मानव जीवनको सुनौलो बिहानी अर्थात् बाल्यकाल जीवनपर्यन्त सिकाइको पनि सुरुवाती चरण हो। यसैले बाल्यकाललाई भाँडाको आकार दिनका लागि तयार गरिएको काँचो माटोसँग पनि तुलना गरिन्छ। शरीर र मनको संरचना निर्माण हुने समय भएकाले यतिखेरका अनुभव र अनुभूतिले बालबालिकाको समग्र जीवनको व्यक्तित्व तय गर्दछन्।
मनोवैज्ञानिक फ्रायडले बाल्यकाललाई विभिन्न चरणमा बाँडेर त्यतिखेर उसले प्राप्त गरेको वातावरणका आधारमा उसको समग्र जीवनको पूर्वानुमान गर्न सकिने तथ्यलाई अगाडि सार्दै व्यक्तित्व निर्माण यसै समयमा सम्पन्न हुने तथ्य प्रस्तुत गरेका छन्। अन्य सामाजिक तथा संरचनात्मक मनोवैज्ञानिकले समेत बाल्यकालमा सिकेका कुराले व्यक्तिलाई जीवनभर निर्देश गरिरहने भएकाले यस समयलाई निकै महत्त्व दिएका छन्। जसरी कुनै पनि संरचनाको जग वा आधार कमजोर भयो भने पूरै संरचना कमजोर हुन्छ, त्यसैगरी बाल्यकालमा शारीरिक र मानसिक विकासका लागि आवश्यक पर्ने तत्त्व पर्याप्त रूपमा प्राप्त हुन नसकेमा वा कमसल चिज प्राप्त भएमा बालबालिकाको जीवन संरचना कमजोर बन्छ। कमजोर जगमा निर्माण भएको बालबालिकाको व्यक्तित्व जीवनकालमा दुर्घटनामा पर्ने तथा असामाजिक र असामान्य गतिविधिमा अलमलिने सम्भावना रहन्छ।
बाल्यकाल मानव जीवनको सबैभन्दा संवेदनशील अनि सिर्जनशील समय हो। अभिभावक, छरछिमेकी तथा सामाजिक घटनाक्रमको अनुकरण गर्दै व्यवहार गर्न सिक्ने उमेर पनि भएकाले बाल्यकालीन अनुभवले बालमनोविज्ञानमा गम्भीर एवं अमीट छाप पारेका हुन्छन्। केही गुण जैविक आमाबाबुबाट वंशानुगत रूपमा प्राप्त गरे पनि धेरैजसो व्यवहार र व्यक्तित्वको समेत परिवार र समाजबाट सिकेर निर्माण हुने भएकाले बाल मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने क्रियाकलाप अभिभावकद्वारा प्रदर्शित हुनु आवश्यक हुन्छ। मोडलिङ र अनुकरणबाट सामाजिक व्यवहार तथा भाषा सिक्ने भएकाले बालबालिकाका निकट रहने व्यक्तिले आदर्श व्यवहार गरे मात्र भविष्यमा असल व्यक्ति बन्ने गुण बालबालिकाले ग्रहण गर्दछन्, अन्यथा बाल्यकालमा खराब व्यवहारमा अभ्यस्त भएमा सो बानी परिवर्तन गर्न निकै कठिन हुन्छ।
सूचना र प्रविधिमा भएको तीव्र विकासले सामाजिक मूल्य, मान्यता, रहनसहन र क्रियाकलापमा समेत प्रत्यक्ष प्रभाव परेको छ। परम्परागत रूपमा मानिदै आएका चालचलन र रीतिरिवाजमा पनि पश्चिमी सभ्यताका कारण दिनानुदिन परिवर्तन भइरहेको छ। संयुक्त परिवारबाट एकात्मक पारिवारिक ढाँचा तथा ग्रामीण परिवेशबाट नगरोन्मुख वा सहरी परिवेशमा प्रवेश गर्दा आमाबाबुले छोराछोरीलाई दिने माया, ममता र अभिभावकीय भूमिकामा समेत परिवर्तन आएको छ। आर्थिक सम्पन्नतालाई सबैभन्दा महत्त्व दिने आजको समाजले सिर्जना गरेका विभिन्न किसिमका जटिलताको प्रभाव स–साना बालबालिकामा समेत पर्न थालेको छ। पुस्तान्तरण कारण बाबुआमा र छोराछोरीबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन।
बालबालिकाको शिक्षादीक्षाका लागि आमाबाबुले अथक् मेहनत र परिश्रम गरे पनि उनीहरूको इच्छाअनुसार छोराछोरीको आचरण र व्यवहार नहुँदा आमाबाबुमा उदासीनता र चिन्ता बढ्दै गएको पाइन्छ। छोराछोरीलाई राम्रो शिक्षादीक्षा, उपयुक्त वातावरण र आर्थिक रूपमा समृद्ध बनाउने ध्येयमा लागेका बाबुआमा आफूले भोगेका दुःखलाई तुलना गर्दै प्रशस्त मात्रामा सुविधा दिँदा पनि छोराछोरीबाट राम्रो उपलब्धि हासिल गर्न नसकेकामा चिन्तित देखिन्छन्।
यस्तै अवस्थामा बालबालिकासँग कसरी व्यवहार गर्ने र उनीहरूको मनोविज्ञानलाई बुझेर के कसरी काम गराउने वा अनुशासन र परम्परागत कुरा सिकाउने भन्ने बारेमा धेरै अभिभावकमा अन्योलता देखिन्छ। परम्परागत र आधुनिक सभ्यताका बीचको संक्रमण अहिलेको बाबुआमा पुस्ता प्राचीनता र आधुनिकताको पुलका रूपमा रहेको छ भने छोराछोरीको नयाँ पुस्ताले बाबुआमालाई केही पनि नजानेको र केही पनि नबुझ्ने पुस्ताका रूपमा लिने गरेको छ। यस्तो अवस्थामा पारिवारिक सम्बन्धलाई सुमधुर बनाउँदै बालबालिकाको व्यक्तित्व निर्माणमा सहयोग पुर्याउने शैक्षिक सामग्रीको आवश्यकता खड्किएको छ।
समग्र राष्ट्रका भविष्यका आधारका रूपमा रहेका बालबालिकाले बाल्यकालमा स्वस्थकर खानेकुरा, राम्रो वातावरण तथा असल संस्कार प्राप्त गर्न सकेनन् भने उनीहरू जीवनभर कुहिरोको काग बन्ने सम्भावना रहन्छ। यसैले जीवनको जरो बाल्यकालमा राम्रो मलजल प्रदान गर्न सकेमात्र भावी वृक्ष बलियो र उन्नत बन्ने अपेक्षा गर्न सकिन्छ। बालबालिकाका सन्दर्भमा यस प्रकारको मल भन्नाले असल संस्कार, आचरण तथा आनीबानी हुन्। नानीदेखि लागेको बानी कहिले नजाने भन्ने नेपाली लोक भनाइले पनि बाल्यकालमा सिकेका कुरा जीवनसँग अन्योन्याश्रित भई संस्कारका रूपमा रहने भएकाले हटाउन गाह्रो हुने सत्यलाई सङ्केत गर्दछ। जीवनको पछिल्लो समयमा बाल्यकालीन प्रवृत्तिभन्दा नितान्त फरक रूपमा परिवर्तन हुने व्यक्तिहरू निकै कम छन्।
शैशव कालदेखि बालबालिकालाई के–कस्ता कुरा सिकाउने र उनीहरूसँग कस्तो व्यवहार गर्ने भन्ने विषयमा केन्द्रित भएर लेखिएको किताब ‘बालबालिकासँग कस्तो व्यवहार गर्ने?’ हालै प्रकाशित भएको छ। मनोसामाजिक परामर्श तथा बालमनोविज्ञानका क्षेत्रमा लामो समयदेखि काम गरेका प्रेमनारायण भुसालद्वारा लेखिएको यस पुस्तकमा स–साना बालबालिकालाई अनुशासित बनाउनका लागि आमाबाबुले गर्नुपर्ने काम तथा बालबालिकाले आमाबाबुबाट गर्ने अपेक्षा र बालबालिकाको सङ्गतलाई कसरी व्यवस्थित गर्ने विषयमा अनुसन्धानमा आधारित भई तथ्यपूर्ण विश्लेषण गरिएको छ। पछिल्लो समय बजारमा मनोविज्ञानका विभिन्न पुस्तक उपलब्ध भए पनि तीमध्ये धेरैजसो पश्चिमी समाजलाई आधार मानेर निर्माण गरिएका सिद्धान्तका हुबहु व्याख्यामा आधारित पाइन्छन्।
मनोवैज्ञानिक पक्षलाई सम्बोधन गरे पनि नेपाली परिवेशका बालबालिकाका रुचि, व्यवहार, चिन्तन र चाहनालाई यथार्थ रूपमा ती पुस्तकले सम्बोधन गर्न सकेका छैनन्। मनोविद् प्रेमनारायण भुसालले लेखेको यस पुस्तक नेपाली माटो, परिवेश र संस्कृतिसँग अनुकूल एवं मनोवैज्ञानिक तथ्यमा आधारित रहेकाले हरेक अभिभावकका लागि निकै उपयोगी देखिन्छ। करिब एक वर्षको अन्तरालमा नेपालका राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन भएका लेखहरूको संकलन प्रस्तुत पुस्तकाकार कृति २०५ पृष्ठको आयाममा विस्तारित छ।
तीन खण्डमा विभाजन गरिएको यस पुस्तकको पहिलो खण्डमा बालविकास र बाल मनोविज्ञानलाई समावेश गरिएको छ। बालबालिकाको जन्मदेखि किशोरावस्थासम्मका विभिन्न क्षणहरूमा आवश्यक पर्ने मार्गनिर्देशन यस खण्डका ३३ वटा आलेखका माध्यमबाट सम्बोधन गरिएको छ। बालबालिकालाई स्वस्थ मानसिक अवस्थामा कसरी हुर्काउने, उनीहरूलाई कुन उमेरमा विद्यालय पठाउने, बालबालिकाको शैक्षिक उपलब्धिलाई कसरी लिने तथा केकस्ता घरेलु काममा उनीहरूलाई सहभागी गराउने भन्ने विषयमा सरल र सरस वर्णन यस खण्डका पाठहरूमा भएको छ।
बच्चाले सबैभन्दा बढी आफ्ना आमाबाबुलाई विश्वास गरेको हुन्छ। यसैले संसारको सबैभन्दा सुरक्षित स्थल आमाबाबु भएको ठाउँलाई मानेको हुन्छ। बच्चाको आफ्नै संसार हुन्छ, जहाँ चकचक गर्ने, झगडा गर्ने वा गल्ती गर्ने प्रशस्त सम्भावना रहन्छ। आफ्ना साथी वा अन्य व्यक्तिले उसको भावना नबुझिदिँदा उसका मनमा चोट पनि परेको हुन सक्दछ। जतिसुकै अप्ठेरोमा परेको भए पनि आमाबाबुले निःसर्त आफूलाई स्वीकार गरी सहयोग र सुरक्षा दिन्छन् भन्ने सोच उसमा रहेको हुन्छ तर अन्य व्यक्तिका अगाडि झपार्दा वा गाली गर्दा उसको ‘इगो’मा ठूलो क्षति पुग्दछ। यसले उसलाई अन्तर्मुखी बनाउने, खेलकुद तथा समूहकार्यमा रुचि नलाग्ने, चुनौती लिन नखोज्ने र घर छोडेर भाग्ने अवस्थामा समेत पुर्याउँछ।
आवेशमा आत्मघाती र आत्महत्याजन्य घटना समेत घटाउन सक्ने भएकाले असल अभिभावकले अरूका सामुन्ने आफ्नो बच्चालाई अपमानित महसुस हुने कुनै काम गर्नु हुँदैन। आकाङ्क्षा अनुसारको उपलब्धि वा व्यवहार नभएमा पनि सम्पूर्ण कुरा बिर्सेर मात्र आफ्नो सन्तानका रूपमा स्वीकार गरी बच्चाप्रति अझ बढी स्नेह र ममता प्रदर्शन गर्नुपर्दछ। उसलाई एक्लै राखेर मात्र खराब कामका असरका बारेमा सम्झाउनुपर्दछ। जसले गर्दा बच्चामा गल्ती स्वीकार गर्ने तथा हरेक कामबाट राम्रो कुरा सिक्ने बानीको विकास हुन्छ भन्ने मनोसामाजिक तथ्यलाई निकै रोचक तरिकाले प्रस्ट पारिएको छ। पूर्वीय संस्कृति र मनोवैज्ञानिक अध्ययनले पुष्टि गरेका तथ्यका आधारमा ससाना क्रियाकलापबाट बालबालिकाको असल बानीविकास गर्न सकिने व्यावहारिक पक्षको उद्घाटनमा पहिलो खण्ड निकै सफल देखिन्छ।
पुस्तकको दोस्रो खण्डमा कक्षाकोठा व्यवस्थापन र बाल सिकाइ शीर्षकमा ९ वटा लेख समावेश गरिएका छन्। विद्यालयहरू पाठ्यपुस्तक घोकाउने ठाउँका रूपमा परिभाषित हुन थालेको वर्तमान सन्दर्भमा विद्यालयमा बालमैत्री वातावरणको सिर्जना गर्नुपर्ने तथा बालबालिकालाई खुसी हुन सिकाउने स्थलका रूपमा विद्यालय रहनुपर्ने कुरालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रयोग र अभ्यासका सापेक्ष्यतामा स्पष्ट पारिएको छ। प्रविधिको प्रयोग, कक्षाकोठाको व्यवस्थापन, विद्यार्थीलाई दिइने गृहकार्य र अनुशासनका नाममा विद्यालयमा सिर्जना गरिने त्रासपूर्ण वातावरण र यसले पार्ने मानसिक प्रभावजस्ता विषयलाई यस खण्डका पाठ÷लेखहरूमा समावेश गरिएको छ।
पुस्तकको तेस्रो खण्ड समसामयिक घटनामा आधारित देखिन्छ। महामारी सिर्जित समस्या र बालबालिका शीर्षकमा पाँचवटा लेखका माध्यमबाट कोरोना महामारीको समयमा बालबालिकालाई मानसिक रूपमा कसरी सुरक्षित राख्ने र उनीहरूको सिर्जनशीलता र सिकाइलाई कसरी टेवा पुर्याउने भन्ने विषयहरूयस खण्डमा समावेश गरिएका छन्। पुस्तकको अध्ययनपश्चात् पाठकले आफ्नो मानसिक स्वास्थ्यको सुरक्षा तथा बालबालिकालाई कुलतबाट बचाउन अपनाउनुपर्ने सावधानीबारे राम्रो ज्ञान र सिप आर्जन गर्न सक्ने देखिन्छ। सरल र सुबोध भाषाशैलीमा लेखिएको प्रस्तुत पुस्तक समग्रमा ४७ वटा आलेखकाथुँगामा उनिएर बनेको बहुमूल्य मालासमान छ। बालमनोविज्ञानमा रुचि राख्ने जोकोही तथा विशेषतः अभिभावक र शिक्षकका लागि बालमनोविज्ञानको अमूल्य सामग्रीका रूपमा प्रस्तुत पुस्तक रहेको छ।
अभिभावक र शिक्षकका लागि बालमनोविज्ञानको विशेष सामग्रीकारूपमा प्रकाशन गरिएको यस पुस्तकले शीर्षकमा भनिएजस्तै बालबालिकासँग गर्नुपर्ने व्यवहारका बारेमा सूक्ष्म रूपमा विश्लेषण गरेको छ। पौरस्त्य संस्कृतिले निर्माण गरेका महत्त्वपूर्ण मूल्य तथा पश्चिमा मनोवैज्ञानिक अध्ययनहरूले प्रमाणित गरेका तथ्यको उचित व्यवस्थापन र तथ्यका जगमा निर्माण गरिएको प्रस्तुत पुस्तक हरेक अभिभावक र शिक्षकका लागि पठनीय सामग्रीका रूपमा रहेको छ।
पुस्तकका लेखक मनोवैज्ञानिक परामर्श कार्यमा लामो समयसम्म संलग्न रहेकाले उनले परामर्शका क्रममा प्राप्त अनुभव र नेपाली समाजका विशिष्ट पहिचानहरूलाई समेत यस पुस्तकमा समावेश गरेका छन्। उनको यही दीर्घ साधनाका कारण पुस्तकका हरेक पाठहरू पढ्दा पाठक स्वयंलाई परामर्श गरेको महसुस हुन्छ। यस महत्त्वपूर्ण सामग्रीको प्रकाशन सनातन प्रेस बानेश्वरले गरेको छ भने बजार व्यवस्थापन तिलस्मी पब्लिकेसन्स् बागबजारले गरेको छ।
पुस्तक - बालबालिकासँग कस्तो व्यवहार गर्ने?
लेखक- प्रेमनारायण भुसाल
प्रकाशक - सनातन प्रेस, बानेश्वर
मूल्य - रु. ३२५/-
प्रकाशित: २१ फाल्गुन २०७८ ०३:२६ शनिबार