हरिचन्द्र ढकाल
–हजुर, मेरो घरमा चोरी भो। चोर समात्ने जिम्मा उसको भो।
–हजुर,घरमा आगो लाग्यो! ऊ हतारहतारमा आगो निभाउँदा आफू जलेका थाहा पाएन।
–हजुर नहरको बाढी गाउँमा छियो। लाग्थ्यो, आफूले नै गल्ती गरेर सच्च्याइरहेको छ।
–हजुर गाई डिंगा हराए! उबाहेक खोज्ने को थियो र?
– हजुर छिमेकीले अत्याचार गर्यो! छिमेकीभन्दा नजिकको भएर कुरा मिलाइदियो।
–हजुर श्रीमतीले कुटी! घरको निजी मामलामा पनि ऊ नै चाहिने भो।
गाउँलेले उसलाई जेजेमा सम्झे ऊ सबैमा समेटिंदै गयो। राम्रो–नराम्रो जेमा पनि ऊ नै चाहिने। ऊ समाजको पर्यायवाची जस्तै थियो। उसको काममा कोही खुशी त कोही रुष्ट पनि पक्कै थिए होला। उसलाई कुनै परवाह भएन। जागिरले उसलाई झन् निखार ल्याउँदै गयो। नोकरी प्रवेश गर्दै गर्दा ‘जनताको सेवाका लागि’ भनेको जवाफ साँच्चै आफूले मिलाएको रहेछु भन्ने उसलाई लाग्यो।
आफ्नो घरपरिवार,छोराछोरी,आमाबाबु,इष्टमित्र र चाडवाड कहिल्यै भनेन। पराईलाई पनि आफ्ना देख्ने भइसकेका थिए उसका आँखा। रातबिरात उसलाई देखेपछि गाउँले सबै ढुक्क। अपराधीका अपराध लुक्थे। चोरका योजना तुहिन्थे। ऊ वास्तवमा ऊ भएकोमा हर्षित थियो।
यसपटक पनि सधैंझैं घरेलु समस्याले गाउँ गिजोलियो। सबैलाई आफ्नै देख्ने उही मन लिएर आज पनि गाउँमा देखियो। गाउँको भिडभाड र हुलहुज्जत राम्रैसँग थाहा थियो उसलाई। धरपक्कड, ठेलमठेल धेरै पटक बेहोरेको पनि थियो।
सोच्यो–आज पनि अस्तिको जस्तै होला तर अफसोच आज उसको आफ्नै भएकाले घाटी रेटे। ऊ अचेत भएर ढल्यो अनि अमूर्त भयो। आफूसँगै अरूको सपना पनि छिनभरमै निमोठियो। उसको शरीरसँग घरको समस्या साटियो। को रहेछ? धेरैले चासो दिएजस्तै गरे। थाहा भो–ऊ त प्रहरी पो रहेछ।
प्रकाशित: १४ चैत्र २०७८ ०६:०८ सोमबार