२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

तपाई गधा म झनै गधा

व्यंग्य निबन्ध

कृष्ण प्रधान

‘एटेन्सन प्लिज!’

अब तपाईहरू मोटरबाइक, स्कुटर वा स्कुटी, गाडी वा ट्याक्सीमा नचढ्नुहोला...गधामा चढ्नोस् गधामा।

हुन ता अर्ती र ओखती मिठो हुँदैन भनिन्छ। जुन कुरा सुन्दा तपाईलाई भलो हुन्छ, त्यो कुराले तपाईको कानमा बतास कहिले लाग्दैन। तर, मेरो कुरा मान्नुहुन्छ भने गधामा चढ्ने अभ्यास गर्नोस्।

गधाको क्यारेक्टरबारे कहिल्यै नराम्रो सुन्नुभएको छ? गधा एकदमै शील–स्वाभाव भएको चारखुट्टै जन्तु हो। गधाले न कसैको खति गर्छ न ता अर्काको घरको फूलको बोट वा बारी नै मास्छ। यो एकदमै शान्त हुन्छ। यसलै गधा एउटा यस्तो जन्तु हो जो आउटडोर–इन्डोरमा जहीं पनि सत्कारित हुन्छ। खानेकुरामा पनि यसको कुनै डिमान्ड छैन, पेट भरिञ्जेल खान दिनुपर्छ–सब काम फत्ते गर्छ यसले। यसलाई न घोडालाई जस्तो दाना चाहिन्छ न ता मानिसलाई जस्तो दालभात र रोटी नै चाहिन्छ। न गाडीलाई जस्तो पेट्रोल। यसैले समय अझै छ। तपाई पनि गधामा चढ्ने अभ्यास गर्नुस्। आज अहिल्यै नै गेट रेडी।

तर जे भन्नुस्, तपाईहामी सबै गधा हौं, खाँटी गधा। यसमा भेजालको कुनै प्रश्नै छैन। तपाई पनि गधा, म झनै महागधा। यसबारे हेनतेन केही नभनी के स्पष्टीकरण दिन चाहन्छु भने चामल, दाल र तेलको दाम बढेर कहाँ पुगिसक्यो? चिनीको दामले आकाश छोइसक्यो। रासन दोकानमा कहिल्यै गहुँ हुँदैन ता कहिले चामल ता कहिले मट्टितेल। बल्लबल्ल पाँच किलोग्राम चामल पाउनुभयो भने घरमा ल्याएर असली चामल दुई किलो, बियाँ दुई किलो अनि रोडा एक किलो पाउनुहुनेछ। यसरी रासन दोकानवालले हाकाहाकी डाँका हाल्दा पनि तपाई चूपै लागी बस्नुहुन्छ, होइन हजुर? यसैले तपाई गधा।

तपाई पक्कै गधा। तपाईका छोरालाई नोकरी दिन्छ भनी कुनै नेता महोदयले दामी सुटपिश, कमिज, टाई अनि उनकी श्रीमतीको निम्ति पाँच हजार दामको बनारसी साडी लिएर पनि थप बीस हजार लिएर भोलिपर्सि भनेर टारेर तपाईलाई पन्छाउँदा पनि तपाई चूप। छोराको नोकरी पनि मिन्दु, तपाईको पसिनाको कमाइ पनि मिन्दु हुँदा पनि तपाई चूप। किनभने तपाई साह्रै भद्र अच्चाकाली सोझा मान्छे। काटाकुटी गधाजस्तै। फरक त्यति मात्रै छ गधाका चार वटा खुट्टा हुन्छन्, तपाईका दुई वटा। तपाईको पुच्छर हुन्न; गधाको पुच्छर हुन्छ।

मेहनत गर्ने, रुखोसुखो खाएर दिन गुजार्ने, शिष्टाचारी व्यक्तिहरू झन् महागधा हुन्। तपाईले घरमा श्रीमतीलाई सघाउँदा पनि तपाई गधा, नसघाउँदा पनि तपाई गधा। बिहे गर्दा पनि गधा र नगर्दा पनि गधा। कार्यालयमा गधाजस्तो खट्दा पनि गधा नखट्दा पनि गधा। घूस खाएर काम गर्दा पनि गधा घूस नखाई काम गरिदिंदा पनि गधा।

तपाईलाई राम्ररी थाहा छ, तपाईको देश कति चाँडो अग्रगतिको शिखरमा पुगिसकेको छ। हाम्रो संस्कृति कति पुरानो छ। अझ तपाईलाई यो पनि थाहा छ, हाम्रा मन्त्री महोदयहरू कति सत्यवादी छन्। चारो खानेहरूले नै  फारो भएर देशको बागडोर सम्हालिरहेका छन्। तपाई चैं गधाजस्तो रातदिन खटेर पनि एक मुठी जाउलो जुराउन तपाई अहर्निश पानी बाहिरको माछाजस्तो छटपटिरहनुहुन्छ। तर पनि तपाई शान्त गधाजस्तै। यो तपाईको अभ्यास हो। यसलाई ‘गधाभ्यास’ भनिन्छ।

मलाई एकजनाले सोधेथे, ‘यो देश गधाविहीन कहिले हुन्छ होला?’

मैले तुरुन्तै जवाफ दिएको थिएँ – यो देश नै एउटा गधा हो। यही गधामाथि चढेर नेताहरू, देशका बडेबडे ब्यूरोकट्स, मन्त्रीहरूले तपाई–हाम्रो देशलाई आफ्नो इच्छा अनुसारले दुगुराउनसम्म दुगुराइरहेका छन्।

फेरि प्रश्न उनको–‘देश ता देश नै भैगयो तर तपाई–हामी चैं किन गधा बन्नुपरेको?’

मेरो प्याच्चै जवाफ–देशमा कोही गधा नभए कसरी काम चल्छ हजुर? फाइल कसले खोल्ने? भ्रष्टाचारको आँगनमा बसेर देश चलाउने कसले? गधा छैन भने न समाज न देश। यसैले गधा हुनु अत्यन्तै जरुरी छ। गधा ता हामी हौं–यी हाकिम नेताहरूका निम्ति हामी नै गधा भइरह्यौं भने गधा निमिट्यान्नै हुने प्रश्नै आउँदैन। मेरो जवाफ यस्तै थियो।

तपाई–हाम्रो देश नै गधै–गधाले भरिएको छ। यी गधाहरू संसदतिर निकै देखिन्छन्। संसदको रिमोट पनि यी गधाहरूकै हातम हुन्छ। गधा चूपो लागि बस्ने चारखुट्टे जन्तु। संसदभित्रका यी दुई खुट्टे जन्तु पनि यसै श्रेणीमा पर्छन्। तर, गधा बोल्नु वा कराउनु पायो भने यसले होहल्ला मच्चाउँछ। त्यसलाई बढी मात्रामा अत्याचार भयो भने गधा कराउँछ।

गधाको स्वर खतरनाक पनि हुन्छ। गधा यसरी कराउनुको अर्थ नै हामी दुई खुट्टे गधालाई शिक्षा दान गर्नु हो। अन्याय, अत्याचार देखेर चूपो लागि नबस। कराऊ गतिलै चिच्याऊ प्रतिवादको स्वर कराऊ तर कराई मात्रै नबस। कामधन्धा पनि गर। जुन मतदाताले तिमीलाई छनौट गरी यहाँ पठाएका छन्। उनीहरूबारे पनि सोच। जुन देशका जनता–जनार्दनले तिमीलाई छनौट गर्नमा अपराध गरेका छन् उनीहरूका प्राथमिक आवश्यकताबारे पनि ध्यान देऊ।

गधाले नेता तथा जनता–जनार्दनलाई भन्ने गर्छ,‘साँच्चै कराऊ, त्यो तिम्रो जन्मसिद्ध अधिकार हो तर कराउन कन्ट्रयाक्ट नलिनू। कारण तिमी पनि भोकै मर्छौ अनि तिम्रा लालाबाला पनि। नून, तेल र चामलको सुर्ता गर। हिलो भए हिलामै नत्र सुक्खा चर्ने गर। जसरी म गर्छु, म चर्ने गर्छु। ब्रेडसित मक्खनको ब्याड ह्याबिट छोडे। त्यसले कोलेस्ट्रोल मात्रै बढ्छ। चिनी? डाइबिटिजको डर छैन?’

अब मेरो कुरा। लु बुझ्नुस् मैले किन मेरा गधा सन्तानलाई गधामाथि चढ्ने अभ्यास गर्नोस् भनेछु ता! टिफिन बक्स, पानीको बोतल, ब्रिफकेस सबै बोकेर गधाको पिठ्यूँमा चढ्नुस्– ठिक समयमै कार्यालय ता पुग्नै पर्‍यो। गधामाथि चढेर हिंड्दा कुनै झैझमेला छैन, न जामको डर न ता हेलमेट लाउने झञ्झट। तर, गधा दुई वटा हुनुपर्‍यो। ठूलो गधा तपाई लानुस् अनि सानो गाँडलाई चाहिं छोराले स्कूल लिएर जावोस्। ढुक्कैले गन्तव्यमा पुगिन्छ। तपाई गधामाथि चढ्न थालेपछि गधाको डिमान्ड वा पोपुलरिटी बढ्नेछ। सायद तपाईकै देखासिकी गरेर सरकारले ‘ब्याघ्र परियोजना’ जस्तै ‘गधा परियोजना’ आरम्भ गर्नेछ अनि देश ह्यान्डसम–ह्यान्डसम, चिल्ला–चिल्ला गधाहरूले भरिनेछन् अनि तपाई–हाम्रो देश ‘गदर्भ देश’मा परिणत हुनेछ।

जय गधा।

प्रकाशित: १६ फाल्गुन २०७८ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App