२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

तर्सिएको मुटु

कथा

सुरेन उप्रेती

सायद त्यो मे महिनाको पहिलो हप्ता हुनुपर्छ। निलो आकाशमा फाट्टफुट्ट बादलका सेता थुँगाहरू देखिन्थे। बादल भन्ने सानैदेखि हेरेर मात्र थाहा भएको हो। नत्र त सेतो फटिक कपास जस्तो भनौ सिरकमा हालिने रुवाका लुम्साहरू जस्तै। रूखहरूमा पनि कलिला मुन्नाहरू पलाउँदै थिए।

स्वतन्त्रताको युद्धमा विजय प्राप्त गरेर निस्किएका हर्षित मान्छेहरू जस्तै सडकमा हुलहुलमा उल्लासपूर्वक मानिस हिँडेको देखिन्थे। कोही दौडिरहेका हुन्थे। कोही सडकछेउमा विभिन्न प्रकारका सर्कस र जादु देखाएर र हेरेर मनोरन्जन लिंदै थिए। चौरमा हरियो दुबोले ढाक्ने क्रम शुरू भएको थियो। कुनाकानी जमेका हिँउका अवशेषहरू मौसमी न्यानो तापक्रमसँग आत्मसमर्पण गरेर  स्खलित हुँदै थिए।

म क्यानडाको राजधानीमा भर्खर अवतरण गरेको नौलो यात्री। राजधानीको केन्द्र रिडो सेन्टर। यो पार्लामेन्ट हिलकै बगलमा रहेको छ। रिडो सेन्टरका नजिकै अटवा युनिभर्सिटी रहेको छ। आसपासमा चर्चित होटलहरू छन्। रिडो सेन्टरको उत्तरपट्टि रहेको बाइवार्ड मार्केटले ठमेलको झल्को दिन्छ। बाइवार्ड मार्केटको नजिकै अमेरिकन दूतावास र नेसनल आर्ट ग्यालरी छन्। पार्लामेन्ट हिल र रिडो सेन्टरलाई रिडो कनालले छुट्याएको छ। पार्लामेन्ट हिलको पछाडिबाट हेर्दा अटवा रिभर र हलको आकर्षक दृश्य देखिन्छ। जहाँ म्यूजियम अफ सिभिलाइजेसन रहेको छ। रिडो सेन्टरको पाँच मिनेट जति पर्ने अटवा महानगरपालिका रहेको छ।

यिनै नयाँनयाँ दृश्यावलीको अवलोकन गर्दै हिँड्दै थिएँ। साथीले यता जाउँ भन्थे उनलाई नै पछ्याउँदै थिएँ। बाटाछेउमा गिटार बजाएर गीत गाउने मानिसहरू पनि थिए।

कोही ड्रम बजाएर मानिसलाई मनोरन्जन दिँदै हुन्थे। बाटाछेउमा थुप्रे बोलुँला जस्ता लाग्ने स्टाचुहरू  थिए। ती मूर्तिबारे अंग्रेजी र फ्रेन्च भाषामा वर्णन गरिएको हुन्थ्यो। कतैकतै त पढेजस्तो पनि गर्दै थिँए।

फेरि साथीलाई छोडिएला भन्दै दौडिन्थेँ। एउटा स्टिलले बनेको स्टाचु रहेछ। उसका टिलिलिली गर्ने आँखा। एउटा हात कम्मरमा लगाएको छ। एउटा हातमा ह्याट बोकेको छ। मलाई पनि खै के लाग्यो र हो। मेरो  चोर औंला मूर्तिको आँखा घोचौला झैं गरेर गएछ। स्टाचुको कम्मरमा राखेको हात आएर मेरो हात च्याप्प समात्यो। म त तर्सिएर बेसरी कराएँछु। पर बाटामा पुगेर पछारिएँ। मेरा हातखुट्टा थर्र काँपे। मेरो मुटु आरनको खलाँती जस्तै ह्याप्पहयाप्प गर्दै थियो। नाकबाट मात्र सास निस्किन नसकेर नाकमुखबाट ह्वारहवाहर आउँदै थियो। निधारभरि पसीना आएछन्। ओठमुख सुक्यो। टाउको बेसरी दुख्यो र  रिँगटा लाग्यो। स्टाचु त साँच्चिकैको मान्छे पो रहेछ। त्यो क्षण सम्झँदा पनि तर्सिन्छु। अझै मुटु काँप्छ।

प्रकाशित: १ माघ २०७८ १०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App