड खेम कुनै बेला गाउँका महान् कम्युनिष्ट नेतामा गनिन्थे। कमरेड खेम जाँड भनेपछि प्राण हाल्न पनि पछि पर्दैनथे। बिहान उठ्नेबिक्तिकै जाँड शरीरमा नहाले त बोली नै हराउँथ्यो उसको। त्यही जाँडको आदतले कमरेड खेमलाई अकालमा नै परमधाम पुर्यायो।
कमरेड बले द्वन्द्वरत विद्रोही समूहको निशाना बन्यो। विद्रोही समूहले चरम यातना दिएर जिउँदै खबै शहीदको सूचीमा परे। धेरैपछि एक दिन गाउँमा ती दुवैको शालिक निर्माण गर्ने निर्णय भयो। सोही अनुडलमा गाडेर कमरेड बलेलाई पनि परमधाम पुर्याइदिए।
कालान्तरमा ती गाउँमा दुवैको शालिक निर्माण पनि भयो र शालिक अनावरण गर्ने दिन आयो। विभिन्न पार्टीका नेताहरू आएर आआफ्नो पार्टीको नेताले शालिक अनावरण गर्ने भन्दै हानथाप गर्न थाले। हेर्दाहेर्दै शालिकमाथिको राजनीतिक खिचातानीले त्यहाँ रक्तपात हुने अवस्था आयो।
त्यहीबेला बलेको धर्मपत्नी चिच्याउँदै भन्न थाले,‘शहीदको नाउँमा राजनीति गर्ने काम बन्द गर।’
एक वयोवृद्ध कमरेड खेमका पिता भन्न थाले, ‘म गर्छु, मेरो छोराको शालिक अनावरण।’
कमरेड बलेको धर्मपत्नीले भन्नुभयो, ‘म गर्छु मेरो लोग्नेको शालिक अनावरण।’
शालिक अनावरणको नाउँमा रक्तपात मच्चाउने भिड एकाएक शान्त बने।
प्रकाशित: २५ जेष्ठ २०७९ ०५:१४ बुधबार