२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मापदण्ड

लघुकथा

समीर पाख्रिन

मापदण्ड विपरीत घर निर्माण कार्य अघि बढाएको भनी नपाले रोक्का गरिदिएपछि हरिदास समस्यामा पर्‍यो। उसले केही दिनसम्म सम्बन्धित वडा र नपा कार्यालयको चक्कर काटिरह्यो।

उसले वडा सदस्य, अध्यक्ष, स्थानीय जनप्रतिनिधि सबैलाई गुहार्यो तर कसैबाट सोचे जस्तो सहयोग पाएन। वर्षौदेखि पाल्दै आएको सपना अधुरो होला जस्तो देखेपछि हरिदासले निज अधिकृतकै घरमा पुगेर जसरी भए पनि कुरा मिलाउने अठोट गर्‍यो।

शनिबार बिदाको दिन थियो। हाकिम रामहरिलाई भेट्न ऊ बिहान चिया मात्र खाएर घरबाट निस्कियो। उसलाई टोलको नाम थाहा भए पनि घरचाहिं कहाँ छ थाहा थिएन। यसैले उसले एकजना ठिटालाई सोध्यो, ‘भाइ, अधिकृत रामहरि सरको घर कता पर्छ?’

ठिटाले एउटा पुरानो पक्की घरतिर इंगित गर्दै भन्यो, ‘ऊ त्यो छतमा मान्छे टहल्दै गरेको घर उनैको हो।’

‘धन्यवाद भाइ।’ हरिदास शुरूशुरू अगाडि बढ्यो। छतमा टहल्ने उनै रामहरि सर थिए। घरमा कोही आएको जस्तो देखेपछि उनी तल ओर्लिए।

हरिदासले हात जोड्दै भन्यो, ‘नमस्ते हाकिम साप, म त हजुरलाई खोज्दै आइपुगें।’

–ए, हरिदासजी तपाईं? आउनुस्, बस्नुस्।

दुवै आमनेसामने बसे।

घरतिर राम्ररी नियाल्दै हरिदासले भन्यो, ‘हाकिम सापको घर त पुस्तैनी जस्तो लाग्यो। हो, हाकिम साप?’ 

‘हो, हजुरबाको पालाको घर हो। आफ्नो त, छोराछोरीको लालनपालन र शिक्षादीक्षामै बित्यो जीवन। एउटा घरसम्म बनाउन सकिएन।’ उनले भनें।

‘नपाभित्र यस्ता पुरानो घर धेरै देखिन्छन्। न पिल्लर चाहिने न हात्ती पाइले। भूकम्प प्रतिरोधक मापदण्ड त पछिकालाई मात्र लागू हुने रहेछ है हाकिम साप?’ हरिदासको प्रश्नमा व्यंग्य थियो।

जुन कुरा बुझ्न रामहरि सरलाई समय लागेन। किनकि उनको पुस्तैनी घर नपाको कुनै पनि मापदण्डभित्र परेको थिएन।

चियापानपछि हरिदासलाई रामहरि सरले विदा गर्दै भने, ‘तपाईं भोलि एकचोटि नपा कार्यालय आएर मलाई भेट्नु होला।’

प्रकाशित: ९ माघ २०७८ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App