२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

श्रीओम श्रेष्ठ रोदनको ‘अभिवन्द्य’ सार्वजनिक

निबन्धकार श्रीओम श्रेष्ठ रोदनको ‘अभिवन्द्य’ निबन्ध संग्रह सार्वजनिक गरिएको छ। भद्रकालीस्थित महिला आयोगको सभा हलमा शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा रोदनको उक्त निबन्ध संग्रह विमोचन गरिएको हो।

संग्रहमा निबन्धकारले २०४८ सालदेखि अभिनन्दन गर्न लायक ४१ व्यक्तित्वबारे लेखिएका ४१ निबन्ध सङ्गृहीत छन्।

कला, साहित्य, गायन जस्ता विविध क्षेत्रमा योगदान पुयाउँदै आएका सिद्धचरण श्रेष्ठ, डायमन समशेर, माधव घिमिरे, सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्य, बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, कमलमणि दीक्षित, बालकृष्ण पोखरेल, तेजेश्वरबाबु ग्वंग, उपेन्द्र श्रेष्ठ, नगेन्द्रराज शर्मा, गोविन्द भट्ट, कृष्णप्रसाद पराजुली, प्रचण्ड मल्ल, इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, तुलसी दिवस, कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, डा.ध्रुवचन्द गौतम, मञ्जुल, शशी भण्डारी, जनकबहादुर राणा, मदनदास श्रेष्ठ,डा. बिहारीलाल श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, निर्मोही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपाल अश्क, डा.चिन्तामणि योगी, डा.हरिप्रसाद पोखरेल र रमेश श्रेष्ठबारे लेखिएका निबन्धहरू सङ्गृहीत छन्।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारी र कवि मोमिलाले ‘अभिवन्द्य’ नेपाली निबन्धसाहित्यको महत्त्वपूर्ण कृति भएको बताइन्।समालोचक अधिकारीले अभिवन्द्य कृति विशिष्ट व्यक्तिहरूप्रतिको अभिनन्दन भएको र कृतिमा जीवनबोध गराउने निबन्ध रहेको बताए। उनले कृति विशिष्ट व्यक्तिप्रति सम्मानसहितको संस्मरण भएको र यसले पाठकलाई सकारात्मक ऊर्जा प्रदान गर्ने बताइन्।

कार्यक्रमा समालोचक मोमिलाले साधकहरूलाई गर्नुपर्ने सम्मान अभिवन्द्य कृतिले गरेको बताइन्। लेख्ने बेला हरेक लेखक बुद्व बन्ने भन्दै अभिवन्द्य कृति पढेर आनन्द महसुस गर्न सकिने बताए। उनले निबन्धको शीर्षकै पढेर सबैलाई सजिलै चिन्न सकिने कलात्मक भाषा प्रयोग भएको बताइन्।

कार्यक्रममा निबन्धकार तेजेश्वरबाबु ग्वंगले श्रीओमको कृतिबारे चर्चा गर्दै उनले नेपाली निबन्धका क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको बताए। उनले भने, ‘निबन्धको भाषाशैली अरूभन्दा भिन्न छ। यो नै निबन्धकारको मौलिक परिचय हो।’

यसैगरी अशेष मल्लले व्यक्तिका राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् तर यस कृतिमा राम्रा पक्ष मात्रै समेटेको बताए। उनले भने, ‘श्रीओम’ फूल हो। तसर्थ फूलका आँखामा फूलै संसार।’

पुस्तकबारे तुलसी दिवसले लेखकहरूले परम्परागत शैली भत्काउनुपर्नेमा जोड दिए। उनले भने, ‘भाषा भत्काउने काम साहित्यकारहरूको हो। अरूको जस्तै भाषाशैलीको प्रयोग गरेर लेखकको आफ्नो पहिचान बन्दैन। संग्रहमा प्रयोग भएको भाषा श्रीओमजस्तै  सरल र शालीन  छ।’

डा. चिन्तामणि योगीले लेखकले आफूजस्ता अरूमा पनि सकारात्मक, सरल र शालीन  पक्ष मात्रै देखेको बताए।

प्राडा लक्ष्मणप्रसाद गौतमले जीवित व्यक्तिबारे लेख्नु चुनौतीपूर्ण कुरा भएको र निबन्धकार श्रेष्ठले कृति तयार गरी सफलता हासिल गरेको बताए।

प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेलले जीवनमा हरेकले लेखकले जस्तै सत्यको उद्घोष गर्नुपर्नेमा जोड दिए।

लेखक श्रेष्ठले आफूले पत्याएका र सम्मान गर्नलायक व्यक्तित्वलाई छानेर कृति प्रकाशन गरेको जनाए। उनले सम्मान लायक व्यक्तिलाई बिस्तारै समेट्दै जाने बताए।

सो अवसरमा कलाकार मदनदास श्रेष्ठ, साहित्यकार मञ्जुल लगायतले सर्जकहरूलाई अक्षरबाट सम्मान गरेर प्रशंसनीय काम गरेको विचार बताए।

कार्यक्रम शंकर लामिछाने प्रतिष्ठानले आयोजना गरेको हो। आयोजक प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले लेखकलाई संस्थाका तर्फबाट सम्मान गर्दै लेखकबाट यस्तै कृति आइरहनुपर्ने सुझाव दिए।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले श्रीओम श्रेष्ठ रोदन साहित्यका विभिन्न क्षेत्रमा स्थापित नाम भएको बताए।

सो कृति यसअघि नै  ‘ग्वंग सिरपा’ भक्तपुरबाट पुरस्कृत भएको थियो। उक्त कृति पल्लव प्रकाशनद्वारा प्रकाशन गरिएको हो भने कार्यक्रम यादव भट्टराईले सञ्चालन गरेको थियो।

प्रकाशित: १० पुस २०७८ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App