१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

लप्सीको बोट

कथा

सुदर्शन भट्टराई

गाउँको एक छेउमा समाजले छुट्टै राखेको अछुतजस्तै गरी बसेको छ–हर्कबहादुर।

उसलाई चिन्ने छुट्टै पहिचान भने केही छैन। उसका दिनहरू भने कडा परिश्रममा नै बित्छ। दुई छोरा र एक छोरी सहित दुःखसुखमा साथ दिने एक श्रीमती छिन्। यीबाहेक उसको यो दुनियाँमा आफ्ना भन्ने कोही पनि छैन। कारण ऊसँग न प्रशस्त जग्गाजमिन छन् न प्रशस्त रुपियाँ–पैसा नै। उसको जग्गाको उब्जनीले परिवारलाई मुस्किलले दुई महिनालाई खान पुग्छ। बाँकी समयका लागि उसले बाहिरबाट नै पुर्‍याउनुपर्छ।

हर्कबहादुर पहिल्यैदेखि गरीब भने होइन। उसले एसएलसीसम्म पढ्यो। सुरुका सात–आठ वर्ष गाउँकै विद्यालयमा मास्टरको जागिर पनि गर्‍यो तर जागीर धेरै दिन टिकेन। ऊजस्तो सोझाको जागिर अरूले नै खायो। उसको अस्थायी जागिर खुस्कियो।

लोकसेवा त उसले धेरै पटक दिएको थियो तर कहिल्यै सफल भएन। लिखितमा नाम निस्किए पनि अन्तर्वार्तामा फालिन्थ्यो।

स्कुलको जागिर गएपछि उसका दुःखका दिनहरू शुरू भए। विद्यालयमा माष्टर छँदाका साथीहरु पनि घट्दै गए। घरमा पनि दुईचार पैसा कमाउन नसक्ने छोरो कसैको प्यारो हुन सकेन। उसलाई दाजुभाइ र बाबुले भिन्नै (छुट्टै) राख्ने निर्णय गरे। एक हलको बारी दिएर एउटा घरमा छुट्याइदिए। उसको अंशमा १५ हजारको एउटा लैंनो भैंसी पनि थियो तर दुःखको सागरमा डुब्नुपर्ने घटिया कर्म भएकाले उसको भैंसी फेरि लैनो हुन सकेन। उसका मेहनत त्यसै खेर गयो र अन्त्यमा उसले दश हजार नोक्सान खेपी बेचिदियो। सम्पत्ति सकिएपछि घरव्यवहार चलाउन उसलाई समस्या हुनु त स्वाभाविक नै भयो। त्यसैले उसलाई दाजुभाइ र समाजले नराम्रो दृष्टिकोणले हेर्न थाले। गाउँमा हेप्न थाले।

हुन त यस्तो हुनुमा अलिकति कमजोरी उसको आफ्नै पनि छ। कसैको दुःख हेर्न सक्ने हृदय उसँग थिएन। ऊ चाहन्थ्यो, जे–जति दुःख खेप्नुपरे पनि मै खेप्छु तर मेरो आँखा अगाडि कसैले पनि त्यस्तो दुःख खेप्नु नपरोस्।

ऊ मास्टर छँदा गाउँका विद्यार्थीहरू घरदेखि टाढा डेरा लिएर बस्थे। उनीहरूलाई खर्चको व्यवस्था ऊ आफैं गर्थ्यो। भोलि यिनीहरूले पनि मलाई दुःख पर्दा साथ दिनेछन् भन्ने उनलाई लाग्थ्यो तर अहिले उसलाई देखेपछि ती विद्यार्थीहरू अर्कातिर फर्केर हिँड्छन्। उसले केही माग्छ कि भन्ठान्छन्।

हर्कबहादुर सहयोगी स्वभावको छ तर अहिले उसलाई परेको बेला कसैले साथ दिएन।

आफ्ना सम्पूर्ण परिवार पाल्ने पाटो नै साहुले कब्जामा लिएपछि ऊ गाउँकै सबभन्दा गरिब हुन पुग्यो। उसलाई अब वर्षभरिका लागि परिवार पाल्न समस्या पर्न थाल्यो।

केही खर्च टार्न भर दिने उसको घरपाटोमा एउटा ठूलो लप्सीको बोट छ। त्यसबाट वर्षमा चारपाँच महिनाल जेनतेन गुजारा चलाउन सहयोग मिलेको छ। यो ठूलो लप्सीको बोटमा गाउले सबैको आँखा लागेको छ। बिहान उठ्नेबित्तिकै ऊ त्यही रुखमा आँखा पुर्‍याउँथ्यो। ठूलो हुरी आई त्यो रुख ढाल्ने डरले ऊ सधैं चिन्तित हुन्थ्यो।

एक रात ठूलो हुरी चल्यो। हुरी थामिने खालको थिएन। चैतमा हुरीबतास त आउने नै भयो। उसले टर्च बाल्यो र हेर्‍यो। दिनभरिको थकानले श्रीमती मस्त निदाइरहेकी थिई। उसले बिस्तारै ओछ्यान छोड्यो र घरबाट बाहिरियो। टर्च बाल्दै अगाडि बढ्यो। जहाँ त्यो ठूलो लप्सीको रुख थियो। ऊ ठिङ्ग उभियो।  

एकैछिन के उभिएको थियो फेरि हुरी चल्न थाल्यो। त्यो रुख कहिले बारीको डिलमा आफ्नो शिर निहुराएर ढोग्न खोज्थ्यो त कहिले परपरको सल्लाको रुखसँग मितेरी लगाउन खोज्थ्यो। हर्के किंकर्तव्यविमूढ भई बारीको डिलमा उभिएर हेरिरहेको थियो। उसको परिवारलाई ४/५ महिना पाल्न सक्ने गैरी खेतभन्दा पनि प्यारो त्यो रुख थियो। जुन अहिले नै ढल्लाजस्तो हुन्थ्यो। यसबेला हर्केको मुटुले ठाउँ छोडिसकेको थियो।

उसलाई लाग्यो अब यो रुख ढल्यो भने परिवारको खर्च कसरी चलाउँला? साना बच्चाहरू बिहान आँखा मिच्दै जाडोमा सिसि गर्दै हात फुक्दै कसले धेरै पार्ने है त भनी लप्सीटिप्थे। एकाध पाथी पारी आफू खुशी खर्च गर्थे। बल किन्थे, जुत्ता किनेर गाउँका साहुका केटाकेटीजस्तै हुन खोज्थे तर यो त ‘कुहिनाको जोरपहरासँग’ जस्तै हो भन्ने कुरा यी साना र कलिला दिमागले के सोच्न सक्थ्यो र?

ती कलिला हातहरूले भोलिबाट के गर्लान्? कसरी आफ्ना रहरका चिज किन्लान्? उसलाई अहिले यस्तो पनि सोच आयो। लप्सीको रुख ढल्यो भने त्यसको काठ बेचेर ऋणको बोझ कम गर्ने विचार पनि आयो। यस्तै सोच्दासोच्दै समय बित्यो। हुरी चल्न बन्द भइसकेको उसले पत्तै पाएन। धन्न त्यो रुख त्यहीँ उभिएको देख्यो। ऊ ढुक्क भयो। ठूलो रुख आफ्नो सामु उभिएको देखेर ऊ खुशी थियो।

हर्के घरतिर लाग्यो। ढोका खोल्यो। बिस्तारै माथिल्लो तलामा उक्ल्यो जहाँ उसको सुत्ने कोठा थियो। विछ्यौनामा उसकी श्रीमती निदाइरहेकी थिई। बाहिर पानी पर्लापर्ला जस्तो थियो। ऊ बिस्तारै सिरकभित्र घुस्रियो।

यत्तिकैमा बाहिर आकाशमा बिजुली चम्कियो, सबै कोठा उज्यालो भयो। त्यसपछि ठूलो चट्याङ परेको आवाज आयो। जसले गर्दा उसकी श्रीमती पनि बिउँझिई। बल्ल हर्केले खुइय्य गर्‍यो। उसको भित्री हृदयदेखि एक किसिमको नैराश्य, हरास् साथै एउटा काल नै जितेको जस्तो पराक्रमी श्वाश बाहिर फाल्यो।

उसकी श्रीमतीले बिस्तारै सोधिन्, ‘किन हजुरलाई निद्रा परेन?’ ‘अँह’ उसले छोटो उत्तर दियो। श्रीमती फेरि बोलिन, ‘बाहिर पानी पर्‍यो कि के हो? कस्तो चिसो लाग्यो हेर्नुस् न।’

ऊ बोलेन। अघिदेखिको हुरी र लप्सीको बोट ढल्लाझैं भएको चित्र उसको आँखामा नाचिरहेको थियो तर यी सबै घटनाबाट पूरै अनभिज्ञ थिई–भुन्टी।

उज्यालो भयो। हर्के ओछ्यानबाट उठ्यो। केटाकेटीहरू खेल्न थालिसकेका थिए। उनीहरूले आजको नित्य कर्म पूरा गरिसकेका रहेछन्। उसकी श्रीमती धारामा पानी लिन गएकी थिइन्। सिलावरको गाग्री काखीमा च्याप्दै घर पुगिन्। उनलाई रातीको घटना केही पनि थाहा रहेनछ। उनले भनिन्– ‘हेर्नुस् न आज गाउँको च्यान्टेको छाना हुरीले उडाएछ। विचरा अब केले बनाउँछ  छाना?’ चुकचुक गर्दै, ‘दैव पनि गरिबमाथि नै किन खनिएको होला? एकमाथि अर्काे दु;ख थप्दै। भगवान् पनि कति निष्ठुर र कति निर्दयी?’

गाउँका मानिसहरू पसलमा दूध लिएर जान थालिसकेछन्। फाट्टफुट्ट गरी मानिसहरूको जमघट भइसकेको थियो। सबै च्यान्टेकै छाना उडाएको कुरा गरिरहेका थिए। कोही भन्थे– ‘अब के गरेर छाना बनाउँछ त्यसले?’ कोही भन्थे– ‘सबै मिलेर एक दिन सघाउनुपर्छ।’

सबै मिलेर च्यान्टेको घर बनाइदिने टुङ्गो लाग्नै लाग्दा गाउँको साहु भनाउँदो भिमबहादुर त्यहीँ जमघटमा छिर्‍यो। जसको पछाडि २–४ जना भरौटेहरू पनि थिए। त्यस जमघटको केही समय कुरा बुझिसकेपछि उसले भन्यो– ‘किन सघाउने? आफ्नो काम छाडेर अरूलाई सघाउने फुर्सद कस्को छ? त्यो च्यान्टेले साहुको ऋण समयमा तिरेको भए यो गति हुन्थ्यो? ऋण पनि खाने, अनि घमण्ड पनि गर्ने। कम्ताको घमण्डी भा’को छ त्यो।’

सबैले हो मा हो मिलाए। उसका भरौटेहरूले समर्थन दिएपछि अरूले कुरा काट्न सकेनन्। सबै जना मुन्टो निहँराएर घरतिर लागे। आखिर बलियाको सामु बोल्न सक्ने क्षमता कोसँग थियो र?

च्यान्टे भने भुइँमा थचक्क बसी घुँडामा मुन्टो राखी घोरिएको थियो। हर्केले च्यान्टेले लिएर गयो। घरमा पुगेपछि हर्केले सान्त्वना दिँदै भन्यो– ‘जीवन भनेको संघर्ष रहेछ। त्यसलाई जित्न सक्नु नै पुरुषार्थ रहेछ। दुःखीलाई दुःख थपियो त के भयो? हामीमा दुःख खेप्न त बानी परिसकेको छ। अब किन दिल दुखाउने? केही सिप लागेन भने तेरो घर बनाउन म  मेरो ठुलो लप्सीको रुख काटेर दिन्छु। काठ जति पनि पुग्छ। किन चिन्ता लिन्छस्?’

यत्तिकैमा उनीहरूको कुरा सुनिरहेकी हर्केकी श्रीमतीले भनिन्– ‘हैन तपाईं के भन्दै हुनुहुन्छ हँ? सम्पत्तिको नाउँमा त्यही एउटा लप्सीको बोट छ। जसबाट बल्लतल्ल दुःखसुख परिवारको ज्यान धान्ने बाटो भएको छ। त्यै पनि च्यान्टे बावुलाई दिएपछि परिवार के ले धान्ने नि?’

यसरी हर्केकी श्रीमती च्याँठ्ठिएर कराएपछि च्यान्टेले भन्यो, ‘हैन भाउजू, दाइले लैजा भने पनि म कहाँ लान्छु र? त्यो लप्सीको फेदमा बन्चरो हान्नु भनेको त यी साना बच्चाहरूको घाँटी निमोठ्नु हो भन्ने मलाई राम्ररी थाहा छ।’ हर्केका बच्चालाई देखाउँदै च्यान्टे भन्दै थियो,  ‘विचरा जाहान पाल्ने पाटोमा पनि साहुले गोरु नार्‍यो। दाजुको कमाइ पनि केही छैन तर भाउजू यो दाजुको मन पनि किन यस्तो कमलो होला हगि?’

च्यान्टे भुन्टीसँग कुरा गर्न थाल्यो । एकछिन दुःखसुःखको कुरा गरेर च्यान्टे आफ्नो बाटो लाग्यो। हर्केलाई भने च्यान्टेलाई सघाउन नपाएकोमा थकथकी लाग्यो।

एकदिन हर्के र भुन्टी घरायसी कुरा गरिरहेका थिए। त्यत्तिकैमा साहु भिमबहादुर उसकै घरमा आइपुग्यो। उनीहरू कुरा गरिरहेकै ठाउँमा एक्कासि आएर बोल्यो– ‘हैन के सल्लाह गरिरहेका छौ?’ अचानक आएको भिमतिर दुवैले हेरे। भुन्टीले भित्र गएर गुन्द्री ल्याइन्। भिम साहुलाई दिँदै बस्न आग्रह गरिन्,  ‘यता बस्नोस्न साहु बा।’

हर्के र भुन्टीको ओठमुख सुकिसकेको थियो। सकीनसकी हर्केले पनि थप्यो, ‘यहाँ बस्नोस्न साहु बा।’

गुन्द्रीमा बस्दै भिमबहादुरले भन्यो– ‘हैन ए हर्के! तँ त्यो लप्सीको रुख च्यान्टेलाई दिने कुरा गर्थिस् रे नि। मैले पनि एउटा घर बनाउने विचार गरेको थिएँ। रतिरामको रुख मागेको थिएँ। त्यो त किराले खाएर काम नलाग्ने भएको रहेछ। चिराउँदा दुई सय खर्च मात्र भयो। मेरो दुई सय खोलामा नै गयो। के गर्नु मलाई ठूलो दशा लागेको रहेछ।’

हर्के निलो भयो। उसलाई रिँगटा लाग्लाजस्तो भयो। ठूलो हिम्मतका साथ भन्यो– ‘हैन साहु बा! मैले कहाँ त्यस्तो भनेको हुँ र? त्यो लप्सीको रुख नभए त मेरा यी बालबच्चाहरू भोकभोकै मर्छन् साहुबा! हजुरले त्यसो नभन्नु होला।’

भुन्टी भित्रबाट सुँक्कसुँक्क गर्दै बाहिर आएर साहुलाई त्यसो नगर्न पुकारा गर्छिन्। हर्केले पनि थप्यो, ‘त्यही लप्सीको आम्दानीबाट मेरा यी कोपिलाहरू बाँचेका छन् साहु बा! अस्ति मात्रै यो सानो छोराले उसको पेवा माँडा बेची जुत्ता किनेर ल्यायो। यो लप्सीले मलाई खानलाउन सबै पुर्‍याएको छ। त्यसैले हजुरले त्यो रुख काट्ने कुरा नगरी दिनु होला।’ उसले बिन्ती बिसायो।

भुन्टी रुञ्चे स्वरमा भन्दै थिइन्, ‘त्यो रुख पनि नभए त हामी मरिहाल्छौ नि। हाम्रो सम्पूर्ण सम्पत्ति त्यै एउटा रुख हो। त्यै पनि हजुरले काटिदिनु भएमा हाम्रो सर्वस्व नै जान्छ। त्यसो नभन्नु होला।’

तर साहुले मानेन। उनीहरूको विलौना सुन्ने हृदय ऊसँग कहाँ थियो र? उसले हर्केलाई भन्यो, ‘मैले त तँ सोझो छस् भन्ठानेको थिएँ। तँलाई अप्ठेरो पर्दा मैंले काम सारेको थिएँ तर अहिले तँलाई धेरै कुरा सिकाई सकेछन् अरुले हैन? तँ त्यसो भन्छस् भने मलाई तिर्नु पर्ने सबै साँवाव्याज यहीँ गन्। म यसै तेरो घरमा आएको हैन बुझिस्। अब तँ पनि ठूलो मान्छे भै सकिछस् हैन? पख्। अब तेरो दाजुलाई यहाँ बोलाई आजै मेरो पैसाको टुङ्गो लगाउँछु ।’

भिम साहुले हर्केको दाजुलाई बोलाउन पठायो। हर्केको दाजु एकछिनमै आइपुगे। भिमले सबै कुरा सुनायो। कुरा सुनेर हर्केको दाजुले पनि लप्सीको रुख काट्न नहुने नै सुझायो। उसले उल्टै साहुलाई सम्झाउने कोसिस गर्‍यो।

भिम उस्सै मान्ने मान्छे थिएन। उसले हर्केलाई आफ्नो ऋण तिर्न भन्यो। नत्र लप्सीको रुख काट्छौ भनेर धम्की दिएर ऊ त्यहाँबाट हिँड्यो।

तेस्रो दिन। भिम फेरि आयो। ऊसँग उसका भरौटेहरू पनि थिए। ती सबै लप्सीको फेदमा उभिए। भिम चुरोटको धुँवा उडाउँदै केटाहरूलाई अब रुख काट्न अह्राउदै थियो। हर्के त्यही पुग्यो। उसले रुख नकाट्न बिलौना गर्‍यो तर निर्दयी भिम आफ्नो अडानमा अडिग देखियो। ऋण नतिरे रुख काट्ने नै निधो गरेको बतायो। बाघको पञ्जामा परेको मृगको छटपटाहटको के नै अर्थ रहन्छ र? हर्के र भुन्टीको चीत्कारको कुनै वास्ता नगरी भिमले लप्सीको फेद नजिकै उभेको कुल बहादुरलाई आदेश दियो, ‘ए कुले, हान् बञ्चरो। म अहिले नै यो रुख ढलेको हेर्न चाहन्छु।’

भिमेको बचन भुइँमा खस्न नपाउँदै कुलेले लप्सीको फेदमा बन्चरो हान्यो। हर्केका बच्चाहरू बाआमा रोएको देखेर घोप्टो परीपरी रुँदै थिए। हर्केले देख्यो पूर्ण चन्द्रमाजस्तै गोलो मुहार भएकी भुन्टीले आफ्नो फाटेको बर्कोले आँसु पुछेकी। धनले  धन कमाएझैँ आँसुले आँसु कमाउँदो रहेछ। त्यसैले होला भुन्टीको आँखामा आँसु देखेपछि कताकता हर्केको आँखामा पनि आँशु चुहिन थाले। उसले आँसु पुछ्नै भ्याएन।

यत्तिकैमा बारीको डिलबाट हर्केको दाजु करायो, ‘खबरदार !’

हर्के झस्कियो। उसको दाजु भन्दै थियो, ‘त्यो रुखमा हात नहाल्। ए भिमे, तेरो पैसा बुझ्न यहाँ आइज्।’

सबैले मुखामुख गरे। भिमेको हातको चुरोट भुइँमा खसेको उसले पत्तै पाएन। ऊ नमिठो मुख लिएर बारीको डिलमा आयो। हर्केको दाजु भए ठाउँ  पुग्यो।

भिम साहुले आफ्नो पैसा थाप्यो। ऋण तिरेपछि लप्सीको रुख काट्न पाएन। आफ्नो घर बनाउन काठको खाँचो थियो। उसले अमिलो मन बनाउदै पैसा थापेको थियो। पैसा लिएर ऊ आफ्नो बाटो लाग्यो।

आफ्नो ऋण तिरिदिएकोमा हर्के दाजुसँग खुशी थियो। ऊ दाजुको गोडामै लम्पसार पर्‍यो। दाजुले उसलाई उठाउनुभयो। उसका भिजेका आँखा पुछ्दै भन्नुभयो, ‘तैले मेरा लागि धेरै गरेको छस्। मैले यति पनि गर्न नपाउनू?’

हर्केको हर्षको सिमा रहेन। उसका बच्चाहरू रुख नकाटिने  भयो भनेर रमाउन थाले।  

प्रकाशित: ३ पुस २०७८ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App