२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘ग्रीष्मको नीलो बतास’ को अन्तरक्रिया कार्यक्रम

साहित्य संगम नुवाकोटले हालै डा. दामोदर पुडासैनीको नवीनतम नियात्रा ग्रीष्मको नीलो बतासमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

डा.दामोदर पुडासैनी ‘किशोर’ को नियात्रा संग्रह ‘ग्रीष्मको नीलो बतास’ प्रकाशन भएको दुई महिना भएको छ तर विक्री दर हवात्तै बढेको छ। ‘डा. दामोदर पुडासैनीका नियात्राहरूमा विशेष स्वाद हुने भएकाले उनका जुनसुकै नियात्रा कृति पनि बजारमा हट केक झैं बिक्री हुने गरेका छन्। ग्रीष्मको नीलो बतास हिमाली, पहाडी र लेकाली स्पर्शको अद्भूत स्वादको रूपमा आएकाले पाठकहरूले हारालुछ गरेर किनेको प्रकाशन संस्था रत्न पुस्तक भण्डारको ठम्याइ छ।

डा. पुडासैनीले ग्रीष्मको नीलो बतासमा हिमाली क्षेत्रमा लुकेको प्राकृतिक सौन्दर्य, जीवजन्तु, मानव र प्रकृतिको गहिरो आत्मीयता, लेकाली र पहाडी वैभवका असीमित सम्भावनाहरू र उच्च भूगोलले मानव सभ्यतामा ल्याएको चमत्कारी  उपलब्धिका सम्बन्धमा जादूमय ढंगले रचिएका नियात्राहरू समेटेका छन्।

उक्त कार्यक्रममा समालोचक अनुपमा रेग्मीले ग्रीष्मको नीलो बतास मानववाद विचारलाई केन्द्रमा राखी लेखिएको र प्राकृतिक सौन्दर्यको कलात्मक वर्णन गरिएको उत्कृष्ट कृति भएको बताए।

अर्का समालोचक उषा आचार्यले भनिन्, ‘ग्रीष्मको नीलो बतास’ यो समयको अत्यन्त सुन्दर कृति हो। लेखक पुडासैनीले भूगोल र समाजलाई विचार र दर्शनका माध्यमबाट सुन्दर चित्रण गरेका कारण यस संग्रहमा सङ्गृहीत तेइस नियात्रा नवीन ढंगमा आएका छन्। यी नियात्रामा वस्तुगत वर्णन नगरी भावनात्मक विषयलाई निजात्मक ढंगमा प्रस्तुत गरिएको छ।

कवि तथा समालोचक आर.एम. डंगोलले काव्यात्मक स्वादले भरिपूर्ण नियात्रा भएकाले सो संग्रहको विशेष महत्त्व रहेको बताए। दृश्यहरूलाई चित्रात्मक शैलीमा प्रस्तुत गर्नु, साहित्यका सबै रस प्रयोग गर्नु, स्थानीय संस्कृति, स्थानीय रंग र स्थानीय सम्भावनाहरूलाई रोचक ढंगले दुरुस्त सिर्जना गर्न सक्ने क्षमताका कारण पुडासैनीका नियात्राहरू अब्बल बनेका छन्।

पत्रकार चेतनाथ आचार्यले ग्रीष्मको नीलो बतासले हरेक पाठकलाई मीठो स्वाद मात्र नदिई जागरूक समेत बनाएको बताए। यो कृतिको सशक्त पक्ष भनेको समाजलाई नवीन मार्गमा अघि बढ्न जोडदार रूपमा घचघच्याएको छ।

त्यस्तै समालोचक डा. रजनी ढकालले यो कृतिले जीवन र प्रकृतिको सम्बन्धको भव्यता झल्काएको कुरा बताइन्। ‘यो कृतिले राज्य र समग्र मानव जगतलाई नै प्रगतिशील चेतना दिन सफल छ। सुदूर पश्चिम र हिमाली प्रदेशलाई सचेत ढंगले चिनाउने मानक कृति पनि हो ‘ग्रीष्मको नीलो बतास’, डा. रजनीले अगाडि भनिन्।

अर्का समालोचक हरि अधिकारीले भने, ‘डा. दामोदर पुडासैनीका हरेक नियात्राले हिमाल र नेपाललाई संसारको सामु गौरवबोध गराउँछन्। उहाँ अत्यन्त सक्रिय हुनुहुन्छ। उहाँमा पाठक र समाजलाई सधैं सकारात्मक र उज्यालो ढंगले अघि बढाउने क्षमता छ। यही कारण ग्रीष्मको नीलो बतास अत्यन्त सफल कृतिको रूपमा प्रकाशमा आएको छ।’

समालोचक राम लोहनीले ‘ग्रीष्मको नीलो बतास नेपाली नियात्रा कृतिको लहरमा विशिष्ट महत्त्व  बोकेको बताए। आलंकारिक भाषा, हिमाल र लेकको जीवन, संस्कृति र प्रकृतिलाई स्वादिलो ढंगले अभिव्यक्त गरिएको ग्रीष्मको नीलो बतास नियात्रा साहित्यको विशेष कृति हो।’

साहित्य संगम नुवाकोटकी अध्यक्ष साहित्यकार सुमित्रा सुमीले कार्यक्रम चलाएकी थिइन्। सो अवसरमा उनले ग्रीष्मको नीलो बतास सबैले पढ्नुपर्ने कुरा बताइन्।

पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साहिलोले लेखापरीक्षण विषयमा विद्यावारिधि गर्ने डा. दामोदर पुडासैनीले लेखापरीक्षण क्षेत्रमा मात्र नभई साहित्य क्षेत्रमा समेत चमत्कारी योगदान दिनुभएको छ, ग्रीष्मको नीलो बतास यसैको ज्वलन्त उदाहरण हो’ भने।

ग्रीष्मको नीलो बतास डा. दामोदर पुडासैनीबाट लेखिएको सत्रौं कृति हो। यसअघि प्रकाशित उनका नमेटिएका चित्रहरू, पर्खालभित्रको राजधानी, सिमानाका रंग सिमानाका तरंग, मायालु हुम्ला, यात्राका प्रेमिल तरंगहरू जस्ता नियात्रा संग्रहले अन्तर्राष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार, उत्तम शान्ति पुरस्कार, शंकर लामिछाने युवानिबन्ध पुरस्कार, धर्मानन्द रामप्यारी सर्वोत्कृष्ठ पुस्तक पुरस्कार, विराटलक्ष्मी सर्वोत्कृष्ठ पुस्तक पुरस्कार जस्ता पुरस्कारहरू प्राप्त गरिसकेका छन्। उनको सिमानाका रंग सिमानाका तरंग नियात्रा सङ्ग्रह भने मदन पुरस्कारको उत्कृष्ठ सातमा पर्न सफल कृति हो।

प्रकाशित: २८ पुस २०७८ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App