१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

ललौरे

लघुकथा

नवराज शर्मा

सानैदेखि लुरे भएकाले सबै उसलाई ‘लुरे’ भन्थे। ऊ पनि नामसँग ‘नेपाली’ जोथ्र्यो, देशसँग साइनो गाँस्थ्यो ‘लुरे नेपाली’!

ऊ एक्लो छोरो भए पनि बाबुले बेकम्मा सप्रिहाल्छ कि भनेर कचकच गरिरहन्थे।

उसको शिरमाथि कुनै दलको झन्डाको छत्रछाया थिएन। ऊ नेताको झोला बोक्थेन। ऊसँग कसैको सिफारिस थिएन; कसैको निगाह थिएन। थियो त मात्र सानोतिनो जागिरलाई हुनुपर्ने योग्यता। धेरै हन्डर खाएपछि एउटा फुच्चे जागिर पायो। जेनतेन पारिवारिक दायित्व पूरा गर्न सक्ने भो। बाबुलाई लाग्यो, ऊ थोरै सप्रियो।

केही दिनपछि अर्काले ल्याएको सिफारिसले उसलाई कार्यालय बाहिर पुयायो। उसले हाकिमलाई सोधेको थियो, ‘के बिराम भो मबाट हजुर?’

‘तिमी मात्र ‘लुरे नेपाली’ भएकाले।’ हाकिम मुसुक्क हाँसेको थियो।

‘यो त अन्याय भएन र हजुर?’

‘दिनेलाई खोस्ने अधिकार पनि हुन्छ, बुझ्यौ त!’ अनुत्तरदायी उत्तर पायो।

‘चुनाव त आवोस्, मैले जान्या छ।’ बाहिरिंदा धारे हात लाएर उसले रिस पोखेको थियो। नभन्दै चुनाव हुने दिन पनि आयो। मन नलागी–नलागी ऊ भोट हाल्न गयो। लाम लाग्यो। ऊ पनि प्रत्येक पाँच वर्षमा ‘मै’ भन्नेहरूलाई जागिर दिंदोरहेछ! विचार फुरेपछि दंग पयो। यो जागिरमा दिनेलाई खोस्ने अधिकार किन नभएको होला? प्रश्नले फणा उठाएपछि ऊ भित्रभित्रै भुटभुटियो र छरियो। आज जस्तो निरीह र निरूपाय ऊ कहिल्यै भएको थिएन। एक्कासि ऊ पेट मिचीमिची हाँस्न थाल्यो। एक्लै हाँसेको देखेर सबै उसलाई अचम्म मानेर हेर्न लागे, ‘खुस्क्यो कि क्या हो!’

एकजनाले आएर सोध्यो, ‘होइन दाइ! के भो? किन यस्तरी  हाँस्नुभएको?’

‘रुन नसकेर।’ उसको जवाफ थियो।

प्रकाशित: १६ चैत्र २०७८ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App