२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पृथ्वीनारायणका सिक्कामा सांस्कृतिक प्रस्तुति

इतिहास र संस्कृतिको अध्ययनमा मुद्रा महत्वपूर्ण आधार हो, त्यसकारण मुद्रालाई पुरातात्विक प्रमाण भनिएको हो। मुद्राले आर्थिक मूल्य र मौद्रिक महत्वपूर्ण  बोधार्थ गर्नुका साथै इतिहासका विविध पक्षलाई समेत उजागर गरेको हुन्छ। विशेषतः सामाजिक, सांस्कृतिक र कलाको इतिहासबारे मुद्राबाट जानकारी हुन्छ। सामाजिक, सांस्कृतिक विकास क्रमको विभिन्न पक्ष मुद्राबाट जानकारी हुनाले इतिहास अध्ययनका लागि मुद्रालाई प्राथमिक स्रोतका रूपमा मानिन्छ।  

लिच्छविकालदेखि नै नेपालमा मुद्राको प्रचलन सुरु भएको पुरातात्विक, ऐतिहासिक तथा अभिलेखात्मक प्रमाण छन्। वस्तुतः लिच्छविकाल र मल्लकालमा व्यापक मात्रामा मुद्राको प्रसारण भएको देखिन्छ। त्यस बेलाका मुद्राको अध्ययनबाट सामाजिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षबारे जानकारी हुन्छ।

लिच्छविकालका सिक्कामा बढी मात्रामा हिन्दू संस्कृति र दर्शनको प्रभाव देखिन्छ भने मल्लकालका सिक्कामा हिन्दू धर्म र संस्कृति साथै बौद्ध र इस्लाम संस्कृति (कम मात्रामा)को प्रभाव देखिन्छ। मुद्राहरूमा प्रस्तुत गरिएको कलात्मक बुट्टा, विम्ब, प्रतीक र अन्य विविध प्राकृतिक दृश्यका आधारबाट त्यस बेलाका धार्मिक, दार्शनिक एवं सांस्कृतिक विश्व दृष्टिकोण अभिव्यक्त भएको देखिन्छ, जसको प्रभाव पछिका शाह राजाहरूको मुद्रामा समेत परेको देखिन्छ। 

नेपाली मुद्राको इतिहासमा शाहकालीन राजाहरूको पनि महत्वपूर्ण स्थान रहेको देखिन्छ। पृथ्वीनारायणका पूर्वजले प्रसारण गरेका सिक्काबारे हालसम्म जानकारी मिलेको छैन, तर लिच्छविकालदेखि नै मुद्राको प्रचलन देखिएकाले उनका पूर्वजले सिक्का प्रसारण गरेनन् भनेर भन्न सकिँदैन।

पृथ्वीनारायणले गोरखाका राजा हुँदादेखि मुद्रा प्रसारण गरेको देखिन्छ। त्यसो त काठमाडौं उपत्यका आक्रमण गर्नुभन्दा पहिले नुवाकोट विजय गरेपछि नुवाकोट दरबारबाट मुद्रा प्रसारण गरेको देखिन्छ। पृथ्वीनारायणका भाइ दलमर्दन शाहले काठमाडौं विजय गर्नुअघि पाटनको राजा हुँदा पनि सिक्का प्रसारण गरेको देखिन्छ।

पृथ्वीनारायणले प्रसारण गरेका विभिन्न सिक्कामा विशेषगरी हिन्दू सांस्कृतिक चिन्तनलाई निरन्तरता दिएको देखिन्छ, जुन लिच्छवि तथा मल्ल सभ्यताको निरन्तरता हो। मुद्राको बनोट, बुनोटमा पनि लिच्छवि तथा मल्लकालीन मुद्राको समरूपमा तात्विक फरक देखिँदैन।

मल्लकालीन मुद्राको गोलाकार किनारामा बिन्दुयुक्त घेरा बनाउने प्रवृत्ति पृथ्वीनारायणका सिक्कामा पनि देखिन्छ। त्यस्तै, सूर्य, चन्द्र, कलस, खड्ग, छत्र, डमरु, वज्र, वृत्त, शंख, चक्र, गदा, पद्म लगायत हिन्दू तथा बौद्ध धार्मिक तथा सांस्कृतिक चिह्न, विम्ब र प्रतीकलाई शाहकालका सिक्कामा पनि अंकित गरिएको देखिन्छ, जुन लिच्छवि र मल्लकालीन सांस्कृतिक निरन्तरता, मुद्रा निर्माणको शैलीगत निरन्तरता र पारम्परिक अभ्यास हो।

मल्लकालमा शाक्त, शैव, वैष्णव र बौद्ध तन्त्रको व्यापक विकास भयो। तन्त्रमा सांकेतिक चिह्नको विशेष प्रयोग गरिन्छ। लिच्छविकालका सिक्कामा तान्त्रिक प्रभाव देखिँदैन। तर मल्लकालका सिक्कामा तान्त्रिक दर्शनको अत्यधिक प्रभाव देखिन्छ।

विशेषतः श्रीयन्त्र, त्रिकोण, अष्टकोण, पञ्चकोण, षटकोण, बिन्दु, वृत्त, वर्ग, भूपुरयन्त्र, जस्ता धार्मिक, सांस्कृतिक एवं तान्त्रिक चिह्न शाहकालका सिक्कामा पनि अभिव्यक्त भएको देखिन्छ, जुन मल्लकालीन तान्त्रिक अभ्यासको निरन्तरता हो। शाहहरू, शाक्त, शैव उपासक थिए। मल्लहरूजस्तै शाहहरूले पनि तलेजु भवानीलाई विशेष सम्मान प्रकट गरेको देखिन्छ।

पृथ्वीनारायणले प्रसारण गरेका मुद्रामा दुर्गा, भवानी, लगायत शाक्त देवीलाई विशेष सम्मान गरेको देखिन्छ। पृथ्वीनारायणले प्रसारण गरेको शक संवत १६९२ को सिक्कामा शंख, चक्र, गदा र पद्मजस्ता चिह्नलाई अंकित गरेर वैष्णव धर्मप्रति आस्था देखाएको देखिन्छ। त्यस्तै, श्री श्री उत्कीर्ण अभिलेखले लक्ष्मी र उनको शासकीय वैभवतालाई संकेत गरेको देखिन्छ। नाथ सम्प्रदायको उपासक भएका कारण ‘गोरखनाथ’प्रति शाहहरूको विशेष सम्मान रहेको छ।

पृथ्वीनारायणले प्रसारण गरेका अर्को प्रकारको मुद्रामा लोकनाथ लेखिएको देखिन्छ, जुन बौद्ध धर्मप्रतिको आस्था र सम्मान हो। उनले बौद्धधर्मलाई पनि विशेष सम्मान दिएको यसबाट बुझ्न सकिन्छ। हुन सक्छ, यो उपत्यकावासी बौद्ध धर्मावलम्बीलाई रिझाउन अपनाएको नीति हो। यस आधारमा गोरखनाथ र लोकनाथप्रति पृथ्वीनारायणले उत्तिकै रूपले सम्मान व्यक्त गरेको हुन सक्ने संस्कृतिविद् सत्यमोहन जोशीको तर्क छ।

मुद्राका माध्यमबाट धर्म, संस्कृतिका साथसाथै लिपि र भाषाको पनि अध्ययन गर्न सकिन्छ। लिच्छविकालका सिक्काहरूमा लिच्छविलिपि (गुप्तलिपि) थियो भने राष्ट्रिय भाषा संस्कृत रहेको देखिन्छ। मल्लकालमा आउँदा गुप्तलिपिकै विकसित रूप लिच्छवि हुँदै नेवारी लिपिका अनेकौँ शैली देखापरे भने नेपालभाषाले राष्ट्रिय भाषाको मान्यता पायो। यद्यपि, मल्लकालमै नेवारी भाषाको साथसाथै मैथिली, हिन्दी, उर्दू र संस्कृत भाषा र तत्तत् भाषाका लिपि पनि विकास भए। जसको प्रभाव मल्लकालीन मुद्रामा देखिन्छ।

शाहकालका मुद्रामा विशेषतः खस (नेपाली) भाषा र देवनागरी लिपिको प्रयोग भएको देखिन्छ। भाषा तथा लिपि आफैँमा संस्कृतिका अंग हुन्। लिच्छविकालका सिक्कामा संवत्को प्रयोग गरिएको देखिँदैन, तर मल्लकालमा नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गर्‍यो।

गोर्खालीको आफ्नै संवत् थिएन, लिच्छविकालमा प्रचलित शक संवत् जुन मल्लकालमा लोपोन्मुख अवस्थामा पुग्यो, लाई गोर्खाका शाह राजाहरूले राष्ट्रिय संवत्को रूपमा प्रयोग गरे। वस्तुतः पृथ्वीनारायण शाहका सिक्कामा खस भाषा शक संवत् र देवनागरी लिपिले स्थान प्राप्त गरेको देखिन्छ। उनका उत्तराधिकारीले केही कालसम्म यसै शैलीलाई पछ्याए। पृथ्वीवीरविक्रम शाहको पालादेखि नेपाली सिक्कामा विक्रम संवत्को प्रयोग गरेको देखिन्छ। 

सारमा पृथ्वीनारायण शाहले अंगीकार गरेको धार्मिक तथा सांस्कृतिक नीतिलाई उनका उत्तराधिकारीले पछ्याएको देखिन्छ। विशेषतः हिन्दू संस्कृति बोधार्थक, विम्ब, प्रतीक र विरुदावलीहरूलाई नै शाहकालका मुद्रामा अंकित गरिएको देखिन्छ। आफूलाई चन्द्रवंशी ठान्ने पृथ्वीनारायणले पनि आफ्ना सिक्कामा हिन्दू धर्म र संस्कृतिलाई नै अभिव्यक्त गरेको देखिन्छ, जुन लिच्छविकालीन सांस्कृतिक निरन्तरताको परिणाम हो।

प्रकाशित: २४ पुस २०७८ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App