१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

गणनामा छुटेकी ऊ

लघुकथा

टुका देवी पौडेल आचार्य

‘हैन त्यो सन्तुलाई काम गर्न मन छैन कि के हो? आठ बजेसम्म घाटमा नआउने! भोलिदेखि त्यसलाई काममा नआउन भन्नुप¥यो।’धने साहु कड्केर बोल्यो।

‘हैन सर, आज सन्तुको घरतिर जनसंख्या गणना गर्ने मान्छे आउँछन् रे। तिनीहरूसँग नाम टिपाउन बसेकी हो!’ बालुवा चाल्दै गरेकी राममाया विनम्र भावमा बोली।

घाटका मालिक एकफेरो घुमेर हिंडे। मालिक गएको करीब एक घन्टामा सन्तु अपाङ्ग छोरो बोकेर आई धमिलो अनुहार बोकेर।

‘ती मान्छे आए त सन्तु?’ हत्तपत्त सोधी राममायाले।

‘आएनन् नि। कुरिराखें, पल्लो टोलमा आएका रहेछन्। म त्यहीं पुगेर नाम टिपाउन खोजेको, अर्काको टोलमा गएर त्यो भर्न मिल्दैन रे। फर्कें नि म।’ निराश हुँदै बोली सन्तु।

‘अब कहिले आउँछन् रे?’ जिज्ञासु हुँदै सोधी राममायाले।

‘खै दिउँसो आउँछन् होला। हामी त छुट्ने भयौं यसपाला नि। मभन्दा छोराकोसम्म नाम टिपाउन पाए हुन्थ्यो भनेर बसेकी’ निधारमा थुप्रै धर्सा खजमजिए सन्तुका।

‘पालिकामा गएर टिपाए पनि हुन्छ रे नि,मैले सुनेको!’ थाहा पाएझैं बोली राममाया।

भोलिपल्ट सन्तु छोरो बोकेर पालिका पुगी। पालिकामा आफ्नो नाम दर्ता गराउन खोजी। कर्मचारीले उसँग नागरिकता मागे। बिनाबाबुकी उसँग नागरिकता थिएन। फरक्क फर्केर आई।

प्रकाशित: १९ फाल्गुन २०७८ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App