२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अमेरिकामा नाम कमाउँदै नेपाली कोरियोग्राफर

हन्सभिल- हुनत अमेरिकालाई अवसरको राष्ट्र भनिन्छ। यहाँ गर्न सक्नेहरूका लागि अवसरले पर्खिरहेको हुन्छ। तर यहाँ आउनेहरूमध्ये त्यस्ता धेरै कम छन् जसले आफ्नो पुरानो पेसालाई नै अमेरिकामा पनि अगाडि बढाउने दुस्साहस गरेका हुन्छन्। यस्तै एक नेपाली युवा हुन सुरेश मानन्धर।


नेपालका स्थापित मोडल एवं कोरियोग्राफर मानन्धर अहिले अमेरिकामा पनि आफ्नै क्षेत्रमा अगाडि बढ्ने प्रयासमा छन्। नेपालमा सान मिगल, कार्ल्सवर्ग वियर, नेविको जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड एवं क्राउन प्लाजाजस्तो ब्राण्डका लागि मोडलिङ गरिसकेका मानन्धरले विभिन्न फेसन सोहरूमा सफल कोरियोग्राफी गर्दै अवार्डहरू जितिसकेका छन्।
सन् १९९७ मा मिस पोखरा व्युटी पिजेन्टबाट कोरियोग्राफी सुरु गरेका मानन्धरले त्यपछि काठमाडौं उत्सव, ठमेल फेस्टिबल र्या म्प मोडल कन्स्टेन्ट लगायत थुपै सोहरूमा कोरियोग्राफी गरेका थिए। उनले आफ्नो क्षमतालाई भारतको आइआइएफटी देखि दुबई र युरोपसम्म पुगेर प्रमाणित गरिसकेका छन्। नेपालमा उनले पाएको सफलताको कथालाई काठमाडौं पोष्ट, राइजिङ नेपाल, गोरखापत्र, समाचारपत्रजस्ता राष्ट्रिय दैनिकदेखि वेव, कामना साधना, युवा मञ्च ग्लामर नेपाल, रेज, विमोचनजस्ता पत्रिकामा प्रकाशित उनीबारे लेख तथा अन्तर्वातामा देख्न सकिन्छ।
उनले नेपालकै पहिलो मोडलिङ इन्स्टिच्युट 'दि र्याकम्प'मा लगभग ३ सय भन्दा बढीलाई मोडलिङको प्रशिक्षण प्रदान गरिसकेका छन्।
फेसन क्षेत्रप्रतिको लगावले अमेरिकामा समेत उनलाई अगाडि बढ्ने प्रेरणा प्रदान गरिरहेको छ। अमेरिकाजस्तो मुलुकमा नेपालबाट आएर फेसन क्षेत्रमा अगाडि बढ्ने निर्णय गर्नु कम चुनौतिपूर्ण हुँदैन। 'म यही (फेसन) क्षेत्रका लागि जन्मिएको हुँजस्तो लाग्छ। त्यसैले संसारको जुन कुनामा गए पनि म यसबाट अलग रहन सक्दिन।' अलबामा राज्यको हन्सभिलमा बस्दै आएका मानन्धर भन्छन्- मिहिनेत गर्ने हो भने त्यसको फल कुनै न कुनैरुपमा, कुनै न कुनै दिन आउने कुरामा म विश्वास गर्छु।
हुन पनि उनको एक वर्षको अमेरिका बसाइका क्रममा आफूप्रतिको उनको विश्वास र मिहिनेतले उनलाई अगाडि बढ्न मद्धत गरेको छ। उनले यहाँ पनि विभिन्न कम्पनीहरूसँग मिलेर काम थालिसकेका छन्। त्यसक्रममा मानन्धरले अलबामा फेसन अलाइन्स (एएफए)को फेसन विकदेखि सिल्भर वाटर ट्यालेन्ट कम्पनीसँग मिलेर आफ्नो कामलाई अगाडि बढाइरहेका छन्।
त्यसैगरी ग्याप, कोल्स, जस्ता यहाँका अन्तर्राष्टिय ब्राण्ड एवं एरिक एडलर, एलेन लेजुनजस्ता डिजाइनरसँग मिलेर काम गरिरहेको उनी बताउँछन्।
उनलाई नेपाल र यहाँ यस्ता ठूला नामहरूसँग काम गर्दा कस्तो किसिमको भिन्नताको अनुभव भयो त भन्ने जवाफमा मानन्धर भन्छन्- अहिले नेपालमा पनि मोडलिङ क्षेत्रमा निकै व्यावसायिकता आइसकेको छ। आजको सञ्चारले गर्दा खुम्चिएको विश्वमा नयाँ प्रविधि र सोँच एकै ठाउँ सिमित रहन सक्दैन। यो निकै चाडो संसारभर फैलिन्छ र त्यसको असर नेपालमा पनि प्रष्ट देख्न सकिन्छ। तर पनि केही भिन्नता त भइ नै हाल्छ। कामका क्रममा देखिने त्यो भिन्नता सोँचभन्दा पनि प्रविधिले दिएको सुविधाका कारण बढी हुने उनी बताउँछन्।
हालैमात्र न्युयोर्कमा भएको मिस नेपाल युएसए २०१४ मा मुख्य कोरियोग्राफरको भूमिका सफलतापूर्वक निर्वाह गरेका मानन्धरले स्पेसल रिकोगनिसन अवार्ड हात पारेका थिए।
मोडलिङ र त्यसपछि कोरियोग्राफीमा लाग्नुको कारणबारे बताउँदै उनी भन्छन- मोडलिङ वास्तवमा धेरै सिमासम्म व्यक्तिको बाहिरी आवरणसँग सम्बन्धित हुन्छ, तर कोरियोग्राफीमा उमेरको कुनै सीमा हुँदैन। यो त तपाईँमा निहित विशुद्ध रचनात्मक क्षमतामा भर पर्ने कुरा हो।
नेपाली अमेरिकी युवाहरूमा फेसनप्रतिको चाहना राम्ररी ठम्याएका उनले यहाँ मोडलिङ ट्रेनिङ सेन्टर खोल्ने आफ्नो योजना रहेको बताए।

प्रकाशित: १४ माघ २०७१ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App