खगेन्द्र बस्याल
ऊ आफ्नो समयमा बिहान आठ बजेसम्म बिछ्यौना छोडेको हुन्थेन। त्यहीं चिया पुग्थ्यो तर उसले पत्नीलाई बिहानै पाँचै बजे उठेर सरसफाइ, जुठा भाँडाकुँडा टल्काउने, वस्तुभाउको प्रबन्ध र खाजाको लागि जंगी आदेश दिइरहेको हुन्थ्यो।उसको छोरा पनि ठूलो भयो। पढ्न भनी काठमाडौं छिर्यो,जागिरे पनि भयो। उतैकी नानीसँग आँखा झिम्क्यायो। घरमा धेरै पढेकी छ, बत्तीस गुणले भरिपूर्ण छे र हाम्रो कुलकी त चहकिलो बत्ती हुनेछ भनेर अनौपचारिक बिहेलाई औपचारिकमा साथ दिन भनेपछि राजी नहुनुपर्ने कुनै कारण रहेन।
बिहेपछि छोराले काठमाडौं नबोलाए पनि उसले गाउँमा धन्न भाग्यमा लिएर आएको रहेछु। मेरी जस्ती बुहारी कमैले मात्रै पाएका होलान् भन्न बाँकी राखेन। घरबाट उता चाहिने चामल, दाल, तेल र मस्यौरा पठाइनै रहेको थियो।
जागिरे छोराले काठमाडौं नबोलाए पनि सतबिउ छर्ने निहुँमा एकजना छिमेकीसाथ कुराउनी र अर्सा समेत लिएर गयो। चौबीस घण्टा नपुग्दै बुहारीको चर्तिकला देखेर झसंग भयो ऊ। उनी त बिहान नौ बजेसम्म बिछ्यौनामा मोबाइल खेलाउने, आफ्नोे पति परमेश्वरलाई नोकरलाई भन्दा बढी अह्राउने, गाउँका मान्छे देख्नै नहुने, कस्ता लाउन, खान, बोल्न र केही सभ्यता नजानेका भनेर सुन्ने गरी भनिदिने स्वभावकी रहिछन्।
बुहारीको नसोचेको चाला देखेर उसले छोरालाई सोध्यो,‘छोरा, मैले छिमेकी भाइ समेतको अगाडि के देखिरहेको छु?’
उसले भन्यो, ‘यही त हो बा परिवर्तन भनेको।’
उसले सोध्यो, ‘अनि सबै घरको काम तैंले गरिदिएपछि उनले के काम गर्छिन् त!’
जवाफ दियो, ‘मेरो अनुहार उज्यालो पार्न ब्युटिपार्लर जाने, दिनभरि सिँगारिएर बस्ने र साथीहरू बोलाएर रसरंग गर्ने।’
‘अनि तँलाई सञ्चो नभएको बेला खाना पकाउने र लुगा धुने काम त गर्छिन् नि!’
उसले फेरि भन्यो, ‘म सञ्चो भएपछि लुगा धुन एउटा कुनामा कुटुरो पार्छिन्। खाना खान भने ट्याक्सी बोलाएर मँहगो होटलमा लगेर सँगै खानमा साथ दिएकै हुन्छिन्। बरु तपाईंहरू पनि उनको खुशीका लागि आजै गाउँ फर्किनुहुन्छ कि!’
प्रकाशित: १७ माघ २०७८ ०८:२५ सोमबार