२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

क्वारेन्टाइनः ऐतिहासिक औपन्यासिक दस्तावेज

पुस्तक

अमेरिकाको कोलोराडो शहरमा बसोबास गर्दै आउनुभएका नेपालीमूलका लेखक पदम विश्वकर्मा नेपाली साहित्यिक फाँटमा धेरै योगदान पुर्‍याउँदै आएका साहित्यकार हुनुहुन्छ।

उहाँद्वारा लिखित ‘शब्दसुमन’ कवितासङ्ग्रह र उक्त सङ्ग्रहको अङ्ग्रेजी भाषामा अनुदित कृति प्रकाशन भइसकेका छन्। त्यसैगरी ‘तमसुक’ कथासङ्ग्रह शिखा बुक्सबाट प्रकाशन भइसकेको छ। यस समीक्षात्मक आलेखमा प्रस्तुत गरिएको साङ्ग्रिला बुक्सले प्रकाशन गरेको औपन्यासिक कृति ‘क्वारेन्टाइन’ ले नेपाली वाङ्मय जगत्मा एउटा दरिलो इँटा थपेको अनुभूत आम नेपाली साहित्यिक पाठकले गर्ने छन् भन्ने लागेको छ।

कृतिका सर्जक विश्वकर्माले करिब १०० भन्दा बढी च्याप्टरहरू रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को दुई कार्यकालको सफल नेतृत्व गरिसक्नुभएको छ भने हालः अनेसास बोर्ड अफ ट्रस्टिजको उपसभापति पदमा कार्यरत हुनुहुन्छ। त्यतिमात्र होइन, उहाँ आफू संरक्षक रहेको आफ्नै नामबाट स्थापित ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’ बाट पनि नेपाली भाषा, साहित्यसम्बन्धी विविध कार्यहरू— कविता प्रतियोगितादेखि प्रतिष्ठानबाटै ‘‘ज्योतिस्पर्श’ नामक सङ्कलित कवितासङ्ग्रह प्रकाशन भइसकेको छ।

कोरोनाले विश्वलाई त्राहीमाम बनाइरहेको यस विषम् परिस्थितिमा मान्छेले उक्त चुनौतीलाई स्वीकार गरेर अगाडि बढेको परिवेशलाई अगाडि सारेको छ— उपन्यासकार पदम विश्वकर्माको उपन्यास ‘क्वारेनटाइन’ले। संयोग नै भन्नुपर्छ यो कृतिको लोकार्पण कार्यक्रम सञ्चालककोे भूमिका मैले निभाउने अवसर पाएको थिएँ। उक्त कार्यक्रमका वक्ताहरूबाट यस कृतिका विषयमा धेरै कुरा सुन्ने र बुझ्ने मौका जु¥यो। कतिबेला कार्यक्रम सकिन्छ र किताब हातमा लिएर पढ्ने भन्ने हुटहुटीले सताइरह्यो। किताब हात परेपछि एक बसाइमै पढी पनि सकेँ।

कोरोना कहरले पारेको अल्पकालीन र दीर्घकालीन असरहरू, मानवीय क्षति तथा तत्समयमा मानवजीवनको भयावहलाई आफैँले नजिकैबाट भोगेको चित्रण यस कृतिमा कारुणिक रूपमा प्रस्तुत गरिएको छ। यो पुस्तक कोरोना महामारीको कारण ज्यान गुमाएकाहरू र ती ज्यान गुमाउनेहरूका आफन्त र प्रियजनहरूको नाममा समर्पित गरिएको छ।

कोरोना महामारीले समाजलाई कसरी प्रभावित बनायो? यसबाट परेको सामाजिक असर र यसले पु¥याएको मानवीय क्षति अनि दर्दनाक पीडालाई सरल, सुललित भाषामा विश्वकर्माले व्यक्त गर्नुभएको छ उपन्यासमा। यस महामारीबाट नेपाल, अमेरिका, युरोपलगायत सबै देशहरू पीडा र छटपटीका बीच गुज्रनुपर्यो। अर्थात् एकप्रकारले कोरोनानामक महामारीको सुनामी आयो। प्रायः कसैलाई छोडेन यसले।

कृतिमा लेखक स्वयम् स्वीकार गर्छन्– अमेरिकामा भयावहको अवस्था आयो। दैनिक दुई हजारदेखि पच्चीस सयले यसका कारण मृत्युवरण गरिरहेको र लासलाई ठेगान लगाउने ठाउँको समेत अभावको अवस्थामा पुर्‍याएको थियो। कोलाहल र भयावहको अवस्था सिर्जना भई एकापसमा छुन, भेट्न डराउनुपर्ने, आफ्नै सन्तानसँग एक्लिनुपर्ने, पीडाले छटपटाइरहेका हृदयका टुक्राहरूलाई सुमसुम्याउन—समेत नपाउनेजस्ता क्रूर अवस्थाको सिर्जना हुन पुग्यो।

सडकमा एम्बुलेन्सका आवाजहरूले मानिसका मनमस्तिष्क बिथोलिरहेको थियो। कोरोनाका कारण मानव जनजीवनमा यति धेरै नराम्रो असर पर्यो कि सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमासमेत मनोवैज्ञानिक प्रभाव परेकोले लेखक अत्यन्त भावुक बनेपछि यस समयको क्षतिपूर्तिस्वरूप यस कृतिको जन्म हुन पुग्यो।

अस्पतालका बेडमा कोरोनासँग लडिरहेका बिरामीहरूका लागि पर्याप्त अक्सिजन अनि औषधिको अभाव, बिरामीहरूको रोदन, आफन्तहरूको चित्कार अर्थात् मानवजीवनमा आइपरेको त्रासदित पललाई जस्ताको तस्तै समेटिएको उपन्यासको कथावस्तु रहेको छ। कृति पढ्दै जाँदा लेखक पनि धेरै पटक रोएको अनुभूत गर्न सकिन्छ र पाठकका आँखाका डिलहरू पनि टिलपिल हुने यसको कथावस्तु र लेखनशैली रहेको छ।

यहाँ प्रस्तुत घटनाहरू सबै पारिवारिक कुराहरूकै सँगालो हुन्। दिन्दैनिक बोलिने सरल भाषाहरूमा बडो सरस तरिकाले बगेको कथा पाठकलाई आफ्नै कथाजस्तो लाग्छ। आफ्नै छिमेकीले भोगेको, आफन्तहरूले भोगेको परिवेश हो जस्तो लाग्छ। कोरोनाका कारण वियोगका कारुणिक शब्दहारले भरिएको उपन्यासको समाप्तिलाई भने संयोगान्तमा ढालेर आफ्नो लेखकीय खुबी दर्साएका छन् र कृतिका माध्यमबाट मानव जीवनलाई बलियो सन्देश दिएका छन्।

आधुनिकतातर्फ उन्मुख विश्वलाई कोरोनाले पाठ सिकायो। आखिर प्रकृतिभन्दा अनुपम अरू केही रहेनछ भन्ने लागेर नै उपन्यासकारले यस उपन्यासमा प्रकृतिको बडो सुन्दर चित्रण गरेका छन्। जसले अन्ततः प्रकृति नै मानव जीवनको एक मात्र आधार हो भनेर पुष्टि गरेको छ। खोलानाला, आकाश, वरिपरिको रमणीय वातावरणको सुन्दर वर्णनले उपन्यासलाई रोचक बनाएको छ र पाठकको मनलाई पुलकित बनाउँदछ।

यो उपन्यासले कोरोनाको कारण आक्रान्त मानिसको उथलपुथल मानसिकता र भताभुङ्ग भएको जीवनलाई उजागर गरेको छ। अमेरिकाको कोलोराडोबाट लसएन्जलसमा गएर बुबाआमालाई छोरीको छोरा अर्थात् नातिको जन्मदिन मान्न पठाएको दृश्यबाट कथालाई सुरु गरिएको छ। फर्केर आएपछि आमाबाबु दुवैलाई कोरोनाले सङ्क्रमण गर्छ र अन्त्यमा बाबुआमा दुवैलाई विनय तथा जमुनाले गुमाउँछन्। यो हृदयविदारक घटनाको उनीहरू साक्षी मात्र हुन सक्छन् तर कसै गरे पनि बचाउन नसकेको खिन्नतामा बारबार आफ्नो मातृभूमिलाई सम्झिने गर्छन्।

त्यसैले यो उपन्यासमा जताततै डायस्पोरिक पीडा पोखिएको छ भन्न सकिन्छ। पैसा भएर पनि सामान नपाएपछिको अवस्था र पछि पैसा पनि सकिएको अनि खानेकुरा पनि सकिएका कारण उत्पन्न परिस्थितिको वर्णन बडो मार्मिक तवरले गरिएको छ। वास्तवमै कोरोनाले ‘पैसा केही हैन मान्छेको जीवनका अगाडि’ भनेर मिठो झापड हानेको छ। हरेक कुरामा व्यावसायीकरणतर्फ उन्मुख आजकलका मानिस पैसाका खातिर आफ्नो परिवार, स्वाभिमान सबै बिर्सिन्छन्।

जति धनसम्पत्ति भए पनि मृत्युपश्चात् प्लास्टिकको थैलोमा बाँधिएर भौतिक शरीरलाई माटो वा आगोमा विलय गर्नुपर्ने अवस्थामा यस महामारीले पुर्‍याएको छ। अतः हाम्रोजस्तो भ्रष्टाचारले गाँजेको मुलुकको मानिसले त पढ्नै पर्ने किताब हो जस्तो लाग्छ। पढ्दै जाँदा रोकिन मन नलाग्ने र अब यसपछि के घटना आउँछ? र, कसरी घटनाले मोड लिन्छ? भन्ने कुतूहलताले पाठकलाई बाँधेर राख्न सफल रहेको छ यस उपन्यास ।

‘क्वारेन्टाइन’ शब्दसँग परिचय गराइदिएको यस महामारीले धेरै नयाँ शब्दहरूलाई मुखमा झुन्डिरहने अवस्था बनाइदिएको छ। जागिरबाट हात धुन परेको विनय तथा उनकी श्रीमती जमुनाको खर्चको अनिकाल परेको बेला कोलोराडोमै बस्ने छिमेकी राजीव र उनकी श्रीमती पार्वती अनि उनका छोराछोरीसहित सबैलाई कोरोना सङ्क्रमण अवस्थामा आर्थिक सहयोग गर्न असमर्थ भए पनि सशरीर उपस्थित भएर अस्पतालमा सहयोग गर्छन्। तर अफ्सोच! पार्वतीबाहेक अरू सबै परिवार कोरोनाको चपेटामा परेर मृत्युवरण गरेको हृदयविदारक घटनाले मानवहृदय र मनमस्तिष्क हल्लाउने गर्दछ। ससाना नानीहरूदेखि वृद्धवृद्धा वा नौजवान कसैलाई पनि छोडेको छैन कोरोनाले।

मान्छेले मृत्युवरण गर्नु सामान्य कुराजस्तै गरी एकपछि अर्को पात्रको मृत्युका घटनाहरू उपन्यासमा आएका छन्। हुन पनि समय नै त्यस्तै थियो। डर र त्रासका बीच पनि मानवता अझै मरेको छैन है ! भन्ने कुरा विनय र जमुनाको सहयोगी भावनाले देखाएको छ तर रोगको प्रकृति नै यस्तो छ कि, यसो छोयो कि सर्ने ! अन्ततः जमुना आफैँलाई कोरोना लागेर अस्पताल भर्ना हुनुपर्छ। आखिर जे नहुनुपर्ने थियो तेही हुन्छ– जमुनाको मृत्यु। भावशून्य विनय विरहको अवस्थामा पुग्छ।

अस्पतालमा बिरामीका आफन्तसँग स्वयम् स्वास्थ्यकर्मीहरू पनि बोल्न नसकेको र उनीहरूको दारुण अवस्थामा आत्मीय संवादको दृश्य कति भयावह र हृदयस्पर्शी हुन्छ? जोखिमको त्यस घडीमा कसरी मान्छेले विकल्पहरूको निर्माण गर्छ भन्ने दृश्य कति भयङ्कर छ? समयअनुसार जमुनाको काजकिरिया क्वारेन्टाइनमै बसेर गरेको घटनाले मनको अन्तरकुन्तरमा रीतिरिवाज धर्मकर्म सबै मानवचोलाका अगाडि फिका लाग्छन्।

मरेका आफन्तलाई भेटेर एउटा फूलको थुँगा चढाउन नपाउनु अनि आफन्तलाई समवेदनाका दुई शब्द भेटेर व्यक्त गर्न नपाउनु ! कति दुःखदायी हुन्छ? भन्ने कुरालाई यस कृति क्वारेन्टाइनमा मनै चस्काउने शब्दहरूद्वारा खिपिएका छन्। कृति पढ्दै गर्दा कति ठाउँमा पाठक भावविह्वल हुन पुग्छन्। इतिहासदेखि नै हो हामीले दुःखसुखलाई सँगसँगै लिएर जाने। यो कोरोना पनि त्यही कालखण्डको एउटा हिस्सा हो र यसलाई स्वीकार्नुको विकल्प छैन। जीवको मृत्यु शाश्वत सत्य हो। बाँच्नेहरूले नै हो जीवन जिउने र जिउन प्रेरणा दिने भनेर बुझाउन खोजिएको छ उपन्यासमा।

नेपालीहरूको आर्थिक अवस्था कमजोर भएकोले एउटै कोठामा दुःख गरेर धेरैको सङ्ख्यामा बस्नुपरेको कुरालाई न्यूयोर्क शहरको एउटा त्यो खचाखच कोठाको वर्णनले दर्साउँछ। सोही कारण उक्त कोठा कोरोनको हट स्पट बनेको घटनाले यस महामारीको महाकालमा नेपालीहरूले विदेशी भूमिमा खानुपरेको गोता साँच्चिकै मार्मिकतवरले प्रस्तुत गरिएको छ। सञ्चारमाध्यमका साधनहरूसमेत कति आतङ्कित र भयपूर्ण थिए ! जहाँ गए पनि, जता हेरे पनि, जुनसुकै च्यानल फेरे पनि त्यो भयभीत प्रसारणले मनमुटुलाई छेडेको यथार्थ आफ्नै कथा, आफ्नै भोगाई हो जस्तै लागिरहन्छ।

मान्छे पीडामा बसेको क्षणमा समेत तमाम मर्महरूलाई हुबहु, समयसापेक्ष र बडो मार्मिक शैलीमा उतारेर कृतिका रूपमा ल्याउनुलाई नेपाली साहित्यिक क्षेत्रमा सर्जकले दिएको ठुलो योगदानका रूपमा लिनुपर्दछ।

उपन्यासका सम्पूर्ण पात्रहरू कोरोनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लडेका छन्। यसको मारमा सबै परेका छन्। यसबाट कोही पनि अछुतो रहन सकेको छैन। कलेज पढ्नका लागि घर छोडेर छोराछोरी हिँडेपछि विनय एक्लो हुन्छ। अनि कोरोनाकै कारण आफ्नो लोग्ने र छोराछोरी गुमाएकी पार्वती एक्लै सङ्घर्ष गरिरहेको विक्षिप्त अवस्थामा एक–अर्काको साथले राहत पाउँछन्। यो घटनाले जीवनप्रतिको सकारात्मक पक्षलाई झल्काएको छ कथावस्तुमा। जस्तोसुकै परिस्तिथि अनि प्रतिकूल अवस्थामा पनि प्रेम मुस्कुराउँछ अथवा फुल्छ।

जीवन बाँच्ने एउटै कडी भनेको प्रेम नै हो भन्ने सुन्दर अर्थ बोकेको उपन्यास हो क्वारेन्टाइन। कालो बादलभित्र जहिले पनि चाँदीको सेतो घेरा भएझैँ मानिसको पनि दुखद पलभित्र सुखद पलका रेखाहरू झिल्मिलाइरहेका हुन्छन् भन्ने विश्वास र आशाले नै मानिस दुखद घडीमा पनि आफ्नो जीवन व्यतीत गरिरहेको हुन्छ। विश्वास, आशा र भरोसामै जीवन अडिएको हुन्छ। जीवन अडिएको छ र त प्रेम फुलेको छ। प्रेम फुलेको छ र त सृष्टिको निरन्तरता छ। सृष्टिको निरन्तरता छ र त यो विश्व ब्रह्माण्ड चलायमान छ। यस कोरोना कहरको समयमा विज्ञानसमेत निरीह बनेको छ।

शक्तिशाली मानिने पैसा कागजको खोस्टाझैँ भयो भने कतै अभावमा खानसमेत लाइनमा बसेर हात थाप्नुपर्यो। जीवन जति नै खराब परिस्थितिसँग गुज्रिए पनि अन्ततः बाँच्नेले नै जीवन जितेको छ। मानिसकै आशा, विश्वास र विद्वताका कारणले नै यस भयावह परिस्थितिलाई विज्ञानको माध्यमबाट कोरोनाको खोप आविष्कार गरी मानवजातिको आशालाई निराशा हुनबाट जोगाएको छ। हामीले विदेशमा सुख हुन्छ। एकदम राम्रो नै राम्रो हुन्छ भन्ने बोकेको भ्रमलाई यस उपन्यासले त्यहाँको भूगोल र जीवन भोगाइ र बाँच्नका लागि गरिएको सङघर्षलाई छर्लङ्ग उजागर गरिदिएको छ।

विदेशमा बसेका नेपाली हुन् या त्यस देशका नागरिक! सबै नै कोरोनासँगको संवेदनासँग जोडिएका छन्। त्यसैले पनि यो उपन्यास पढिरहँदा आफ्नै परिवेश वरिपरिको कथा हो जस्तो लाग्छ। उपन्यास पढिसकेपछि पनि मनमस्तिष्कमा उपन्यासका पात्र र वर्णित घटनाहरूको दृश्य–परिदृश्य आइरहन्छन्। जुन उपन्यासको सशक्त र सबल पक्ष हो। यस मानेमा यो उपन्यास एक सफल उपन्यास हो।

‘क्वारेन्टाइन’भित्र बसेका बेला सर्जकले मनभित्र उठेका द्वन्द्वलाई उपन्यास क्वारेन्टाइनमा प्रष्फुटन गरेर बाहिर ल्याइदिनुभएको छ र हामी पाठकले त्यसको मर्मकोे गहिराइलाई बुझ्न पाएका छौँ। यस महाकालको अनुभव गर्न नपाएका, कोरोना कालपश्चात्का सन्ततिहरूले यस कृति पढेर अहिलेको भयाभह स्थितिको आँकलन र अनुभव गर्न पाउने छन्। अतः ‘क्वारेन्टाइन’ कोरोनाकालको एक ऐतिहासिक औपन्यासिक दस्तावेजका रूपमा दर्ज हुने विश्वास लिएको छु। कोरोनाजस्तो त्रासदीयुक्त महामारीले विश्वलाई नै हल्लाइदिएको, मानवसभ्यतालाई गिज्याइरहेको, विज्ञानलाई चुनौती दिएको विषयलाई उठान गरेर पाठकसमक्ष आएको यस उपन्यासका केही कमी–कमजोरी भने अवश्य छन्।

कतै कतै लेखनमा कृत्रिमता झल्किन्छ। जातीयताको कुरा उठान गरिरहनुपर्ने खासै मूल विषय थिएन। त्यसैगरी विगतमा भोगिएका अन्य महामारीको तथ्याङ्क प्रस्तुतिले उपन्यासका पानाहरू जबरजस्ती बढाएको हो कि जस्तो भान हुन्छ। उपन्यासमा तथ्याङ्क प्रस्तुत गर्नु त्यत्ति सान्दर्भिक होइन भन्ने ठान्दछु। एकाध भाषिक अशुद्धतालाई सामान्य त्रुटिको रूपमा लिई समग्रमा समीक्षा गर्ने हो भने क्वारेन्टाइन एउटा सफल र पठनीय उपन्यास हो भन्दा अतियुक्ति नहोला। सर्जक पदम विश्वकर्मालाई हार्दिक बधाई दिँदै अझ परिष्कृत र विविध नवीन विषयका कृति लेखनले निरन्तरता पाइरहोस् ! मुरीमुरी शुभकामना !

प्रकाशित: २१ जेष्ठ २०७९ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App