यस पुस्तकको अन्तिम पङ्क्ति लेखिसकेपछि म केही समय निःशब्द बनेको छु। आफ्नै पुराना स्मृतिहरूसँग मौन संवाद गरिरहेको छु। मेरो अगाडि गाउँको स्कुलमा अन्तिम बेन्चमा बसेको आफ्नै कलिलो छाया फर्केर आउँछ र प्रश्न गर्छ-तिमीले गोठालो जाँदा, खेतालो जाँदा, मेलापर्वमा जाँदा सानो कपीमा टिपोट गरेका सुदूर जङ्गलका शब्दहरूप्रति न्याय गर्यौ त?
मेरो अगाडि घाँस–दाउराको भारी बोकेका, शरीरभरि धुलो र हिलो लागेका, नाङ्गो कुर्कुच्चाबाट रगत बगिरहेका, च्यातिएको मैलो लुगाभित्र जीवनका सुकिला दुःखहरू छोपेका, निधारबाट तरतरी पसिना चुहाइरहेका तर जस्तोसुकै कठिनाइमा पनि मुस्कुराउन नबिर्सेका अनेकौँ प्रियजनहरूका धमिला छायाहरू फर्केर आउँछन् र प्रश्न गर्छन्-तिमीले हाम्रो आत्माको आवाजलाई जोगाएर राख्न सक्यौ त?
यी प्रश्नहरू मेरा लागि कुनै विश्वविद्यालयका प्रश्नभन्दा कठिन छन्। उत्तरहरू खोज्दै जाँदा आधा जिन्दगी बितेछ। अहिले सम्झिन्छु-सैँतीस वर्षअघि म सत्र वर्षको एउटा सोझो र अन्तर्मुखी किशोर थिएँ। एकान्तमा कविता लेखेर जङ्गलका रुखहरूलाई सुनाउँथेँ। जङ्गलले नै मलाई आफूलाई खोज्न सिकायो। सपनाहरू पछ्याउँदै जाँदा जरा र जमिनलाई बिर्सनु हुँदैन भन्ने सत्य सिकायो। यो पुस्तक मेरो आफ्नै जरा र जमिनको खोजी हो।
गाउँबाट सदरमुकाम आएर भोजपुर क्याम्पसमा पाइला टेकेपछि आफ्नो वरिपरिको सानो संसारप्रति मेरो मनमा थुप्रै जिज्ञासाहरू जन्मिए। आफैले बुट्टा हानेको झोलामा ‘भोजपुरको सेरोफेरो: कविताको खोजी’ भन्ने अधुरो वाक्य लेखेर म गाउँका कुनाकन्दरामा कविताको इतिहास खोज्दै हिँड्न थालेँ। धेरै ठाउँमा बूढापाकाहरू भन्ने गर्थे-यो माटोमा इतिहास छैन बाबू! पानाहरू सबै रित्तै छन् ! तर मैले हिम्मत नहारिकन हिँड्ने र हिँडिरहने सङ्कल्प गरेँ।
मैले कुल्चिएको धूलोमा शब्दको इन्द्रेणी छोपिएको छ कि? पिखुवा र हङ्ग्रायो खोलाको बगरमा कविताको उज्यालो पुरिएको छ कि? ट्याम्के र मैयुङको छातीमा अग्रजका पदचिन्ह भेटिन्छन् कि? प्रश्नहरूको अग्लो पिरामिडमाथि उभिएर रित्तो क्षितिजलाई हेरिरहेँ। यो भूमिमा हाम्रा पुर्खाहरूको एउटा समृद्ध इतिहास अवश्य नै हुनुपर्छ। खोज्नुपर्छ- भेटिन्छ। भेटिन्छ-त्यसैले म खोज्छु। यही विश्वासको बलियो लौरो टेकेर अनेकौँ उकालीहरू चढेँ। अनेकौँ ओरालीहरू झरेँ।
स्नातक तहको औपचारिक अध्ययनका सिलसिलामा भोजपुरका पत्रपत्रिकाहरूको इतिहास विषयमा एउटा लघुशोधपत्र तयार पारेँ। अनि बिस्तारै भोजपुरले पनि मेरो सपनालाई विश्वास गर्यो। मेरो बाइस वर्षे युवा मनमा नयाँ जोस र नयाँ आत्मविश्वास पलायो। याकुदेखि दिल्पासम्म, दोभानेदेखि दुम्मानामम्म फकिर जस्तै बनेर घुम्दाघुम्दै कसैले मलाई ज्ञान दियो-भोजपुरका साहित्यकारहरू त लाखापाखा लागिसके ! इतिहास खोज्न काठमाडौँ जाऊ!
अनि जङ्गलबाट उडेको ढुकुर बनेर म भोजपुरबाट काठमाडौँ आएँ। ठेगाना थिएन। फेला पार्नु थियो भोजपुरका अग्रज साहित्यकारहरूको गुँड। काठमाडौँको धूलोमा भोजपुरका पाइलाहरू चिन्न सकिनँ। खोजेँ। फेरि खोजेँ। चौबाटोमा उभिएर सोधेँ-यो राजधानीमा भोजपुरका शब्दशिल्पीहरू कहाँ बस्छन्? काठमाडौँले मेरो चप्पल मात्र हेर्यो। कसैको ठेगाना बताएन।
निकै दिनपछि मुस्किलले भोजपुरका केही प्रसिद्ध कवि र अनुसन्धाताहरू फेला पारेँ। भनेँ- म तपाईँहरूकै गाउँले भाइ हुँ। भोजपुरको साहित्यको इतिहास लेख्न तपाईँहरूलाई खोज्दै आएको छु। सूचना दिएर सहयोग गर्नुस्। अग्रजहरूले हार्दिक सहयोग गर्नुभयो। काठमाडौँबाटै ‘भोजपुरको साहित्यिक रूपरेखा’ शीर्षकमा मेरो एउटा पुस्तक पनि प्रकाशित भयो। आमाहरूले कलेजो चिरेर गाएका सँगिनी गीतहरूको भिलेज प्रोफाइल तयार भयो तर मलाई थाहा थियो-अझै मेरो काम अधूरै छ! कुनै दिन त्यसलाई पूरा गर्नु छ।
पेशागत व्यस्तताबाट बचेको समयलाई जतनले खल्तीमा राखेर कहिले पुस्तकालय, कहिले अभिलेखालय, कहिले देवालय र कहिले अग्रजहरूका आलयमा घुम्दै धमिराले खाएर बचेका कागजका टुक्राहरू, अक्षर मेटिनै लागेका हस्तलिखित पत्रिकाहरू, च्यातिएर जराजीर्ण भएका पुराना पुस्तकका पानाहरू बटुल्न थालेँ। थकाइ आफै थाक्यो। निद्रा एक्लै निदायो। अब मेरो अगाडि अनेकौँ भाषाका इन्द्रेणी शब्दहरूको एउटा समृद्ध उज्यालो उभिएको थियो। मैले झुकेर अभिवादन गरेँ।
यो पुस्तक तयार पार्ने क्रममा म एउटा निमित्त पात्र मात्रै हुँ। तथ्य र सूचनाहरूको सङ्कलन गर्न सयौँ व्यक्तिहरूको पसिना बगेको छ। मैले त केवल संयोजन र व्यवस्थापन मात्रै गरेको हुँ। गहिरो विमर्श गर्न सकेको छैनँ। मसँग रित्तो झोलामा केवल सपनाहरू थिए। तिनै सपनाहरू जोगाएर लगभग साढे तीन दशकपछि यो पुरानो झोला बिसाएको छु। मैले भोजपुरबाट लिएर आएको सम्पत्ति फिर्ता गरेको छु। भोजपुरको नासो फिर्ता गरेको छु। मैले आमाको पूजा गरेको हुँ। लिनुदिनु केही छैन। जेजति फिर्ता गरेँ- मेरो प्राप्ति त्यही हो।
यस पुस्तकमार्फत् मैले इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ भन्न खोजेको हुँ। नेपालका कुनाकन्दरामा छरिएर रहेका सबै जातजाति र मातृभाषाहरूको वाङ्मय हामी सबैको साझा सम्पदा र साझा पहिचान भएकाले विविधताको शक्ति र सौन्दर्यलाई सबैले मिलेर समयमै बचाऔँ भन्न खोजेको हुँ। बार्दलीबाट होइन, आधारशिविरमा उभिएर सूक्ष्म रूपमा खोजी गरेपछि मात्रै नेपाली वाङ्मयको बृहत् र समग्र इतिहास तयार गर्न सकिन्छ कि भन्न खोजेको हुँ। सबैको हृदय जोड्ने पुल बनाऔँ भन्न खोजेको हुँ।
(ढकालद्वारा लिखित ‘भोजपुरको वाङमय विमर्श तथा अभिलेखीकरण’को भूमिका। ८०६ पृष्ठको यो बृहत् अनुसन्धनात्मक कृति शनिबार सार्वजनिक हुँदैछ।)
प्रकाशित: ७ फाल्गुन २०७८ ०२:४४ शनिबार





