२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पोखरा बनाउने पुष्पराजको योजना

यतिबेला स्थानीय तहको निर्वाचन नजिक आएको छ। राजनीतिक दलका स्थानीय नेता आफ्नो गाउँ सहर बनाउने योजना बोकेर छलफल बहसमा लागिरहेका छन्।

केन्द्रीय नेतृत्व पनि गाउँ सहर केन्द्रित राजनीतिमा लागिरहेको छ। भौतिक विकासदेखि मानिसहरूको जीवनस्तर उकास्नका लागि आवश्यक पर्ने विषयमा छलफल केन्द्रित हुन थालेको छ। विभिन्न कारण स्वदेश तथा विदेशमा रहेका बौद्धिक व्यक्तिले आफ्नो गाउँका बारेमा चासो र चिन्ता प्रकट गरिहेका छन्।

यही परिस्थितिमा विगतको स्थानीय तहको निर्वाचनबाट कतिपय राजनीतिक दलले पाठ सिक्दै विकास निर्माणको ‘भिजन’ भएको व्यक्तिलाई नेतृत्व सुम्पने प्रयास गरिरहेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेसले विकासप्रेमी र विकासमा विभिन्न मोडललाई प्रस्तुत गरेर कार्यान्वयन गर्न अग्रसर गर्ने व्यक्तिलाई नेतृत्वको अवसर दिने प्रयास पनि भइरहेको छ। यस्तै विकासे मोडलको चाङ बोकेर स्थानीय तहदेखि केन्द्रसम्म सुनाउँदै हिँडेका छन्, पोखराका स्थायी बासिन्दा पुष्पराज अधिकारी।

स्थानीय तहको निर्वाचनअघि मिसन, भिजन र गोलको रणनीति लिएका पुष्प अधिकारीको जीवनको उर्वर समय बेल्जियममा व्यवसाय गरेर बितेको थियो। तर उनी त्यहाँको विकास निर्माणले लोभिए र नेपाललाई पनि विकासको नमुना देश बनाउन सकिन्छ भन्दै एक दशकअघि पोखरा फर्किए। बेल्जियममा उनको व्यवसाय बढ्दो क्रममा थियो। तर त्यसलाई छाडेर सपरिवार पोखरा आएका अधिकारीले रूपाकोटमा लक्जरी ‘रूपाकोट रिसोर्ट’ खोले। जसले रूपाकोटलाई पर्यटनको आकर्षक गन्तव्यका रूपमा पहिचान गर्‍यो।

रूपाकोट रिसोर्ट पुग्ने जोकोही व्यवसायीले त्यहाँको भौतिक संरचनाको प्रशंसा गरेर फर्केका हुन्छन्। उनले आफ्नो रिसोर्टबाट वेगनास र रूपाताल मात्रै होइन, हिमशृंखलाका साथै सूर्योदय र सूर्यास्तको अनुपम सौन्दर्यलाई लोभ्याए। उनले सो रिसोर्टमा एक अर्ब लगानी गरेर पर्यटनको अथाह सम्भावनाको बाटो पनि देखाइदिए।

रूप बदल्न मेयरको सपना

लामो समय नेकपा एमालेसँग आबद्ध रहेका पुष्पराज अधिकारी विकासे योजना, पोखराको मुहार फेर्ने, रूप बदल्ने मिसन र भिजन बोकेर हिँडिरहेका छन्। परिवर्तन आफैँबाट सम्भव छ भन्ने मूलमन्त्रलाई आत्मसात गरेका अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओली, पार्टीका शीर्ष नेताहरू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत नेतालाई भेटेर आफ्नो योजना सुनाइसकेका छन्। ‘पोखरा आफैँमा सुन्दर महानगरपालिका हो, यसको रूप परिर्वतन गर्न जरुरी छ, त्यसका लागि भिजन चाहिन्छ त्यो मसँग छ,’ उनले नागरिकसँगको कुराकानीमा भने ।

पोखरा महानगरपालिकाको मेयर बन्ने सपना बुनेर एक दशकदेखि विभिन्न कार्यक्रम सहभागी भएका छन्। मेयरको आकांक्षी बन्दै गर्दा उनीसँग पोखराको रूप फेर्ने महत्वाकांक्षा छ। अधिकारी राजनीतिमा प्रवेश गरेको ३० वर्ष भयो, विदेश बसेर पनि उनले पार्टीलाई सहयोग गरिरहे।

एमालेको प्रवास विभागमा रहेका अधिकारी हरेकपटक निर्वाचनमा आर्थिक विभागको सदस्यमा छुट्दैनथे। ‘२०४८ सालमा पहिलोपटक नेकपा एमालेको सदस्य लिएको हुँ, त्यसयता म व्यवसायसँगै राजनीतिमा छु, पार्टीलाई पनि सहयोग गरेको छु, साथै पोखराको स्थायी बासिन्दा भएका कारण यसको रूप बदल्ने भिजन मसँग छ, त्यसलाई कार्यान्वयन गर्न चाहन्छु भनेर मैले नेताहरूसँग पनि भनेको छु र पोखरावासीसँग मैले यो कुरा राखेको छु,’ उनले भने। एमालेले विगतदेखि नै सुखी नेपाली र समृद्ध नेपालको नारा अघि सारेको छ। एमाले अध्यक्ष केपी ओलीले अघि सारेको त्यो मिसनमा उनी भिजनसहित अघि बढेका छन्।

‘पार्टी अध्यक्षको सपना मुलुकको मुहार फेर्ने हो, समृद्ध बनाउने हो मैले पोखराको मुहार पोखरेलीलाई आत्मनिर्भर बनाउने र समृद्ध बनाउने योजना अघि सारेर उहाँको मिसनमा मेरो भिजन मिसाउने प्रयास गर्नेछु, सुरुवात गर्नेछु एकैपटक कायापलट गर्न सकिन्छ भन्ने होइन तर सुरुवात गर्ने मेरो सपना छ,’ उनी भन्छन्।

उनीसँग पोखरा महानगरलाई समृद्ध बनाउने योजना भने स्पष्ट छन्। उनी आफूलाई पोखराको मेयर बन्दै गर्दा न्युयोर्कको मेयर बराबरको हैसियत बनाउने सपना रहेको बताउँछन्। ‘पोखरा प्रवेश गर्नेबित्तिकै पोखरा आएको फिल हुने गरी विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास मात्रै होइन, त्यो पूरा गर्नका लागि व्यवस्थापकीय कला र स्पष्ट खाका मसँग छ, म यसलाई कार्यान्वयन गर्न चाहन्छु,’ उनी भन्छन्।

हरेक समस्या समाधानका लागि कुशल व्यवस्थापन आवश्यक हुने उनी बताउँछन्। ‘मेरो पहिलो काम नै व्यवस्थापन गर्ने हो। जसलाई मैले १ वर्षभित्र पूरा गर्न सक्छु, यसअन्तर्गत ट्राफिक व्यवस्थापनदेखि, ढल व्यवस्थापन, महानगरको ब्युटिफिकेसन, व्यवस्थित सडकपेटी र सार्वजनिक सेवालाई प्रभावकारी, ताल तलैया र सेती नदीलाई पर्यटन गन्तव्यको रूपमा सुन्दर बनाउनेदेखि समाजलाई सामाजिक र आर्थिक रूपमा सशक्त बनाउने योजना पनि छ,’ उनी भन्छन्।

आफैँलाई व्यवस्थित योजनाबद्ध ढंगले अघि बढाउने हो भने पोखरालाई विश्वकै नमुना सहर र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उनका धेरै महत्वाकांक्षी सपना रहेका छन्। पुँजी, प्रविधि, जनशक्ति तथा स्रोत र साधनको उचित व्यवस्थापन गर्ने तीन दशकभन्दा लामो अनुभव आफूसँग भएकाले त्यो अनुभवलाई पोखराको विकासमा लगाउने आफ्नो चाहना रहेको उनले सुनाए।

पोखरा ब्रान्ड

कोभिडपछि नेपालमा पर्यटन उद्योग धराशयी भएका छन्। पोखरा पनि नेपालको प्रमुख गन्तव्य भएकाले त्यहाँ आर्थिक गतिविधि समेत प्रभावित भएको छ। आजका दिनमा पोखरामा विदेशी लगानी ल्याउँदै विश्वभर पोखरालाई ब्रान्डका रूपमा विकास गर्नु अति जरुरी छ। पर्यटकीय गन्तव्य भनिए पनि विश्वभरबाट गुणस्तरीय पर्यटक ल्याउन नसकिएको विषयमा अधिकारी निकै चिन्तित देखिएका छन्।

पोखरालाई पर्यटकहरूको ट्रान्जिट प्वाइन्ट बनाएर मात्रै नपुग्ने उनी बताउँछन्। पर्यटन विकासका लागि पोखरासँग प्राकृतिक रूपमा प्राप्त सबै चिज छ, पर्यटकलाई हिमाल र ताल र यहाँको हरेक सौन्दर्यको बजारीकरण गरेर मात्रै पैसा ल्याउन सकिन्छ भन्नेमा लाग्नुपर्ने उनको भनाइ छ। त्यसका लागि सबैभन्दा पहिले ब्रान्डिङ गर्नुपर्ने महिनौँसम्म पर्यटकलाई पोखरा राख्ने उपायको खोजीमा लाग्नुपर्ने उनको बुझाइ छ। नेपालमा हजारौँ डलर खर्च गर्न सक्ने लाखौं विदेशी पर्यटक आउन चाहने भए पनि उपयुक्त रूपमा बस्ने वातावरण नभएका कारण केही दिनमै फिर्ता हुने भएकाले विदेशीले खर्च गर्न चाहेर पनि खर्च गर्न नसकेको उनको बुझाइ छ।

 त्यसका लागि उनले पोखरालाई समृद्ध बनाउन नयाँ योजना अघि सारेका छन्। पोखरामा १० हजार अपार्टमेन्ट बनाउने र ती अपार्टमेन्ट विदेशी नागरिकलाई बिक्री गर्ने हो भने पोखरामा पर्यटक महिनौँसम्म अडिन सक्ने वा वेलाबखत नेपाल आइरहने गर्छन्। ‘हामीले पोखराका विभिन्न स्थानमा १० हजार विलासी अपार्टमेन्ट निर्माण गरेर १ मिलियन डलरमा विदेशीलाई बिक्री गर्न सक्छौं, यसले पोखरालाई ब्रान्डिङ गर्न सहयोग गर्छ, राज्यले राम्रो आम्दानी गर्छ,’ उनी भन्छन्, ‘यसो गरियो भने पर्यटनको प्रवद्र्धन हुन्छ, पोखराको सुन्दरतालाई पनि मनोमोहक बनाउन सकिन्छ ।’ तर, यो मेगा प्रोजेक्ट भएकाले पाँच वर्षमा गर्न सकिँदैन ।’ पाँच वर्षमै पूरा गर्न सम्भव नभए पनि सुरुवात भने गर्न सकिने उनको भनाइ छ। ५ वर्षमा ३३ वटै वडामा दुई सयका दरले ६ हजार ६ सय अपार्टमेन्ट बनाउन सकिने उनको योजनामा रहेको छ।

‘विश्वका कैयौँ यस्ता सहर छन्, जहाँ विश्वभरका अर्बपति अपार्टमेन्ट र घर किनेर बसेका हुन्छन्, सबैखाले सुविधासम्पन्न त्यस्ता अपार्टमेन्ट हामीले पोखरामा बनाउन नसक्ने होइन। तर, इच्छा शक्ति र उचित व्यवस्थापन भए बनाएर विदेशीलाई बेच्न सकिन्छ,’ उनी भन्छन्। अधिकारीको योजनामा अहिले पोखरामा देखिएको समस्या सेती नदी पनि हो। उचित व्यवस्थापन भएन भने भोलिका दिनमा सेती नदी झनै ठूलो समस्या बन्न सक्छ।

सेती नदी व्यवस्थापन गर्दै त्यसैमाथि मेट्रो रेल र त्यहीबाट जलविद्युत् पनि सञ्चालन गर्न सकिने उनको योजना छ। विगतमा मोनो र मेट्रो रेल चुनावी एजेन्डा भए, तर त्यसमा कसैले काम गर्न सकेनन्। मोनो रेलको साटो महँगो भए पनि मेट्रो रेल नै आवश्यकता भएको उनी बताउँछन्। कास्कीमा भएका तालको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका छन्।

प्रकाशित: २६ चैत्र २०७८ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App