१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

नारीकेन्द्रित कथा संग्रह ‘मोम्चो’

पुस्तक

नाम सुन्दा नै अचम्म लाग्छ ‘मोम्चो’। यो एउटा नारीकेन्द्रित कथा संग्रह हो। कथा संग्रहको सम्पूर्ण सार ‘मोम्चो’मा अडिएको देखिन्छ। ११ कथाको सँगालो मोम्चोका प्रत्येक कथाले आ–आफ्नो कथा र व्यथालाई अंगीकार गरेको छ। ‘कुमाता’ कथा संग्रहमा पनि कथाकार वसन्त पराजुली नारीकै कथाव्यथामा रुमलिएको देखिन्थ्यो भने यो कथासंग्रह विशुद्ध नारीकेन्द्रित नै छ।

कथाकार पराजुलीले प्रत्येक कथामा एउटा न एउटा मानवीय संवेदनामा केन्द्रित रहेर नारी जीवनको कटु यथार्थको सफल चित्रण गरेका छन्। कथाकार नारी अस्मिताप्रति अत्यन्त संवेदनशील देखिन्छन्। ‘वक्ररेखा’ कथा पढ्दा एकपल्ट आङै सिरिंग हुन्छ। बुझेर वा नबुझेर, जानेर वा नजानेर विवाहिता नारी आफ्नो मातापिताको घर छाडेर पति परमेश्वर मानी पतिघरमा बस्छिन्। पति जति टाढा जावस् वा घरमा बसोस्, पत्नी पतिकै घरमा बस्छिन्। यो स्वाभाविक हो, छोरा मान्छे बाहिरको काम गर्छन्, कमाउँछन्, घरमा ल्याउँछन्।

पत्नी घरको चुलोचौकोमा व्यस्त रहन्छिन्। यति गर्दागर्दै पनि घरमै बसी पत्नी पतिबाट धोखा खान्छे। तीजमा माइत गएर आएपछिको घटनाले कथाकी पात्रको मात्र नभएर पाठकको समेत आङै सिरिंग हुन्छ। किनकि सौतेनी दिदी भए पनि हाडनाताकै दिदीसँग अनैतिक सम्बन्ध राख्न कुन आत्माले स्विकार्न सकेको हो। विवाह एक सम्झौता हो भनी स्विकार्दास्विकार्दै धोकालाई स्विकार्न गाह्रै हुन्छ हरेक नारीलाई। कथाकार नारीलाई दुर्बल हुन दिन चाहँदैनन्। त्यसैले श्रुति पनि श्रवणसँग पारपाचुके गर्न अदालत पुग्छिन्।

त्यस्तै कुटी नम्बर २०० कथा पनि नारी केन्द्रित कथा हो। सानै उमेरमा अथवा भनौं विवाहको वास्तविक अर्थ नबुझ्दै १३/१४ वर्षको उमेरमा विवाह गर्ने हाम्रो परम्पराले कैंयौं नारीको भविष्य अँध्यारोमा रुमलिएको छ। विवाह भएपछि जुनसुकै नारीले आफ्नो माइतीघर छाडेर पतिघरमा बस्नुपर्छ। यो त सामान्य रूपमा स्वाभाविक मानी आएको कुरा हो, चाहे पति विदेशमा होस् वा स्वदेशमा। पतिले विदेशमा गएर दुःख गरोस् वा गुलछर्रा उडाएर बसोस्, ऊ चोखै हुन्छ।

कथाको पात्र विवेकले कतारबाट फर्कंदा धनको सट्टा कान्छी श्रीमती पुरस्कार स्वरूप ल्याइदिँदा घरकी श्रीमतीले कस्तो अनुभव गरिन् होली! माइतीका मातापिताको देहावसान भइसकेको, माइतीमा भर नपरी भर्खरकी कलकलाउँदो जोवन लिएर घर छोडेर हिँड्दा उसले भोग्नुपरेको कथा र व्यथा समाजले उसलाई हेर्ने दृष्टिकोण, आफ्नी पत्नीलाई पनि होटलमा भेट्न खोज्नुजस्तो व्यवहारले नारीको मन कति पीडित हुन्छ भन्ने कुराको राम्रो प्रस्तुति भेटिन्छ।

हाम्रो समाजले नारीलाई हेर्ने देष्टिकोण नै फरक र विभेदपूर्ण छ। पुरुषसँग अलिकति खुलेर, हाँसेर बोले शंकाको दृष्टिले हेरिन्छ। वर्तमान प्रविधिमाथि पूर्ण विश्वास गर्ने हुँदा कहिलेकाहीँ प्रविधि पनि असफल हुन सक्छ भन्ने नसोची पत्नीप्रति शंका गर्न पछि पर्दैन पुरुषहरू। जसका कारण उसको परिवारमै खलल पैदा हुन जान्छ।

समाजका लागि नारी खेलौना नै हो? कथा संग्रहको मूल कथा ‘मोम्चो’लाई नै हेरौं। सम्पूर्ण कथाको सारतत्व नै ‘मोम्चो’ हो जस्तो लाग्यो मलाई। ‘मोम्चो’ भनेको चेपाङ भाषामा छोरी अथवा महिला हो। सँगै खाई, खेली, घाँस, दाउरा गर्दाको र पढ्दाको साथी मंगलीलाई गोरेले मन पराउँदैमा प्रेम प्रस्ताव राख्छ। मन पराउनु र प्रेम गर्नु, माया लाग्नु एउटै कुरा होइन। यी तीन कुरा सुन्नमा एउटै जस्तो लागे पनि व्यावहारिक अर्थमा फरक छ। तर गोरे र मंगली दुवैलाई के थाहा! ती त थिए वास्तवमै नाबालिग। मनपर्‍यो र पर्छ भन्नेबित्तिकै विवाहको प्रस्ताव राख्नु, अभिभावकले पनि तुरुन्तै स्वीकार गर्नु नै न्याय संगत देखिँदैन। यस्तो किन भयो भनी सोँच्ने हो भने गोरे र मंगली नाबालिग भए तर अभिभावकमा त्यस्तो ज्ञान थिएन। अज्ञानतावश विवाह एक परम्पराको रूपमा हेरियो, दिइयो।

यो उमेर नपुगेका केटाकेटीको भविष्यबारे कुनै सोँच विचार गरिएन। परिणाम स्वरूप गोरेले अर्की विवाह गर्छ, मंगली अर्कोसँग जान्छे। तर छोराछोरी अर्थात् सन्तानप्रतिको मोहले कति तान्छ भन्ने कुरा मंगलीले ठूलेसँग विवाह गरेर उसको व्यवहार देखेपछि अनुभव गर्दै गई। जसकारण सन्तानको मायालाई गोरे र ठूलेको प्रेमभन्दा ठूलो ठानी घर छाडेर आफ्नो सन्तानको खोजीमा अनिश्चित भविष्य बोकेर मंगली जीवनको यात्रामा हिँडी।

नारीको एउटा ठूलो कमजोरी हो, छिटै विश्वास गर्नु। शिक्षित पुरुष पनि नारीलाई केवल भोग्या ठान्छन्। यसको ज्वलन्त उदाहरण हो ‘जिजीविषा’। हाडनाता भन्दैनन्, उमेर भन्दैनन्, जात भन्दैनन्, अझ भनौं आफ्नो र पराया छुट्ट्याउन सक्तैनन् अनि बन्छन् यौनपिपासु पशुझैं। आफ्नो कामवासना पूर्तिका निम्ति एकछिनकै लागि भए पनि ऊ पशुभन्दा निकृष्ट बन्न पुग्छ। प्रस्तुत कथा संग्रहमा कथाकार नारीलाई न्याय र सम्मान दिन चाहन्छन्। पीडित नारीहरूलाई ससम्मान आफ्नो खुट्टामा उभिन सक्ने बनाउन चाहन्छन्। चाहे त्यो कुनै सीप सिकाएर होस् या अरू कुनै उपायले होस्, उनीहरूको पुनस्र्थापना  गर्न चाहन्छन्।

कथाकार पराजुली एक सशक्त पत्रकार हुन्। यहाँ पत्रकार केवल पत्रकारभन्दा बढी जिम्मेवार व्यक्ति बन्नुपर्छ। केवल समाचार प्रसार गर्नु मात्र पत्रकारको दायित्व होइन भन्ने सन्देश दिन चाहन्छन् कथाकार। कथा छोटकरीमा हाम्रो सामाजिक जीवनको यथार्थको अभिव्यक्ति हो। त्यसैले कथाकार पराजुली प्रायः सबै कथामा नारीले भोगेको, भोगिरहेको जीवनको यथार्थ चित्रण गर्नमा सिद्धहस्त देखिन्छन्। समाजमा विद्यमान नारीहिंसा, उत्पीडन र विभेदलाई सफलतापूर्वक प्रस्तुत गर्दै यस्तो अन्यायपूर्ण, गलत, काम गर्नु नहुने सन्देश दिन्छन्।

कथाका प्रायः घटना हाम्रो घर, समाजभित्रकै हुन् भन्ने आभास दिनु नै कथाकारको सफलता हो। वास्तवमा पत्रकारले जति सजिलोसँग यस्तो वास्तविक सत्यतथ्य घटनालाई नजिकबाट भेट्न सक्छन्, त्यति सजिलोसँग अरूले भेट्न सक्तैन। घटना भएको ठाउँमा स्वयं उपस्थित भएर विषयवस्तु टिप्न सफल पत्रकारका उदाहरण हुन् कथाकार वसन्त पराजुली।

उनले यस संग्रहमा आफ्नै घर आँगनको प्राकृतिक सौन्दर्यको चित्रण, मानवीय स्वभावको तादात्म्यता, जातीय भेदको चित्रण, वैदेशिक रोजगारमा जानुको फाइदा वा बेफाइदा, वर्तमान विज्ञान प्रविधिमाथिको विश्वास र अविश्वास, माओवादी लडाकुको कथाव्यथा आदिलाई सरल रूपमा प्रस्तुत गरेका छन्।

प्रकाशित: ३ वैशाख २०७९ ०२:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App