नवराज शर्मा
‘कल्पना, तिमी नभएको भए म के हुन्थें कुिन्न।’ ऊ कल्पनाको हात मायालु पाराले समाउँछ।
‘म नभए पनि तिमी तिमी नै हुन्थ्यौ तर पक्कै पनि तिमीमा यति संवेदना हुन्थेन।’
‘सत्य बोलेकी हो कि मिथ्या ओकलेकी हो!’ ऊ कल्पनाको अनुहार पढ्न खोज्छ।
‘हेर, हाम्रो मायाको चिनो। हाम्रो प्रयासको फल, हाम्रो कृति।’ टेबुलतिर देखाउँदै ऊ अझ नजिकिन खोज्छ।
–भो धेरै नबरालियौ। अस्ति झण्डै दुर्घटना भएको बिर्स्यौ?
‘हो त नि। ड्राइभर कस्तरी रिसाएको थियो, हकि? के गर्नु तिमीसँग हुँदा म सबैथोक बिर्सन्छु।’ ऊ कल्पनामा चुर्लुम्म डुब्न खोज्छ।
–ठाम कुठामको त विचार गर। अरूले देखे के भन्लान्?
‘के भन्लान्? सिरक, डसना, लम्पट कि हुस्सु?’ ऊ ठट्टा गर्छ।
‘होइन सिल्ली भन्लान्।’ कल्पना खित्त हाँस्छे।
‘सर, अरू के ल्याऊँ?’ खाजा घरको केटो उसलाई सोधिरहेको हुन्छ।
उसको तन्द्रा भंग हुन्छ। ऊ टेबुलतिर हर्छ। त्यहाँ चिसो चिया र चियाको प्यालासँगै राखिएको भर्खर प्रकाशित आफ्नो पुस्तक देख्छ र देख्छ उसको आफ्नो ‘कल्पना’ को साटो खाजा घरको उही केटो। सधैंझैं आफ्नो ‘खास’ मुस्कानसहित उसलाई हेरिरहेको छ। सायद भन्दै हो, ‘सिल्ली मान्छे!’
प्रकाशित: ४ माघ २०७८ ०६:३२ मंगलबार