२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

जीवनगति

लघुकथा

छायादत्त न्यौपाने

हो नि! साँच्चै हो। म आबद्ध शैक्षिक संस्थामा सरसफाइ कर्मचारी छिन्। उनी असाध्य धनी छिन् रे। उनीसँग राजधानीको केन्द्रमा सुविधासम्पन्न घरहरू छन् रे।

उनी कर्तव्यमा इमानदार र मिहिनेती छिन्। संस्थाले दिएको जिम्मेवारी पूरा गर्ने कुरामा अलिकति पनि तलमाथि गर्दिनन्। मिलनसार, सहयोगी र सहिष्णु छिन्। उनका कारण सायद कसैले गुनासो गर्ने मौका पाउँछ। परिआउँदा खर्च गर्न डराउन्नन् पनि। कस्तो अचम्म सानो पदको कर्मचारी रे कति उच्च जिम्मेवारीबोध।

यसै संस्थामा अर्की कर्मचारी पनि छन् उसै दर्जामा। उनी परिवारसँग नबसेर भाडामा बस्छिन् रे। समयमा कार्यालय आएको र पूरा समय दिएको दिन सायदै छ। ठुला गफ गरेर थाक्तिनन्। पैसाको तुजुक छ, आफन्त चिन्दिनन्। कसैले चिनजान गर्न खोजे ‘खै मलाई थाहा छैन’ भनेर तर्कन्छिन्।

कहाँकहाँ घडेरी छन्, माइतीले दिएको सम्पत्तिको बखान, गहनागुरियाको धाकधक्कु। मानौं उनी जत्तिको सम्पन्न कोही छैन। केकेन आफै जान्नेसुन्ने! मैले गरेको काम त! साथीभाइ पनि मान्छे हुन् र जसरी उपेक्षा गर्न भ्याउँछिन्। परिआउँदा पाँच रुपियाँ खर्च गर्न डराउँछिन्।

यहीं अर्की एकजना पनि उस्तै पदमा कर्मचारी छिन्। फ्याङफुङ बोल्छिन्। साथीभाइ सबैसँग मिल्छिन्। खाने खुवाउने कुरामा अघिअघि हुन्छिन्। उनी ठुला कुरा गर्दिनन्। खासै आयस्ता पनि छैन रे तर खुसी छिन्।

एकदिन भन्दै थिइन्, पैसा कमाउने खर्च गर्न हो। परेका बेला काम चलोस् पुग्यो, थुप्रयाएर के गर्नुछ र? छोराछोरीलाई कमाइदिने त मूर्खले हो। उनीहरू आफैं कमाइहाल्छ नि! हो, कमाउन सक्ने योग्य बनाउने हो। कमाइदिने हैन। भनाइ नै छ, सन्तानलाई माछा समात्न सिकाउने हो, खान हैन। हेरौ त कति स्वाँठहरू कमाइदिने भएर कठघराँ पुगेका...!

यी एउटै संस्थाका उस्तै पदीय हैसियतका कर्मचारीको आनीबानी र व्यवहार देखेर त म जीवनको दैलो खै कसले कसरी लाउँछ र उघार्छ? अन्योलको पिङमा चढेर चचहुइ भएँ।

प्रकाशित: २५ पुस २०७८ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App