१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

राष्ट्रप्रेम र मातृप्रेमको अनुपम सङ्गम आमा

पुस्तक

ज्ञाननिष्ठ ज्ञवाली नेपाली साहित्यमा परिचित नाम हो। नेपाली साहित्यका कविता, निबन्ध, समालोचना,पाठ्यपुस्तक र बालसाहित्यमा उनको कलम क्रियाशील रहेको पाइन्छ। २०५३ सालदेखि कवितामा कलम चलाउन थालेका ज्ञवालीले २०५६ सालमा ‘जन्मभूमिको सम्झना’ कविता प्रकाशित भएपछि औपचारिक रूपमा आफ्नो काव्ययात्रा आरम्भ गरेका हुन्। २०७७ सालमा बुद्धिको पाइला कवितासङ्ग्रह प्रकाशित गरेका कवि ज्ञवालीको २०७८ सालको सुरुमै आमा खण्डकाव्य प्रकाशित भएको छ।

भनिन्छः कुपुत्रको जन्म हुन सक्छ तर संसारमा कुमाताको जन्म हुँदैन। अरूको लाख आमाको काख भन्ने त लोकोक्ति नै छ। आमा ममताकी खानी हुन्। आमा दया,माया र करुणाकी प्रतिमूर्ति हुन्। आमाको ममताको कारणले नै यस संसारले निरन्तरता पाएको छ।

आमामा मातृशक्तिको अपार क्षमता लुकेको हुन्छ। आफ्ना सन्ततिका निम्ति आमा सर्वस्व हुन्। उनले सन्तानलाई जीवनरूपी नदीमा हेलिन र त्यसबाट पार हुनका लागि डुङ्गा र बहना दिएकी हुन्छिन्। उनैले सन्ततिको भाग्यरेखा कोरिदिन्छन्।

उनले सन्ततिका जीवनमा इन्द्रेणीका रङ भरिदिन्छन्। आमाले नै संसारमा कसैले दिन नसक्ने स्नेह एवम् ममताले सिञ्चित गरिदिन्छिन्। यस्ती जीवनदायिनी आमालाई मुख्य विषयवस्तु बनाएर कवि ज्ञाननिष्ठ ज्ञवालीले आमा खण्डकाव्यको सिर्जना गरेर आमाको महिमागान गरेका छन्।

ज्ञाननिष्ठ ज्ञवालीद्वारा रचित आमा खण्डकाव्य आठ सर्गमा विस्तारित छ। यसको पहिलो सर्गमा कविले ‘आरम्भ’ शीर्षकबाट मङ्गलाचरण गरेका छन्। दोस्रो सर्गलाई उनले ‘आमा (नेपालआमा) को महिमा’ शीर्षक दिएका छन्। ३४ श्लोकमा लेखिएको यस सर्गमा आमाले सन्तानलाई सुख दिन्छिन्, सन्ततिमा अभय,आरोग्य र आनन्दको वर्षा गर्दछिन् भन्ने भाव प्रकट गरेका छन्। उनले यहाँ आमाले सन्तानलाई हुर्काउँदा, तिनलाई खानेकुरा खुवाउँदा, नुहाउँदा, आफ्नै काखमा राखेर पढाउँदा,सुताउँदा र नचाउँदा गरिने क्रियाकलापलाई काव्यात्मक वाणी दिएका छन्।

कविले आमाको महिमागानमा नौनी तथा मह जस्ता उपमाहरूको प्रयोग गरेका छन्। यसै सर्गमा कविले आमाले आफ्ना सन्ततिको उन्नतिका लागि सिलाइबुनाई, खेतीपाती र पशुपालनजस्ता घर–व्यवहारका तमाम काम आफैँ गर्दछिन्, आमाले आफ्ना लागि केही सञ्चय गर्दिनन्,सबै रहर र चाहनाका कुरा गुमाएर भए पनि सन्ततिको उज्ज्वल भविष्यको कामना गरेकी हुन्छिन् भन्ने उल्लेख गरेका छन्।

खण्डकाव्यको तेस्रो सर्गलाई कविले ‘अनेक रूपमा आमा’ शीर्षक दिएका छन्। यसमा उनले आमालाई स्रष्टा,साक्षात् भगवती, परम परमेश्वरी पार्वती, विद्याकी देवी सरस्वती, यशोदा, कौशल्या,कैकेयी, सुमित्रा आदिका रूपमा वर्णन गरेका छन्।

उनले आमालाई आमा, हजुरआमा,सानिमा, सासू, आमाजू, नन्द, दिदी,भाउजू, बुहारी,फुपू आदि नारीका विविध स्वरूपमा चिनाउने प्रयास गरेका छन्। वंशदीपले आफ्नो कुल उज्यालो पार्ने आमाको कविले यहाँ मुक्तकण्ठले यशोगान गाएका छन्।

आमा खण्डकाव्यको चौथो सर्गलाई कवि ज्ञवालीले ‘अनेक रूपमा नारी’ शीर्षक दिएका छन्। नारीहरू आमाकै रूप हुन्। यहाँ पनि उनले नारीकै गौरवलाई महत्त्व दिएका छन्।

कति नारीहरू घर व्यवहारमै सीमित छन् भने कति नारीले घर, कार्यालय, व्यापार,व्यवसाय आदिमा आफ्नो क्षमता प्रदर्शन गरेका छन्।

यसै गरी उनले मुलुकको राष्ट्रपति जस्तो गरिमामय सर्वोच्च पदमा पनि नेपाली नारी आसीन रहेको वास्तविकताको वर्णन गरेका छन्। उनले सीता,भृकुटी जस्ता पौराणिक तथा ऐतिहासिक नारी विम्बलाई काव्यमा समेटेका छन्। त्यसै गरी पर्वतारोहण क्षेत्रकी पासाङ ल्हामु शेर्पा र नेपाली साहित्यकी धरोहर पारिजातलाई पनि बिर्सेका छैनन्।

उनले नारीलाई आधा आकाशको उपमा दिँदै आमाले नै यस सृष्टिलाई निरन्तरता दिएकी हुँदा उनलाई सबैले सम्मान गर्नुपर्ने विचार अभिव्यक्त गरेका छन्।

खण्डकाव्यको पाँचौँ सर्गलाई कवि ज्ञवालीले ‘मेरी आमा’ शीर्षक दिएका छन्। यस सर्गमा उनले आफ्नी महतारी इन्दिरादेवीको जीवनवृत्तलाई काव्यात्मक रूपमा अभिव्यक्त गरेका छन्। यहाँ कविले देशकै रमणीय स्थल पाल्पाको खनाल वंशमा जन्मेर नौ वर्ष नपुग्दै वैवाहिक जीवनमा आबद्ध भएर गुल्मीको थोर्गा पुगेको उल्लेख गरेका छन्। आमाले आफ्नो कर्मघर गुल्मीको वनपाखा, घरधन्दा र मेलापातमा रमाएर घरका सबैलाई रिझाएको चर्चा गरेका छन्।

यसै सर्गमा कवि ज्ञवालीले गाउँको आँटोपिठो खाएर चार बीस उमेर बिताएकी आमाले चार छोरी र दुई छोरालाई जन्म दिएको उल्लेख गरेका छन्। छोरीहरूको विवाहपछि उनीहरू आ–आफ्ना घर जाँदा मनमा जुन पीडा उत्पन्न भएको थियो दुई छोराको विवाहपछि बुहारी ल्याउँदा आमाका अनुहारमा खुसीका रेखाहरू कोरिएको वर्णन गरिएको छ।

कवि ज्ञवालीले यसै सर्गमा आफ्नी आमाका सबै सन्ततिको उल्लेख गरी यसमा आमाकै आशीर्वाद रहेको चर्चा गरेका छन्। आमाले अकस्मात् ४७ वर्षको उमेरमा पति वियोगको शोकमा चुर्लुम्म डुब्नुपरे पनि सन्ततिहरूको मुख हेरेर सबै दुःखकष्टका महासागर पार गरेको वर्णन गरेका छन्। उनले आमाले लाखौँ हन्डर र ठक्कर खाएर समस्त परिवारको भरणपोषण र संरक्षण गरी समाजका सक्षम नागरिक बनाएकामा उनीप्रति श्रद्धाभाव अभिव्यक्त गरेका छन्।

उनले आफ्नो जीवनमा आमाको अतुलनीय स्नेह र ममता रहिआएको कुरा बताएका छन्। आमाका दुःख, पीर, व्यथा, वेदनाप्रति आफू नतमस्तक रहेको र प्रस्तुत काव्यका माध्यमबाट उनको महिमागान गाएको सन्दर्भ अघि सारेका छन्। उनले मातृऔंसी एक दिन मात्र होइन जिन्दगीभरि आमाको सम्मान गर्नुपर्छ र उनका अनुहारमा मलीनताको रेखा कोरिन दिनुहुँदैन भन्ने भाव प्रकट गरेका छन्।

खण्डकाव्यको छैटौँ सर्गलाई कवि ज्ञवालीले ‘केही सल्लाह’ शीर्षक दिएका छन्। यस सर्गमा उनले सन्ततिको जन्म लालनपालन र उनीहरूको सुरक्षित भविष्य निर्माणमा आफूलाई समर्पण गर्ने आमाबाबुलाई सन्ततिहरूले जिउँदैमा सम्मान र श्रद्धा गर्नुपर्ने धारणा अघि सारेका छन्।

वर्तमान सन्दर्भमा आमाबाबुलाई अवहेलना गर्ने र उनीहरूलाई वृद्धाश्रमको बाटो देखाउने सन्तानहरूलाई कवि ज्ञवालीले बाबुआमा जीवित देवता ठानी उहाँहरूको सेवा सुश्रूषा गर्न आग्रह गरेका छन्। धनसम्पत्ति क्षणिक वस्तु हुन्, छोराछोरीलाई सम्पत्तिको धाक नदेखाई र घमण्ड नगरी आफ्ना मातापिताका सेवामा संलग्न हुन आग्रह गरेका छन्।

आमा खण्डकाव्यको सातौँ सर्गलाई खण्डकाव्यकार ज्ञवालीले ‘कोरोना कहर’ शीर्षक दिएका छन्। आफ्नी आमालाई सम्बोधन गर्दै झ्याउरे लयमा लेखिएको यो सर्ग सन् २०१९ मा हाम्रो उत्तरी छिमेकी देश चीनमा उत्पत्ति भएर संसारैभरि फैलिएको र लाखौंको सङ्ख्यामा मानिसको ज्यान लिएर आजसम्म पनि नियन्त्रणमा आउन नसकेको कोभिड १९ महामारीमा केन्द्रित छ।

काव्यकारले यस डरलाग्दो महामारीले गर्दा आफूभन्दा टाढा रहेका परिवारजन, इष्टमित्र,नातागोतासँग प्रत्यक्ष रूपमा भेटघाट,वार्तालाप र भलाकुसारी गर्न पनि गाह्रो भएको प्रसङ्ग ल्याएका छन्। विश्वव्यापी रूपमा फैलिएको यस महामारीले आफन्तजन जम्मा भएर मनाइने चाडपर्व पनि मनाउन नपाउँदा खल्लो भएको बयान गरेका छन्।

उनले यस महामारीबाट जोगिनका लागि माक्स लगाउन, भीडभाडबाट टाढा रहन र पटकपटक साबुनपानीले हात धुन गरेको आग्रहलाई काव्यात्मक रूपमा अभिव्यक्त गरेका छन्।

आफन्तजनसित भेट गर्दा पनि अङ्कमाल गर्ने र हात मिलाएर आत्मीयता प्रकट गर्नुभन्दा टाढैबाट नमस्कार गरी अभिवादन आदानप्रदान गर्ने सुझाउ दिएका छन्। महामारी कायम रहेसम्म सबैले धैर्य गर्न र आफ्ना सुखदुःखका कुरा टेलिफोनका माध्यमबाट आदानप्रदान गर्न सुझाएका छन्।

यस खण्डकाव्यको आठौँ तथा अन्तिम सर्गलाई कवि ज्ञवालीले ‘समापन’ शीर्षक दिएका छन्। यस सर्गमा उनले यस सृष्टिलाई सञ्चालन गर्ने आमा हुन्, सन्तान हुर्कीबढी टाढाटाढा पुगे पनि आमाको स्नेहधारा अविरल बहेको हुन्छ, सन्तानले टाढा पुगे पनि आमाका दूधको भारा, त्याग र मायालाई भुल्नुहुँदैन,आमाले मैनबत्ती जस्तै आफूलाई जलाएर सन्ततिको भविष्य निर्माण गरेकी हुन्छिन्,उनी सन्ततिहरूकी सर्वस्व हुन्, सन्ततिहरूले उनको जीवनभरि नै महिमागान गरे पनि थोरै हुन्छ भन्ने भाव प्रकट गरेका छन्। यसरी कवि ज्ञवालीले आमाको महिमा अपरम्पार भएकाले सबै सन्ततिले आमाप्रति अटूट सम्मान, श्रद्धा र आदर गर्नुपर्छ भन्ने विचार अभिव्यक्त गरेका छन्।

आमाको महिमागान गरी लेखिएको यस खण्डकाव्यमा काव्यकार ज्ञाननिष्ठ ज्ञवालीले सरल भाषाको प्रयोग गरेका छन्।

भाषिक सरलता यस खण्डकाव्यको महत्त्वपूर्ण पक्ष हो। उनले यस काव्यमा उपजाति, अनुष्टुप, सबाई र झ्याउरे गरी जम्मा चार छन्दको प्रयोग गरेका छन्। यी लयको प्रयोग गरी उनले भावलाई लयात्मक मिठास दिएका छन्।

आमाको स्नेह, ममता, त्याग र समर्पण र सन्ततिप्रति उनको निस्वार्थ मायालाई विभिन्न अलङ्कारको प्रयोग गरेर अभिव्यक्त गरेकाले काव्य मार्मिक बन्न पुगेको छ। यसरी कवि ज्ञवालीको यो खण्डकाव्य नेपाली साहित्यमा एक उल्लेखनीय कृतिका रूपमा प्रस्तुत भएको पाइन्छ।

प्रकाशित: २५ मंसिर २०७८ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App