२०६८ सालमा इलाममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रममा भाग लिन गएदेखि आफू जन्मिएको माइतीघर भए पनि बीचमा जान पाएकी थिइनँ।
यसपालि २०७८ मङ्सिर १८ र १९ गते इलाममा नेपाल भारत पर्यटकीय मैत्री साहित्य सम्मेलन हुने भएछ। त्यस कार्यक्रममा भाग लिने अवसर जुटाइदिने भाइ राधेश्याम लेकालीलाई धन्यवाद दिन्छु। उनले अलिक जोड नगरेको भए सायदै गइन्थ्यो होला।
भाइले ‘माइतीमा हुन लागेको कार्यक्रममा त जसरी पनि जानुपर्छ दिदी’ भनेकाले मैले मेरा श्रीमान्लाई पनि जान आग्रह गरेँ। श्रीमान् त्यति इच्छुक हुनुहुन्नथ्यो। म त एक्लै स्वास्थ्यको कारणले कहीँ पनि जान मिल्दैन। त्यसैले उहाँ साथमा जानु आवश्यक थियो। भाइले पनि ‘भेना ! जानुपर्छ; रमाइलो हुन्छ’ भनेपछि उहाँ पनि जान तयार हुनुभयो। कार्यक्रम मङ्सिर १८ र १९ मा थियो।
‘कार्यक्रममा भाग लिन चितवनका २/४ जना साथीहरूलाई पनि ल्याउनुहोस् ल दिदी ! कार्यक्रम भव्य हुनेवाला छ’ भनेपछि यहाँबाट (नारायणगढबाट) जाने ६ जना भयौँ। चिसापका अध्यक्ष कवि श्री सुरेन्द्र अस्तफल, चिसापका का.स. श्रीमती सरला जोशी, चिसापका सदस्य श्रीमती उषा तिवारी र मेरा श्रीमान् केशवकुमार श्रेष्ठ।
१७ गतेको रात्रिबसमा हिँडेका हामी १८ गते पुग्यौँ। ढिलै भए पनि १८ गतेको कार्यक्रममा सहभागी भइयो। १९ गते बिहानभरि यसो बजार घुमेर आफन्तहरूसँग भलाकुसारी गरेर खाना खाई माइपोखरीतिर लागियो। माइपोखरी इलामको पर्यटकीयस्थल पनि भएकाले त्यहाँ एउटा कवि गोष्ठी कार्यक्रम राखिएको थियो। माइपोखरी जाने भनेपछि मेरो मन त्यसै हर्षित भएको थियो।
बाल्यावस्थामा ठूलो एकादशीमा त्यहाँ ठूलो मेला लाग्ने गर्थ्यो। त्यो मेलामा तीर्थ गर्न भनेर इलाम र इलामका छरछिमेकका जिल्लाहरूबाट पनि थुप्रै मानिसहरूको लर्को लाग्थ्यो। माइपोखरीका बारे बुबाहरूले विभिन्न अचम्मका कुराहरू गर्नुहुन्थ्यो। यो पोखरीका ९ वटा कुना छन्; ती नौ कुना दिनभरिमा पनि घुमेर सकिँदैन। फेरि यो पोखरीको गहिराइ कति छ ?
आजसम्म कसैले पनि नाप्न सकेका छैनन्। माथिदेखि तल कहाँसम्म हो कहाँसम्म सिँढी नै सिँढी छन् अरे। थाहा छैन, यो केवल किंवदन्ती हो वा यथार्थ। जे होस्, वास्तवमै माइपोखरी अत्यन्त सुन्दर छ। यो पोखरीको वरिपरि भएको सल्लाघारीको जङ्गल, यसको भूबनोट अत्यन्त आकर्षक अनि मन्त्रमुग्ध पार्ने खालको छ। घरहरू हेर्ने हो भने ब्रिटिस स्टाइलका देखिन्छन्। पहिला पहिला त सल्लाको काठका घर हुन्थे।
आजकल भने काठ अत्यन्त महँगो भएकाले ब्रिटिस स्टाइलमा नै जस्ताको प्रयोग गरेर आकर्षक घरहरू बनाइएका रहेछन्। म (आफू) बच्चामा जाँदा त्यहाँका सारा नागीहरू बुकी फूलले छपक्कै ढाकेर सेताम्मे देखिन्थे। तर अहिले त ती सारा नागीहरू चियाको बुट्टाले ढाकिएर सल्लाले सुरक्षा गार्डको काम गरिरहेकाजस्ता सुन्दर देखिने भएछन्।
ती सब नागीहरूलाई हेर्दा पुरै हरियो गलैँचा ओछ्याएकोजस्तो देखिँदो रहेछ। जहाँ लडीबुडी खेल्दै माथिदेखि तलसम्म पुगौँ जस्तो; चियाको बोटमा नै लुकामारी खेली आफ्नो बालापन फर्काऊँ-फर्काऊँ जस्तो लाग्यो। माइपोखरीको मूलद्वारबाट प्रवेश गरेर त्यहाँको अलिकति जल छोयौँ। मेरा श्रीमान्ले त झन् त्यही मूलद्वारबाट आफूलाई इलामे ज्वाइँ, इलामे भेना भनी आफ्नो परिचय नै दिनुभयो।
वास्तवमै त्यो दिन उहाँले आफूलाई, इलामे ज्वाईं अथवा इलामे भेना हुनुमा ठूलो गर्व गर्नुभएको अनुभव गरेँ। त्यसपछि हामी त्यहाँबाट अलिक माथि उक्लिएर एउटा सानो हवन घर भएको ठाउँमा जम्मा भएपछि हाम्रो कवि गोष्ठी कार्यक्रम सञ्चालन गर्नतिर लाग्यौँ। जाडो पनि मिठै थियो। बस्ने ठाउँ भने असाध्यै चिसो भएकाले कहिले बस्थ्यौँ, कहिले उठ्थ्यौँ। उक्त कार्यक्रमको सभापतित्व साहित्यकार राधेश्याम लेकालीज्यूले गर्नुभएको थियो भने मलाई प्रमुख अतिथि, नाटककार अशेष मल्ललाई विशिष्ठ अतिथिका रूपमा आसनग्रहण गराइएको थियो।
कार्यक्रम सञ्चालन बहिनी मञ्जिला अनिलले गर्नुभएको थियो। उहाँ त बहुप्रतिभाकी धनी हुनुहुँदो रहेछ। १८ गते कविता भन्न छुटेकाहरू प्रायःले यहाँ कविता वाचन गरी कार्यक्रमलाई रमाइलो बनाउनु भयो। कार्यक्रम सकिएपछि हामी समयलाई मध्यनजर गर्दै फर्किने सुरसार गर्न थाल्यौँ। तल आएर तातोतातो कफी र बिस्कुट खाएर आआफ्नो गाडीमा बसेर फर्कन थाल्यौँ।
फर्किएर हामी विस्तारै संसारी डाँडाको चिया बगानमा क्याम्प फाएर गर्ने र त्यहीँ रात्रीको खाना खाने कार्यक्रम रहेछ। गाडीबाट उत्रेर हामी संसारी डाँडातिर लाग्यौँ। मसँग पारु नानी थिइन्। उनले मेरो हात समाएर बच्चालाई डोर्याएझैँ डोर्याइरहेकी थिइन्। यही समयमा उनले मसँग हाम्रो विवाहसम्बन्धी कुराहरू सोधिन्।
विवाह गर्दा के विचार गर्नुपर्छ ? कसरी हजुरहरूको जस्तो सुखी दाम्पत्य जीवन चल्दछ ? मैले भनेँ, ‘एक अर्कालाई बुझ्न सक्नुपर्छ; एक अर्कालाई आदर गर्न सिक्नुपर्छ; सानोतिनो कुरालाई बिर्सिदिनुपर्छ; दुःखसुखमा साथसाथै हिँड्नुपर्छ। विवाह एक प्रकारको सम्झौता हो। कहिलेकाहीँ त आत्मसमर्पण पनि गर्न तयार हुनुपर्छ। उनले भनिन्, ‘साह्रै जटिल कुरा पो रहेछ विवाह भनेको कुरा त।’
कुरा गर्दागर्दै हामी सबै सूर्यास्तको समयमा पुग्यौँ। पारु नानीले हामी दुई (म र मेरा श्रीमान्) को सूर्यास्तका साथ केही फोटोहरू खिचिदिइन्। पारु फोटोग्राफीमा सिद्धहस्त रहिछिन्। त्यसपछि हामी क्याम्प फायरमा बस्यौँ; रमाइलोमा सहभागी भयौं। खुब रमाइलो भयो। कार्यक्रम सकिएपछि हामी सबैजना आफ्नो वासस्थानमा फर्कने तरखर गर्न थाल्यौँ। संसारी डाँडाबाट हामी बस्ने लज टाढै थियो। हिँड्दै जानुपर्ने थियो। किनकि त्यहाँ राति गाडीहरू चल्दैनथे।
त्यसैले हिँडेर जानु त अनिवार्य थियो। म पनि विस्तारैविस्तारै हिँडेर अगाडि बढ्न थालेँ। हिँड्दाहिँड्दै अँध्यारोमा बाटो बिराएछौँ फेरि गफको सुरमा। हराएको टाढा त होइन तर लामो बाटो हिँड्नुपर्यो तापनि रमाइलो गफमा बाटो काटेको थाहै भएनछ। जे होस्, ढिलै भए पनि आफ्नो गुँडमा सही सलामत आइपुग्यौँ। कोठामा गयौँ; थकाइ पनि लागेछ।
सुत्ने तरखरमा लाथ्यौँ। मलाई त खुट्टा सुन्निएकाले असाध्यै असजिलो भइरह्यो। सरला र उषाको गफ अनन्त। म नबोलीकन पल्टी बसेँ। कतिबेला निदाएछु थाहै पाइनँ। विपनामा त म इलाम माइपोखरी घुमेँ नै। म त्यहीँ जन्मेर पनि कहिल्यै नपुगेको संसारी डाँडाको चियाबगान पनि पुगेँ। त्यति बेला पनि सायद तृप्त भएनछु क्या हो; सपनामा पनि माइपोखरी र संसारी डाँडामा नै पो घुम्दै रहेछु।
यही प्राकृतिक सौन्दर्यको पारखी भएर नै होला; माइपोखरी टेक्नासाथ राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए रे: 'चाहिँदैन मलाई नौगेडी तिलहरी, लेखिदिए पुग्छ मेरो छातीमा माइपोखरी' राष्ट्रकविको यो अभिव्यक्ति मलाई अत्यन्त स्वाभाविक लाग्यो किनभने त्यो जौहरी आँखाले मात्र प्राकृतिक सौन्दर्यको रसोस्वादन कसरी गर्नुपर्छ भने जान्दछ।
बाह्य चक्षुले केवल आहा ! भन्न जान्दछ तर अन्तर चक्षुले त्यसलाई आहा ! मात्र नभनेर सौन्दर्यको रसपान गर्न सक्दछ। प्रकृतिका मर्मज्ञ, अझ भनौँ, प्राकृतिक सौन्दर्यका शल्यचिकित्सक राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो अभिव्यक्ति इलाम कस्तो छ भन्ने कुराको जीवन्त उदाहरण हो।
प्रकाशित: १७ वैशाख २०७९ ०१:२२ शनिबार