७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

क्यान्सरले खोसिएको ममता

विश्व क्यान्सर दिवस केही समयअघि सकियो। क्यान्सरले विश्वलाई नै आफ्नो चपेटामा समेट्दै लगिरहेको छ। विश्वभरिका मानव समाज क्यान्सरसँग जोगिने उपाय, सतर्क रहने अभियानमा एकजुट भई लागिरहेको छ।

क्यान्सरबाट हामी नेपाली पनि अछुतो छैनौँ, दिन प्रतिदिन बिस्तारै यसको सिकार हुँदैे गइरहेका छौँ। नेपालमा क्यान्सरको प्रभाव कति बढ्दै छ भन्ने अनुमान क्यान्सर अस्पताल थपिँदै जानु र रोगीको संख्या दिनानु–दिन बढ्दै जानुबाट लगाउन सक्छौँ। यसको उपचार महँगो छ, त्यसैले आर्थिकभार पर्छ। उपचारका क्रममा स्वयं रोगीलाई मानसिक तनाव हुन्छ, परिवारको सुखशान्ति यसले कतिखेर खोसेर लैजान्छ भन्ने पत्तै हुँदैन।

समयसँगै हामीले आफ्नो आर्थिकस्तर उकास्न सकौँला तर परिवारको सदस्यको जुन बहुमूल्य जीवन हामी गुमाउँछौँ, त्यो फेरि पाउन सक्दैनौँ। क्यान्सरले मेरो परिवारको सदस्य पनि खोसेर लग्यो।

‘मामुले छिटै फर्केर आउँछु भन्नुभएको थियो, आउनु नै भएन,’ दिवंगत आमाको फोटो हेर्दै पाँच वर्षकी नातिनी आरुषीको यो प्रश्नले बुवा निरुत्तर हुनुभएछ, यो कुरा मलाई भन्दै गर्दा पनि बुवाको आँखा रसाइरहेका थिए। यी अबोध बालिकालाई कसरी सम्झाउने कि अब तिम्री आमा फर्केर आउने छैनन्।  

कुनै चलचित्रको भावुक दृश्यझैँ लाग्ने यो कथा मेरो घरको वास्तविकता बन्न पुगेको थियो। आमाको ममता के हो भनी राम्ररी बुझ्न नपाउँदै मेरी सानी भदैनी आरुषीले आमा गुमाइन्, स्तन क्यान्सरले आफ्नी आमा बितेको केही समयपछि आरुषीले तस्बिर हेर्दै हजुरबुवासँग आमाका बारेमा साधेकी थिइन्।

घरकी एक मात्र बुहारी, भर्खरकी एक सानी बालिकाकी आमा, मेरी भाउजूलाई क्यान्सरले चुँड्यो। अस्पतालबाट भाउजूको पार्थिव शरीरलाई सिधै आर्यघाट लगिएको थियो। यता घरमा उनकी छोरी स्कुल जान तयार हुँदै थिइन्, उताबाट खबर पाएलगत्तै हामी रुन पनि सकेनौँ, ती अबोध बालिका मेरी सानी भदैनीको अगाडि। मैले उसलाई फकाउँदै भनेँ, ‘नानु, आज स्कुल नजाऊ है ! ठूलो फुपूको घरमा जाऊ ल!’

मेरो कुरा सुनेर खुसी भई उफ्रँदै भनिन्, ‘सानो फुपू! म माम पनि उतै खान्छु।’ दिदीले आर्यघाटका लागि आवश्यक सामान ब्यागमा राख्दै थिइन्, आँखा छल्दै रुँदै मलाई सुस्तरी भनिन्, ‘नानी बच्चाको भोटोको तुना एउटा निकालिदेऊ बच्चाको लुगाको तुना आमाको छातीमा राख्नुपर्छ भन्छन्।’

सानो परिवार हाम्रो। बुवाआमा, एक दिदी, एक दाइ र म। मेरी दिदी पेसाले स्वास्थ्यकर्मी, दुई छोरीकी आमा। म बाल्यकालदेखि मामाघरमा बस्ने गर्छु । दाइको बिहे भएको धेरै भएको थिएन। मेरी सुजाता भाउजू बिहेअघि काम गर्नुहुन्थ्यो, छोरीको जन्मपछि बच्चाको रेखदेखका लागि काम छाडी घरमै बस्न थाल्नुभएको थियो। भाउजू निकै सुशील, हँसिली। उहाँलाई घर निकै प्यारो लाग्ने, केश शृंगारमा उहाँको विशेष रुचि थियो। मेरी भाउजू मलाई तब फोन गर्नुहुन्थ्यो, जब दाइलाई कुनै विशेष कुराका लागि राजी गराउनुपथ्र्यो।

म र मेरो दाइबीच उमेरमा केही वर्षको मात्र अन्तर छ। मलाई केही सम्झाउनुपरेमा वा मेरो कुरामा असहमति भएमा दाइले मलाई ‘बच्चा’ भनेर सम्बोधन गर्छन्। म दाइलाई ‘तिमी’ भनेर सम्बोधन गर्छु। सुत्केरी बेला सुजाता भाउजूलाई कुनै स्वास्थ्य समस्या थिएन। आरुषी जन्मँदा अलि अस्वस्थ भएकाले उहाँको दिनरात छोरीको स्याहारसुसारमै बित्न थालेको थियो। चार वर्षकी भएपछि आरुषी पूर्णरूपमा स्वस्थ भइन्।

त्यसै वर्ष दशैँका बेला आरुषीले मलाई भनिन्, ‘सानो फुपू ! आज मामाघर जाँदा हामी बाइकबाट लड्यौँ नि!’ हेर्दा उनी सामान्य नै देखेपछि मैले दाइलाई सोधेँ, ‘दाइ, तिमीहरू लड्यौ रे! होइन किन?’

दाइले सामान्य रूपमा जवाफ दिए, ‘अँ हो, घरमा बाआमाले चिन्ता गर्नुहोला भनेर नभनेको, मलाई र बच्चालाई ठीक छ। तिम्रो भाउजूले हातखुट्टातिर अलि दुख्यो भन्दै थिइन्।’ भाउजूबाट पनि उस्तै जवाफ पाएँ। यो घटना भएको हप्ता दिनपछि अचानक भाउजूले फोन गर्दै भन्नुभयो, ‘बहिनी! तपाईंको दाइ कति डराएको सम्झाउनुुस् न!’

जब दाइको डरको कारण सुनेँ, म झन् डराउन पुगेँ। त्यस दिन लड्नु भएर भाउजूको दुखाइ सन्चो नभएपछि चिकित्सकलाई देखाउने क्रममा स्वास्थ्य परीक्षण गरियो। चिकित्सकले केही परीक्षणपछि भाउजूलाई क्यान्सरकोे शंका गरेका थिए, जुन सही साबित हुन पुग्यो।

भाउजूलाई स्तन क्यान्सर भयो। अझ भाउजूको स्तन क्यान्सर चौथो चरणमा पुगिसकेको थियो। यो अवस्थामा बिरामीको बाँच्ने अवधि लगभग पाँच वर्ष हुने गर्दछ। चिकित्सकका अनुसार भाउजूको क्यान्सर फैलिएर घाँटीसम्म पुगिसकेको रहेछ। चिकित्सकले भाउजू केही वर्ष मात्र बाँच्ने कुरा बताएपछि हामी स्तब्ध भयौँ। दाइले आफूलाई सम्हाल्न सकेनन्, मलाई बाँच्न मन छैन भन्दै दाइ निकै रोए। भाउजूलाई क्यान्सर भएको कुराले दाइलाई निकै आघात पुगेको थियो।

‘दाइ, तिमी हिम्मत नहार है, तिमी हार्‍यौ भने हामी सबै हार्नेछौँ,’ मैले दाइलाई भनिरहन्थेँ। भाउजूलाई स्तन क्यान्सर भएको जानकारी त दिएका थियौँ, तर क्यान्सर कुन चरणमा छ भन्ने बताएका थिएनौँ। उहाँलाई डराउन र उपचारपछि निको हुन्छ भनेका थियौँ। उहाँ विचलित हुनुभएन।

‘म ठीक छु,’ जीवनको अन्तिम समयसम्म भाउजूको प्रतिक्रिया यही थियो। भाउजूको रिपोर्ट हामीले अन्य क्यान्सर विशेषज्ञलाई पनि देखायौँ, सबैबाट एउटै उत्तर पायौँ– क्यान्सरमध्ये उपचारपछि पूर्ण रूपमा निको हुने स्तन क्यान्सर हो। यदि चौथो चरणमा पुगेमा बिरामीको बाँच्ने समय अवधि कम हुँदै जान्छ।  

जीवन कसैको पनि निशिचत छैन, एक दिन अवश्य छाडेर जानैपर्छ तर यसरी आफ्नो परिवारको सदस्यले आफूलाई छिटै छोडेर जाँदै छ भने कल्पनाले मात्र मानसिक रूपमा विचलित गराउँछ। त्यसमाथि एउटी सानी बच्चाकी आमा, भर्खरकी मेरी भाउजू। आफूलाई स्तन क्यान्सर भएको थाहा भएर पनि उहाँले मानसिक रूपमा आफूलाई निकै सम्हाल्नुभएको थियो। परिवारलाई ध्यान दिने, विशेष रूपमा दाइलाई उहाँले विचलित हुन दिनुभएन।

भाउजूको उपचार तुरुन्तै सुरु गरिहाल्नुपर्ने हुनाले काठमाडौंस्थित बिएन्डबी अस्पतालमा भर्ना गरी किमो थेरापी दिइयो। सुरुका केही दिन भाउजू अस्पतालमा रातको समयमा बस्न मान्नुभयो। बच्चाको चिन्ता, आमाको ममता— जति पीडा भए पनि ‘ठीक छु’ भन्दै उहाँ मुस्कुराउनुहुन्थ्यो, तर उहाँले रातमा अस्पतालमा सकेसम्म बस्न नपरोस्झैँ गर्नुहुन्थ्यो।

भनिन्छ नि, दिदी आमा समान हुन्छिन्, भाउजूको दिदी पनि भाउजूका लागि आमाको प्रतिरूप नै थिइन्, दिन रात भाउजूलाई आमा बनेर स्याहारिन्।  

बिएन्डबी हस्पिटलमा ६ महिना उपचारपछि मेडिसिटी अस्पतालमा थप उपचार गरायौँ। भाउजूको अगाडि दाइ सामान्य रहने प्रयास गर्थे, तर दाइको मानसिक पीडा म व्यक्त गर्न सक्दिनँ। आफ्नो जागिरसँगै उनी भाउजूको उपचारका लागि रातदिन दौडिए। निको हुने आशामा हरसम्भव प्रयास गरे। जति–जति समय बित्दै गयो, भाउजू गल्दै जानुभयो।

भाउजूले बिस्तारै दाइलाई घरको कामकाज सिकाउन थाल्नुभयो। विशेष रूपमा खाना बनाउन सिकाउनुभयो। आफू स्वस्थ रहुन्जेलसम्म भाउजूले आफ्नी छोरीको सम्पूर्ण काम आफैँ गर्नुहुन्थ्यो, उहाँलाई यसमा अपार आनन्द लाग्थ्यो। जति नै रोके पनि भाउजू आफैँ छोरीलाई लिन स्कुल जानुहुन्थ्यो, होमवर्क गराउँनुहुन्थ्यो, हरेक दिन फरक ढंगमा आफ्नी छोरीको कपाल बनाइदिने गर्नुहुन्थ्यो।

आज भाउजूले यो संसार छाडेको दुई वर्ष नाघ्यो। भाउजू बितेपछि दाइको दिनचर्या बदलिन पुगेको छ। दाइले बिहान खाना बनाएर आफ्नी छोरीलाई खुवाउँछन्। आमाले झैँ छोरीको कपाल कोरिदिन्छन्। अफिसबाट फर्केलगत्तै हत्त न पत्त छोरीलाई होमवर्क गर्न सघाउँछन्। बुवाआमाको हेरचार गर्छन् र जिम्मेवारी अनि व्यस्ततामा आफ्नी जीवन संगिनी गुमाएको पीडालाई बिर्सने प्रयास गर्छन्।

कोही पनि जानाजान रोगको सिकार हुँदैन, मेरी भाउजूले आफ्नो स्तनमा स–साना गिर्खा आउँदा र बिस्तारै स्तनको रङ बदलिँदै जाँदा पनि ती लक्षणलाई सामान्य रूपमा लिन पुग्नुभयो। जन्मँदा छोरी अलि अस्वस्थ भएकाले उहाँको ध्यान छोरीको स्याहारसुसारमै थियो। आफु र आफ्नो स्वास्थलाई बिर्सन पुग्नुभयो, जसको हामीले ठूलो मूल्य चुकायौं।

आज मेरी ती सानी भदैनी आठ वर्षकी भइन्, पहिलेझैँ आफ्नो आमा नफर्कनुको कारण सोध्न छाडिन् तर टिभीमा वा कहीँ कुनै आमाले आफ्ना छोराछोरीलाई माया गरेको देखिन् भने चुपचाप गहभरि आँसु पार्छिन्। हामी उसलाई औधि माया गर्छौं, खुसी राख्ने हरसम्भव प्रयास गर्छौं, सायद आमाको ममता आमाको न्यानो काखको कमी सधैँ रहिरहन्छ।

प्रकाशित: २८ फाल्गुन २०७८ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App