हरेक मौसममा उदाङ्गै रहन्छ मेरो ढोका
खुल्लै रहन्छ मेरो झ्याल
हरेक प्रहर
साना–साना प्वालहरू पनि खुला नै रहन्छन्
यसरी,
खुलापनको अनगिन्ती फाइदा उठाउँदै
चुपचाप/अनियन्त्रित/विनाखबर
घुस्छ मेरो कोठामा एकाएक हावा।
जुन समय, कोमल पुस्तकका उदास पानाहरू सुम्सुम्याउँदै
अध्ययनमा हुन्छु निमग्न
डुब्छु हरेक वाक्यहरूमा
घनिष्ठ प्रेमिकालाई झैँ माया गर्छु–हरेक शब्दलाई
त्यही समय, हल्लाउँछ हावाले गम्भीर पानाहरूलाई
पु¥याउँछ अथाह व्यवधान
मेरो अध्ययनको धरालतमा।
कुनै दिन अध्ययन गर्ने योजना बुनेर
चाङ मिलाएर राखेको हुन्छु–
ताजा र बासी, दुवै स्वादका अखबारहरू
त्यसमा पनि आक्रमण गर्छ हावाले निःसङ्कोच
उडाउँछ यताउता
र छरपस्ट हुन्छन् कोठाभरि
फेरिन्छ तत्क्षण कोठाको रूपरेखा
हिउँदका दिनमा पत्करले ढाकेका सघन उपवनजस्तै।
धेरैभन्दा धेरै सताउँछ हावाले
अभिजातीय शैलीमा भित्तामा टाँगिएको निःशब्द क्यालेन्डरलाई
र, हावाको लयसँगै
नाच्न थाल्छन्–
अस्थिर गतेहरू
उदास महिना
र, उद्दिग्न वर्ष।
झ्यालको निरीह पर्दा
टेबुलमाथि एकतमासले टोलाइरहेको चस्मा
प्लास्टिकका सौन्दर्य–विमुख कुर्सीहरू
दिवङ्गत बुबाको तस्बिरमाथि झुन्डिएको ओइलाइसकेको माला
हारमोनियम ढाक्न तम्तयार कपडा...
सबैलाई हावाले दिन्छ
गहिरो झट्का।
प्रत्येक क्षण झेलिरहेछु म केवल/अचाक्ली रूपमा
हावाको घुसपैठ।
प्रकाशित: २१ जेष्ठ २०७९ ०७:३२ शनिबार