१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

नेपालको मौलिक पर्व यःमरि पुन्हि

नेपालभाषामा यः को अर्थ मनपर्ने र मरिको अर्थ रोटी अर्थात् मनपर्ने रोटी हुन्छ। सबैले मन पराउने हुनाले नै यस रोटीको नाम यःमरि राखेको हुनुपर्छ भन्ने धेरैको धारणा छ। पहिला पहिला यःमरि नेवाः समुदायले मात्र खाने गथ्र्यो। तर, अहिले यो नेवाः समुदायमा मात्र सीमित नभई विश्वभरि नै प्रचारप्रसार भइसकेको छ। गएको वर्ष एक नेपाली नागरिक सन्तोष शाहले ‘मास्टर सेफ युके २०२०’मा यःमरि बनाएर फाइनलसम्म पुग्न सफल भएका थिए। उक्त प्रतियोगितामा शाहले दोस्रो स्थान ओगट्न सफल भएका थिए।

यःमरि नेवार समुदायको मौलिक खाना हो। नेपाल सम्वत् अनुसार थिंला (पुस) पुन्हि –पूर्णिमा)को दिनलाई यःमरि पुन्हि भनेर मनाइन्छ। यो नेवाःहरूको मौलिक चाड हो।

यःमरि पुन्हिको दिन टोलटोलमा लय र भाका मिलाएर गीत गाउँदै नाच्दै यःमरि माग्न जाने चलन छ। खेतबारीको काम सकाएर नयाँ अन्न भित्र्याएपछि नयाँ धानको चामलबाट यःमरि बनाएर सबभन्दा पहिला लक्ष्मी, कुबेर, ढुकुटी तथा कुलदेवतालाई चढाइन्छ। अनि मात्र आफ्ना घरपरिवार र छरछिमेकीलाई बाँडेर रमाइलोसँग गीत गाउँदै यःमरि पुन्हि मनाउने परम्परा आजसम्म काठमाडौं उपत्यकामा चलिआएको छ। यस दिन अरू समुदायले उधौली पर्व र धान्य पूर्णिमा भनेर पनि मान्दै आएका छन्। बौद्धमार्गीले भने स्वयम्भू, चैत्य र बौद्ध विहारहरूमा भजनकीर्तन गरी स्तोत्र पाठ गरेर प्रार्थना गर्ने चलन छ।

नेवार समुदाय संस्कार र संस्कृतिमा धनी छ। किनभने नेवार यस्तो समुदाय हो, जसले समय र मौसम अनुसार स्वास्थ्यवर्द्धक भोजन गर्ने गर्छ। थिंला (पुस) महिनामा निकै चिसो हुने भएकाले यस मौसममा शरीरलाई तातोपना दिनका लागि चाहिने खानाका रूपमा चामलको पिठोलाई तातोपानीमा मुछेर त्यसमा चाकु राखी त्यसलाई सुहाउने स्वाद अनुसार तिल भुटेर पिसेर त्यसमा मिसाएर लेदो बनाइन्छ।

चामलको पिठोलाई माथितिर चुच्चो गरी बीचको भाग लाम्चो गोलाकारमा चैत्यको आकार गरी तलको भागमा औंलाको सहायताले प्वाल बनाएर त्यसमा चाकु र तिलको मिश्रण भरेर प्वाललाई बन्द गरी बनाइन्छ। त्यसपछि यःमरिलाई पोटासी (माटोको भाँडा जसको तलपट्टि प्वालप्वालै परेको हुन्छ) अथवा ममः पकाउने भाँडामा बफाएर खाइन्छ।

यःमरि चैत्य आकारमा बनाइने भएकाले यो रोटी विशुद्ध साकाहारी खानाका रूपमा खाने गरिन्छ भने मासु राखी बनाउनु हुँदैन भन्ने जनविश्वास छ।

बरु यसमा खुवा राखेर पनि बनाउने चलन छ। त्यस्तै यःमरि बनाउन विशेष गरी ताइचिन चामलको पिठोलाई पानीले पखालेर घाममा सुकाई पिनेर बनाएको पिठोबाट यःमरि बनाउँदा यःमरिको आकारप्रकार राम्रो भई स्वाद पनि मिठो हुन्छ। यःमरि बफाएर पकाउने भएकाले स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ। तर, यसमा चाकु राख्ने भएकाले मधुमेह रोगी र कमलपित्तको रोगीलाई भने पचाउन गाह्रो हुन्छ।

यस दिन नयाँ अन्न राखेको भकारी र भण्डारमा यःमरिको साथसाथै चामलको पिठोले बनाएको गणेश, लक्ष्मी, कुबेर, ख्याक,नाङ्लो,कछुवा, हात्ती तथा पशुपक्षीको आकार प्रकार पनि कलात्मक रूपमा बनाइन्छ भने दुईवटा ठुल्ठूलो यःमरि मायो र बायो भनी बनाउने चलन छ।

यस प्रकार बनाएका रोटीलाई भकारी वा ढुकुटीमा चढाएर पूजा गरिन्छ। यस दिन पूजा गरिने लक्ष्मीलाई धान्यलक्ष्मी भनिन्छ। यःमरि भकारी वा ढुकुटीमा राखेर पूजा गर्दा धनसम्पत्ति र अन्नको कहिल्यै कमी हुँदैन, सधैं लक्ष्मीले बास गर्छ भन्ने धार्मिक विश्वास छ।

यसरी चढाएको यःमरिलाई पूजा गरेर चार दिनपछि मात्र निकालेर प्रसादको रूपमा आफ्ना बिहे गरेर गएका छोरीबेटीलाई बोलाई आगोमा वा मकलमा सेकाएर खुवाउने चलन छ। तर, आजको आधुनिक जमानामा यसरी मकलको आगोमा यःमरि सेकेर खाने चलन भने प्रायः हराइसकेको छ।

यःमरिलाई यःमरि पुन्हिको दिन मात्र होइन अरू विशेष दिनहरूमा पनि नेवाः समुदायमा उत्तिकै  महत्त्व दिएको पाइन्छ। जस्तै बच्चाहरू दुई वर्षदेखि १२ वर्षसम्म यःमरिको माला लगाएर सगुन दिई जन्म दिन मनाउने परम्परा छ। त्यसतै चिभाःबुसादँ (चैत्यको जन्मदिन),मच्छिन्द्रनाथ र मीननाथको रथमा नरिवल खसाल्ने दिन पहिला यःमरि खसालेपछि मात्र नरिवल खसाल्ने चलन छ।

 जनबहालको सेतो मच्छिन्द्रनाथको रथमा पनि ध्वजापताका चढाउने बेला यःमरि चाहिन्छ, त्यस्तै गर्भवती भएको महिलालाई पनि बच्चा जन्मिनुभन्दा केही दिनअगाडि दहीचिउरा खुवाउँदा यःमरि पनि ख्वाउने चलन छ। नयाँ घर वा मन्दिर बनाउन सकेपछि पूजा गरेर घरको माथिल्लो तलाबाट यःमरि चढाउने चलन छ।

यःमरि कहिलेदेखि बनाएर खान थालियो भन्नेबारे एउटा किंवदन्ती यस प्रकार छ :  धेरै पहिला पनौतीमा एकजना ज्यादै धर्मात्मा सुचन्द्र नाम गरेका महाजन थिए। त्यस महाजनकी श्रीमती पनि साह्रै धर्मात्मा थिइन्। थिंलापुन्हिका दिन महाजन दम्पतीले बिहान सबेरै नुहाइधुवाइ गरेपछि नयाँ भित्र्याएको अन्नको चामलको पिठो पिनेर रोटी बनाई त्यसमा चाकु र तिल पनि मिसाएर बफाएर सबभन्दा पहिला धनधान्य लक्ष्मी र कुबेरलाई चढाए।

त्यसरी बनाएको रोटी प्रसादका रूपमा सबैलाई बाँडी खुवाए। यसरी चाकु र तिल मिसाएर रोटी बनाएर खुवाउँदा सबैले मिठो माने। यो कुरा थाहा पाएपछि एक दिन कुबेरले आफ्नो रूप बदलेर जोगीको भेषमा सुचन्द्रकहाँ भिक्षा माग्न आए। सुचन्द्र महाजनले पनि जोगीलाई पेटभरि यःमरि खुवाए। महाजनले आफ्नो पूजाकोठामा अरू देवदेवताको साथसाथै आफूलाई पनि सँगै राखेर पूजा गरिराखेको देखेपछि कुबेर अति नै प्रशन्न भएर सुचन्द्रलाई अझ बढी धनसम्पत्तिले भरिपूर्ण होस् भनी वरदान दिएर गए।

त्यस बेलादेखि सुचन्द्र महाजन झन्झन् धनी हुन थाले। आफू यसरी झन् धनी हुँदै गएका कारण महाजनले अरूलाई पनि भने। महाजनको कुरा सुनेर अरूहरूले पनि महाजनले जस्तै धान्यपूर्णिमाको दिन नयाँ अन्नबाट यःमरि पकाएर धनधान्य लक्ष्मी र कुबेरलाई चढाएर अरूलाई पनि यःमरि दान दिएर खाने परम्परा बस्यो भन्ने किंवदन्ती छ।

यःमरि पुन्हि नेपालको मौलिक पर्व र यःमरि नेपालको मौलिक खाना हो। विशेषतः यःमरिपुन्हि पर्वलाई किसानले विशेष  महत्त्व दिएर मनाउँछन्। त्यसैले यस दिन ज्यापु समुदायले ज्यापु दिवसका रूपमा मनाउँदै आएको छ। यःमरि नेवाः समुदाय वा नेपालमा मात्र नभई विदेशी माझ पनि लोकप्रिय भइसकेकाले यसको प्रचारप्रसार गर्नु हामी सबैको कर्तव्य र दायित्व पनि हो।

प्रकाशित: ३ पुस २०७८ ०४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App