रोशन पराजुली
ऊ आफ्नै परिवेशमा गन्तव्य खोजमा लगातार लम्किरह्यो। कहिले दिन कहिले साँझ अनि रात र बिहान पछ्याई लम्किरह्यो।
उसको खोज यथार्थमै छ, न दायाँ न बायाँ मात्र सिधा तर सुस्तरी आफ्नै चालमा एकनास लम्किरह्यो।
कहिले हावाका झोका महसुस गर्छ तर त्यो हावा पनि म आफै हुँ भन्छ अनि लम्किरहन्छ।
कतै रुखबिरुवाका हाँगा हल्लिन्छ मन्द गतिमा त कहिले जोडजोड आँधीबेहरीझैं मडारिएर अघि बढ्छ अनि शान्त हुन्छ। र पनि ऊ आफै मन्दमन्द मुस्कुराउँदै अघि बढ्छ फेरि उहीं ठाउँमा आइपुग्नु न छ उसलाई।
कतै अलमल गर्दैन तर ऊ केही खोजी हिंड्छ केही पाउँछु कि कतै भन्दै मन्दमन्द गतिमा।कहिलेकाहीं सम्झाउँछ पनि ऊ अब ढिला नगर पनि भन्छ र चाँडो पनि नगर भन्छ तर कहिले चाँडै गर ढिला गर्दा पछुताउनु पनि पर्ला भन्न छुटाउँदै ऊ।
हो,यसरी नै उसले सबैतिर सचेत गर्दै ध्यान दिन्छ अनि आफै गर्व पनि गर्छ र रवाफ लगाउँछ, ‘भन्छ, म जे पनि गर्न सक्छु। होसियार बस होसियार बस। थाहा छ म को हुँ! चिन्या छ, म त समय हुँ समय!
प्रकाशित: १५ फाल्गुन २०७८ ०७:३४ आइतबार