१३ असार २०८१ बिहीबार
image/svg+xml
कला

फुङ्लिङमा ‘पालाम’ वृत्तचित्रको विमोचन

माङ्गेना अनलाइन टिभीको प्रस्तुति ‘पालाम’को शनिबार फुङ्लिङमा विमोचन गरिएको छ। माघे संक्रान्ति अर्थात् कक्फेक्वा तङ्नामको अवसर पारेर माङ्गेना अनलाइन टिभीले तयार पारेको पालामको प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गामले विमोचन गरे।

१८ मिनेट लामो पालामभित्र लिम्बू जातिको मौलिक संस्कृति र परम्पराको गाथा गाइएको छ। ‘शिर उठाइ डुली हिँड्दा, धर्तीमाथि घुमी हिँड्दा’ भन्ने शब्दबाट सुरु भएको पालामका अधिकाँश सेरहरु  प्रेमिल भावमा बगेका छन्।

माङ्गेना अनलाइन टिभीका प्रोपाइटर भक्त पालुङ्वा र कौशिला चोङ्वाङको मुख्य अभिनय रहेको पालामको अधिकाँश दृश्य दोभानमा पुसेमेलाका क्रममा कैंद गरिएको छ।

धनुषकाँड र बिनायोको प्रयोगदेखि ऐतिहासिक मानिएको राजा नापिने ढुङ्गासम्म पालामको कथाभित्र समेटिएका छन्। विषेशगरी सोल्टी–सोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर नाच्नु लिम्बू जातिको बिशेषता हो।

विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलाहरुमा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धान नाच भनिन्छ। यो नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो। सुखदुःखको समयमा साईनो नलाग्ने महिला र पुरुषले हातमा हात समाएर गोलाकार घेरामा घुम्दै अघिपछि सर्दै मुन्धुमको साथमा नाचिने यालाङ नाचको बेला गाइने गीत ‘पालाम’ हो।

मेला, उत्सव, विवाह, भोज, बजारमा मायाप्रिती साट्दै दुःखसुख पोख्ने माध्यमको रुपमा नाचिँदै आएको धाननाच पछिल्लो समय उधौली–उभौली पर्व तथा औपचारिक कार्यक्रममा मात्रै सीमित हुन थालेको छ।

विमोचन कार्यक्रममा किराँत धर्म तथा साहित्य उत्थान संघका जिल्ला अध्यक्ष कर्णबहादुर पालुङ्वा, किराँत याक्थुङ चुम्लुङका प्रदेश सदस्य मोति पालुङ्वा, फुङ्लिङ वडा नं ५ का वडासदस्य सुरेश सिंघक लगायतको उपस्थिति रहेको थियो।

पालामको छायाँङ्कन र प्र्रस्तुतिबारे वडा सदस्य सिंघक, पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी, सामाजिक कार्यकर्ता अस्मिता साँवा लगायतले प्रकाश पारेका थिए।

प्रकाशित: १ माघ २०७८ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App