१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बूटी २

कथा

सत्राजित शयन कक्षमा पुग्दा दीपाधारमा दियो जलिरहेको थियो। पलङको छेउमा रहेको फलेकमा सधैँ तामाको अम्खोरामा पानी हुन्थ्यो, त्यस रात चाँदीको गिलासबाट मन्दमन्द बाफ उडिरहेको थियो।

यो दूध अवश्य पनि जाम्बवतीले मेरै लागि राखेकी हुन्। अथिति परेँ, अनुमतिविना कसरी पिऊँ! यस्तै सोचेर सत्राजित पलङमा पल्टिएका थिए। ढोकानजिकै उनले कालो छाया देखे।

‘दूध तिम्रै लागि राखेकी हुँ,पिउनू,’ ढोकादेखि परै उभिएर जाम्बवती बोलिन्।

केही नबोली सत्राजितले गिलास उठाएर पिए। दूधमा केरा र घिउलाई लेदो पारेर मिसाइएको थियो।

‘सबै कुरामा शब्दगत अनुमति आवश्यक हुँदैन। व्यवहारले पनि अनुमति व्यक्त गर्छ,’जाम्बवती बोलिन्।

‘तिमी कुन अनुमतिको पर्खाइमा बाहिर उभिएकी छौ त? कि मैले व्यवहारले समीपमा बोलाउन जानिनँ?’ मधुर दियोको प्रकाशमा टल्किरहेका जाम्बवतीका आँखा नियाल्दै सत्राजित बोले।

जाम्बवती केही नबोली आफ्नो शयन कक्षतिर लागिन्। सत्राजित गहिरो निद्रामा परे।

भोलिपल्ट बिहानै जाम्बवती घोडा लिएर निस्किन्। उनलाई आफ्नो प्रेमी सत्राजितको गाउँ मायापुरी पुग्नु थियो। उनको गाउँदेखि मायापुरीसम्म वेगवान् घोडाले एकै दिनमा पुर्‍याउँथ्यो,साधारण घोडामा वा पैदल जाँदा भने बीच बाटोमा बास बस्नुपर्थ्यो।

एउटी यौवनालाई यति लामो यात्रा गर्न बाघभालुसँगै दुष्ट मानिसको पनि डर हुन्थ्यो। उनले बाघभालुको सामना गर्न तरबार बोकेकी थिइन्, दृष्ट मानिसदेखि बच्न कुष्ठरोगीको भेष धारण गरिन्।

मानिसहरूले कुष्ठरोगीलाई छिःछिः र दूरदूर गर्थे, नजिकै पर्दैनथे। संयोगवश, उनलाई बाटोमा कुनै कष्ट आइलागेन। सत्राजितको गाउँ पुग्नुअघि कतै एकान्तमा बसेर उनले कुष्ठरोगीको भेष उतारिन् र आफ्नै स्वरूपमा फर्किइन्।

सत्राजितको गाउँ मायापुरीको बीच भागमा एउटा चौतारी थियो। दिनान्त भएकाले चौतारीमा थुप्रै मानिस भलाकुसारी गरिरहेका थिए। चौतारी नजिकै घोडालाई बाँधेर उनी मानिसहरू भएतिर गइन्। जाँदै गर्दा उनलाई अकस्मात् एउटा ठूलो बोकोले आक्रमण गर्‍यो।

त्यो बोको कुनै किसानको घरबाट दाम्लो चुँडालेर भागेको थियो। बोकोले पहिलोपटक आक्रमण गर्दा उनी छलिइन्। तर,त्यसले जाम्बवतीलाई लखेटी लखेटी आक्रमण गर्न थाल्यो।

जाम्बवतीले त्यसलाई समाउन पनि सक्थिन् तर त्यसो गरिनन्, उनले त्यसलाई मार्ने निधो गरिन्,ताकि गाउँलेहरूसँग संवाद गर्ने बलियो पृष्ठभूमि बनोस्। उनले आफ्नो तरबार निकालेर बोकोको घाँटी एकै मारमा छिनालिदिइन्। त्यस अघिसम्म चौतारीमा उपस्थित गाउँलेहरू कोही त्रासले त कोही मनोरञ्जनका हेतुले चिच्याइरहेका थिए, एउटी स्त्रीले एकै मारमा तरबारले बोको छिनालेको देखेपछि भने उनीहरूको बोली बन्द भयो।

कोही नबोलेपछि जाम्बवतीले आफ्नो बारेमा कथा बुनेर सुनाइन्।

क्षमा गर्नुहोला,मैले यो बोकोको हत्या गर्न पुगेँ। मैले जानीजानी यसो गरेकी होइन, यो घटना अकस्मात् हुन पुग्यो। म जाम्बवती राज्यकी एक साधारण स्त्री हुँ। मेरो नाम सरयू हो। शारदा नामकी मेरी एक प्रिय सखी थिई। हामीबीच असाध्यै घनिष्ठ सम्बन्ध थियो,हामी एकअर्काबाट छुट्टिएर एक पल पनि रहन सक्दैनथ्यौँ। किन्तु, हठात् मेरी सखी हराई।

उसलाई यही गाउँको सत्राजित नाम गरेको सिकारीले मोहपासमा पारी लगेको छ भन्ने खबर सुनेँ। म सखीलाई खोज्दै यहाँ आएकी हुँ। म कुनै राजकुमारी होइन। यो तरबार त मैले आफ्नो आत्मरक्षार्थ बोकेकी हुँ।

जाम्बवतीले आफूलाई सामान्य स्त्री बताएपछि बोकोको मालिक अगाडि सरेर बोले–म अरू केही जान्दिनँ,मलाई बोकोको क्षतिपूर्ति चाहिन्छ।

‘क्षतिपूर्ति तिर्न मसँग पण छैनन्,’थकित भावमा यति भनेर जाम्बवती केहीबेर चुप लागिन् र केही सम्झेजस्तो गरेर भनिन्, ‘अघि बाटोमा एउटा पहेँलो धातु भेटाएकी थिएँ। कतै यो सुन पो हो कि ! हो भने यो सबै लिनू।’

उनले पोल्टाबाट एउटा सुनको टुक्रा निकालिन् र बोकोको मालिकलाई दिइन्। जुन सुन उनले घरैदेखि व्यवस्था गरेर हिँडेकी थिइन्।

त्यहाँ सुनको जाँच गर्ने व्यक्ति पनि थिए, उनले तुरुन्तै त्यस टुक्रालाई सुन भनी प्रमाणित गरे। सुनको टुक्रा पाएपछि बोकोको मालिक केही नबोली घरतिर लागे।  जाम्बवतीलाई थाहा थियो–साधारण मानिस साहसी र शस्त्रधारी व्यक्तिसँग डराउँछन्। 

अनि, सुनलाई साधारण शिलाबराबर मान्ने व्यक्ति केही थाहा नभएको सोझो वा सबै थाहा भएको असाधारण ठहरिन्छ। त्यसैले उनले यो घटना घटाएकी थिइन्, सखीको कथा उनले पहिले नै बुनेकी थिइन्। कथा र घटनाले काम गर्‍यो। त्यसो त मानिसहरू कथा र घटनाकै पछि कुदिरहेका हुन्छन्।

त्यहाँ सबैले जाम्बवतीलाई साधारण स्त्री सम्झे। सत्राजितकी बहिनी गुणवती र भाइ शक्तिसेन पनि त्यहाँ उपस्थित थिए, दाजुको खबर ल्याएकी दूतलाई उनीहरूले घरमा लिएर गए।

सत्राजित घर नफर्केको धेरै दिन भएको थियो। पछिल्ला केही दिनदेखि कुनै खबर नआउँदा उनकी आमा योगमाया छोराको पीरले बिरामी परेकी थिइन्। तन र मन गलेर ओछ्यान परेकी सत्राजितकी आमालाई जाम्बवतीले जडीबुटी खुवाइन्।

औषधि खाएर एक रात निदाएकी उनी बिहान ब्युँझँदा तंग्रिएर उठिन्। त्यसमाथि छोराको खबर पाएर उनी खुसी थिइन्। उनले शब्दमै भनिन्–मेरो छोराले तिमीलाई किन भगाएन? यी शब्दले जाम्बवतीको मन–मुटुमै स्पर्श गरे,उनी बेसरी लजाउन पुगिन्। जाम्बवतीको लजालु मुहार पढेर योगमाया र गुणवतीले शंका गरे– सत्राजितकी सच्चा प्रेमिका यिनै हुनुपर्छ। यिनले यहाँ कुनै चाल रच्दै छन्।

स्त्रीहरू स्त्रीकै मनोदशा बुझ्न माहिर हुन्छन्।

सत्राजितको घरमा ६ दिन बसेर जाम्बवती घर फर्किन्। त्यतिन्जेल जाम्बवतीले आफू सत्राजितको प्रेमिका भएको कुनै भान दिइनन्। सखीको हालखबर बुझ्न आफू फेरि पनि आउने वाचा गर्दै उनी त्यहाँबाट बिदा भइन्। उनको सुरक्षाका लागि पिता जाम्बवन्तले मदिरा व्यापारीका रूपमा सेना पठाएका थिए। फर्कंदा उनी सेनासँगै फर्किइन्।

जाम्बवतीले दिएको दूध पिएर सुतेका सत्राजित सातौँ रातपछि ब्युँझिए। दूधमा निद्राको जडीबूटी मिसाइएको थियो। योबीचमा सत्राजितको रेखदेख जाम्बवन्तले गरेका थिए। पुत्री फर्केपछि जाम्बवन्तले एकान्तमा लगेर सम्झाए– तिमीले ठीक गरिनौ पुत्री।

तिमीले सत्राजितलाई अप्राकृतिक निद्रा दियौ,यो प्राकृतिक न्याय होइन। मानिसको इच्छाविपरीत यसो गर्नु अन्याय हो।अर्कोतिर, कहिलेकाहीँ औषधिको मात्रा र शरीरको प्रकृति नमिलेर मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।

पितालाई ध्यान दिएर सुनेपछि जाम्बवती बोलिन्– हजुर हुँदै हुनुहुन्थ्यो त, मलाई केको पीर !

जाम्बवन्तले भने– पुत्री! अरूको बल र विद्यामा विश्वास गर्नु दास मनोवृत्ति हो। आफ्नो बल र विद्याको स्वामी हुने अभ्यास गर्नु, जीवनमा पछुताउनुपर्दैन।

ब्युँझेकै बिहान घोडा लिएर सत्राजित आफ्नो घर मायापुरीतिर लागे। बिहानै वेगवान् घोडा लिएर हिँडेका उनी साँझ घाम नपुग्दै गाउँको चौतारीमा पुगेका थिए। चौतारीमा गाउँलेले उनलाई घेरेर सोधे–खोइ त तिम्री पत्नी शारदा?

गाउँलेका कुराले सत्राजितलाई असमञ्जसमा पार्‍यो। सत्राजितले केही थाहा नभएजस्तो गरेपछि गाउँलेले सबै घटना बताए। गाउँलेका कुरा उनलाई काल्पनिक कथा वा सपनाजस्तै लागिरहेको थियो। उनी केही नबोली घरमा गए। घरमा पनि बहिनी,भाइ र आमाबाट उही कथा दोहोरियो। अब भने सत्राजितलाई भयानक भ्रम भयो।

यता सरयू र शारदाको कथा, उता जाम्बवतीको माया– उनलाई दुवै भ्रम लाग्न थाल्यो। अझ उनलाई आफूले बाँचेको वर्तमान नै भ्रम लागेको थियो। आफूमाथि के भइरहेको छ भनी उनले सोच्नै सकेका थिएनन्।

मनको शान्तिका लागि सत्राजित हरेक महिनाको पहिलो दिन एक वृद्धालाई भेट्न जान्थे। ती वृद्धा कुनै जवानाकी नगरवधु थिइन्। उमेर ढलेसँगै उनी मायापुरीनजिकै आश्रम बनाएर बसेकी थिइन्। उनको आश्रममा परपरदेखि संकटमा परेका र असहाय स्त्रीहरू बस्न आएका थिए। उनीप्रति सत्राजितको श्रद्धाभाव थियो।

मनमा भ्रम र अशान्ति बढ्दै गएपछि सत्राजितले तिनै वृद्धालाई सम्झिए। उनी घोडा लिएर तुरुन्तै वृद्धाको आश्रमतिर लागे। उनी आफ्नो हिसाबमा ठीक संक्रान्तिकै दिन त्यहाँ पुगेका थिए। तर, वृद्धाले सोधिन्,‘यसपालि किन सात दिन ढिला गरिस्?’

सत्राजितले आफू ठीक महिना दिनमै आएको भनी अडान गरे। वृद्धाले जोड दिएर भनिन्, ‘ए मूर्ख! तँ सात दिन ढिलो भएको छस्। आज संक्रान्ति होइन, ८ गते हो। तेरो जीवनको सातवटा दिन कसले हर्‍यो ? कहाँ गयो?’

सत्राजित झस्किए,उनी तिथिमिति ख्याल गरेर चल्ने व्यक्ति थिए। अब भने उनले आफूलाई पागल स्विकार्न मात्र सकेका थिएनन्।

वृद्धाले सत्राजितको अनुहारमा गहिरोसँग नियालेर सोधिन्, ‘तँ कसको प्रेममा  परिस् केटा?’

सत्राजितले सबै कथा सुनाए। उनलाई सुनिसकेपछि वृद्धाले भनिन्, ‘मायामा यस्तै हुन्छ। मायाको न्यानोले महिना पनि निमेषजस्तो लाग्छ। जसले तेरो जीवनको सात दिन लुटेकी छे, उसैले तँलाई सयौँ दिनको आयु थपेकी छे। ऊ साधारण केटी होइन,दूधमा निद्राको बुटी मिलाएर तँलाई सात दिनसम्म सुताई र आफू सरयू बनेर तेरो घरमा आई।

ऊ तेरो गाउँ,तेरो परिवारलाई बुझ्न आएकी थिई। तेरी आमाको मन जिती। उता एउटा बोकोको क्षतिपूर्तिमा हजारवटा बोको बराबरको सुनको टुक्रो दिई। उसले बोको मालिकलाई मात्रै होइन, सम्पूर्ण ग्रामवासीलाई नैतिक रूपमा हराएकी छे। किनभने गाउँका अधिकांशको मिलेमतोमा त्यो सुनको टुक्रो राखिएको थियो।

म त यस केटीमा त्यस्ता लक्षण देख्दैछु, जसले तँलाई राजनेता हुने बाटोमा हिँडाउनेछे।’

वृद्धाबाट भ्रम निवारण भएपछि सत्राजित घर फर्के। साँझको खाना खाएर उनले दियोको उज्यालोमा चित्र कोर्न थाले। चित्रलाई पूर्णता दिन उनले आधारात लगाएका थिए। प्रातःकाल अबेरसम्म उनी गहिरो निद्रामा परे। दाइलाई के भयो भनी भाइ शक्तिसेन र बहिनी गुणवती उनको शयन कक्षमा पुगे।

विशेष किसिमको एक कपडालाई छातीमा लगाएर सत्राजित निदाएका थिए। उनीहरूले त्यस कपडा उठाएर हेरे, त्यसमा सरयू (जाम्बवती)को चित्र थियो। उनीहरूले त्यो चित्र आफ्नी आमा योगमायालाई देखाए। आफूले पनि मन पराएकै कन्यालाई छोराले विवाह गर्न लागेको थाहा पाएपछि योगमाया प्रशन्न भइन्।

भाइ शक्तिसेनले सरयू अर्थात् जाम्बवतीलाई देखेदेखि भित्रभित्रै प्रेम गर्न थालेका थिए,जब उनले जाम्बवती आफ्नै दाजुको प्रेमिका भएको थाहा पाए,आफूभित्र उनीप्रति पलाएको प्रेमलाई भाउजुको सम्मानका रूपमा बदल्ने दृढ निश्चय गरे।

सत्राजित ब्युँझेपछि आमालाई साष्टाङ्ग दण्डवत गर्दै भने, ‘माता ! मैले जाम्बवती राज्यकी राजकुमारी जाम्बवतीलाई प्रेम गर्छु। उनीसँग विवाह गर्नका लागि म हजुरको आज्ञा चाहन्छु।’

योगमायाले स्मित हाँसोसँगै पुत्रको शिरमा हात राखेर आज्ञा दिइन्। सत्राजित जाम्बवतीलाई विवाह गरी ल्याउनका लागि घोडा लिएर निस्के। उनीसँग बहिनी गुणवती,भाइ शक्तिसेन र गाउँलेहरू पनि सुरक्षार्थ जान खोजेका थिए। तर सत्राजितले लगेनन्।

जाम्बवती यस्तो राज्य हो, त्यहाँ एक्लै जाँदा सुरक्षित भइन्छ तर दलबलसहित जाँदा भन्न सकिँदैन। त्यसैले मलाई एक्लै जान देऊ–यति भनेर सत्राजित आफ्नो बाटो लागे।

विवाहबारे सबै कुरा मिलिसकेको थियो। एक–दुई दिनमै सत्राजितले जाम्बवतीलाई आफ्नो घरमा लिएर आए। बाटोमा उनीहरूको सेवा र सुरक्षार्थ जाम्बवन्तले केही सिपाही पठाएका थिए।

जाम्बवन्तको आँगनमा हरेक साँझ आगो बल्थ्यो। गाउँलेहरू आगोको वरिपरि बसेर नाचगान गर्थे। नाचगानपछि सारा दुःखकष्टको भारी फ्याँकेजस्तो अनुभव गरी आनन्दले सुत्थे।

त्यहाँ आगो बलेको दृश्य निकै परसम्म देखिन्थ्यो, दुई–तीन गाउँसम्म त नाचगानको आवाज सुनिन्थ्यो। गाउँलेका लागि यो एक संस्कृति र अनुष्ठान बन्दै गएको थियो। मानिसहरू क्रमशः यसप्रति अभ्यस्त हुन थालेका थिए। सबै जम्मा भई नाचगान गर्दा एक प्रकारको शान्तिको आभास गर्थे। यो उनीहरूका लागि आस्था र विश्वाससँगै जीवनको लय बन्दै थियो।

वरपरका गाउँलाई पनि यसले एउटा आधार र आभास दिएको थियो– त्यहाँ मानिसहरूको एउटा सुन्दर गाउँ छ,जीवनको एक ज्योति छ।

जाम्बवती विवाह गरेर गएकै दिनदेखि त्यो ज्योति निभ्यो। जाम्बवती नहुँदा गाउँलेहरू खिन्न थिए। जाम्बवती धेरैकी प्रिय थिइन्। उनको हृदयभरिको प्रेमको न्यानो धेरैले महसुस गरेका थिए।

महिना दिन बित्यो। जाम्बवन्तको आँगनमा त्यो ज्योति फर्केन। एक दिन बिहानै तीनै गाउँका मानिस जाम्बवन्तको आँगनमा जम्मा भएर प्रस्ताव गरे–नाचगानको परम्परा पुनः सुरु गर्नुपरयो।

जाम्बवन्त बोले– म यही दिनको पर्खाइमा थिएँ। आज यहाँहरू आउनुभयो, म खुसी छु। हाम्रो कुनै आस्था,विश्वास र विधि हुनैपर्छ। तर, त्यो सामूहिकता, सार्वभौमिकता र सत्यमा आधारित हुनुपर्छ। आस्था र विश्वासविनाको मानिस घामतारा विनाको आकाशजस्तै हुन्छ।

आज साँझदेखि घाम डुबेर आकाशमा जुनतारा देखिन थालेपछि आगो बालेर नाचगान गरौँ। हरेक दिन सबैले दाउरा लिएर आउने गरौँ। जो पहिले आउँछ, उसैले आगो सल्काऊँ र यो परम्परालाई सुखदुःख जे पर्दा पनि नरोकौँ। हावापानीबाट बच्ने गरी एउटा छुट्टै आगो बाल्ने स्थान पनि निर्माण गरौँ।

जाम्बवन्तको सल्लाहमा सबै सहमत भए। त्यही साँझदेखि आगो बालेर नाचगान गर्ने परम्परा पुनः सुरु भयो।

विवाहपछि सत्राजित र जाम्बवती सुख–सयलमा दिन बिताउँदै थिए। पति सत्राजितको प्रेम,नन्द गुणवती र सासुआमा योगमायासँगको सुमधुर सम्बन्धले जाम्बवतीको मन भुलाउन त खोज्थ्यो,तर उनलाई आफ्नी आमा महाश्वेताको माया र सम्झनाले बेला बेला सताउँथ्यो।

एक दिन उनी मझेरीमा बसेर टोलाउँदै थिइन्, उनलाई भेट्न आमा महाश्वेता आइपुगिन्। सत्राजितको परिवारले महाश्वेताको ठूलो स्वागत–सत्कार गर्‍यो। सत्राजितको आँगनमा गाउँलेहरूको नाचगान चलिरहेको थियो।

त्यही बेला लुटेराहरूबाट आक्रमण भयो। जाम्बवतीले जणणि मणि लिएर आएकी थिइन्। त्यही सुइँको पाएर लुटेराहरू जणणि मणि लुट्न आएका थिए। सबै मिलेर लुटेरालाई भगाउन सफल भए।

संयोग यस्तो पर्‍यो, महाश्वेताले आफ्नो सुरक्षाका लागि केही सहयोगी लिएर आएकी थिइन्, उनीहरू पनि लुटेरालाई भगाउन खटिए। जहाँ प्रेम र भाइचारा प्रबल हुन थाल्छ, त्यहाँ सुन्दर संयोगहरू भइरहन्छन्।

भोलिपल्ट बिहानै लुटेराको आक्रमणका सम्बन्धमा मुखियाका घरमा पञ्चायत बस्यो। पञ्चायतमा सत्राजितले भने– हामीले मायापुरी गाउँलाई गणराज्यका रूपमा स्थापित गर्नुपर्‍यो।

सुरक्षा र समृद्धिका लागि सेना बनाऔँ। हरेक दुई–दुई वर्षमा नयाँ मुखिया छानौँ। होइन भने, हामीले यस्ता आक्रमण सहिरहनुपर्छ।

सत्राजितले मुखियालाई नै सुरुको दुई वर्षका लागि मुखिया बनाउने प्रस्ताव गरे। सत्राजितको प्रस्तावमा पञ्चायत सहमत थियो। तर, केहीले आवाज उठाए– यसैपालि मुखियाको चुनाव गरौँ। हुँदाहुँदै मुखियाका आकांक्षी त्यहाँ धेरै देखिए। अन्ततःगाउँलेको दबाबमा सत्राजित स्वयं चुनावमा उठ्नुपर्ने भयो। चुनाव कसरी गर्ने भनेर सत्राजितले जाम्बवती राज्यबाट सिकेर आएका थिए। चुनाव सोहीबमोजिम विधिपूर्वक सम्पन्न भयो। सत्राजित मुखिया छानिए।

सत्राजित राजकाज चलाउने विधि र व्यवस्थातिर लागे। केही दिन बसेर महाश्वेता पनि आफ्नो घर फर्किन्।

सत्राजितले पहिलो निर्णय गरेका थिए– सबै गाउँलेलाई कुनै न कुनै सामूहिक उत्पादन वा उद्यमसँग जोड्ने र नौजवानहरूको सेना बनाउने। मायापुरीले बिस्तारै गणराज्यको रूप लिन खोज्दै थियो। उनीसँग चुनाव लडेका विरोधीहरूले अनावश्यक किचलो झिके। उनीहरूले भने–सत्राजित र जाम्बवतीको विवाह उत्तम होइन। जाम्बवती वनबासी कुलकी हुन्, हामीभन्दा नीच कुलकी। त्यसैले उनले मायापुरी राज्यमा पहिलो दर्जाको प्रजाको पद पाउनु हुँदैन। उनीबाट जन्मेको सन्तानले मुखियाको चुनाव लड्न पाउनेछैन।

यस कुराले जाम्बवती विक्षिप्त भइन् र तुरुन्तै माइतीघर फर्किन्। सत्राजितले उनलाई रोक्न सकेनन्।

मयुरगंगा तटनजिकै एउटा चट्टानी थुम्को थियो। त्यहाँ जाम्बवन्तका पुर्खाले गुफा खनेका थिए। यही गुफालाई विस्तार गरेर जाम्बवन्तले सेनाको तालिम केन्द्र बनाएका थिए। थुम्कोको शिरमा मलिलो माटो लगेर बगैँचा बनाइएको थियो। जहाँ विभिन्न जातका फलफूल थिए।

त्यहाँ जान निकै कठिन थियो, गुफा भएर जानुपथ्र्यो। गुफासम्म जान भर्‍याङ हालिन्थ्यो। जाम्बवती भने भर्‍याङबिनै गुफा चढ्न सक्थिन्।

गुफाभित्र फलामका हातहतियार बनाउने, सुनलाई गाल्ने, कपडा बनाउने, रोगीका लागि औषधि बनाउने कारखाना पनि थियो। त्यहीँ सेनाले शैन्य अभ्यास गर्थे।

जाम्बवन्तले यसमा गाउँका सीमित नौजवानलाई खटाएका थिए। यसको रेखदेख जाम्बवन्तका जेठा पुत्र स्यमन्तकले गर्थे। यस गुफाभित्रको रहस्यलाई गोप्य राखिएको थियो। जाम्बवतीलाई भने यसबारे थाहा थियो।

विक्षिप्त भएर घरबाट हिँडेकी जाम्बवती यही गुफामा पुगेर आराम गरिन्। भाउजुलाई फकाएर फिर्ता ल्याउन र सुरक्षा दिन भनी केही सहयोगीसहित गुणवती पछिपछि आएकी थिइन्, दाजु सत्राजितसँगको सल्लाहमा। गुफानजिकै पुगेपछि उनीहरूको नजरबाट जाम्बवती अलप भइन्।

जाम्बवतीको खोजीमा गुणवती र उनका सहयोगी धेरैबेर यताउता गरिरहे। यो चाल पाएर जाम्बवतीका दाजु स्यमन्तक आए,आफू जाम्बवतीको दाजु भएको बताई उनले सबैलाई लिएर आफ्नो घरमा गए।

घरमा पुगेर उनले आमा महाश्वेतालाई सत्य बताउन पाएका थिएनन्। महाश्वेता खुसी हुँदै बोलिन्–पुत्र! तिमीले गुणवतीलाई विवाह गरेर ल्यायौ?

गुणवतीको छेउमा पुगेर उनको चिउँडोलाई आफ्ना हातले स्पर्श गर्दै भनिन्, ‘गुणवती! अस्ति तिमीलाई देख्नेबित्तिकै बुहारी बनाउन मन भएको थियो। आज  पूरा भयो।’

‘माता,म अर्कै उद्देश्यले यहाँ आएकी हुँ। हजुरको पुत्रसँग विवाह गरेर आएकी होइन। किन्तु हजुरले भनिहाल्नुभयो,यसमा हजुरको पुत्रको पनि चाहना हो भने,’ यति भनेर गुणवतीले शिर झुकाइन्।

साँझको खाना खाने बेला जाम्बवन्तको परिवारबीच सल्लाह भयो। स्यमन्तकले गुणवतीसँग विवाहको इच्छा जाहेर गरे। गुणवतीले स्यमन्तकसँग बिहे गरेर सुखपूर्वक बस्न थालिन्।

एक दिन, गुणवती र स्यमन्तक आफ्नै शयनकक्षमा प्रेमालाप गरिरहेका थिए। गुणवतीले सोधिन्–तिमी सधैँ वनमा सिकार गर्न जान्छौ, कहिलेकाहीँ त एक–दुई दिन उतै बस्छौ। तिमी कहाँ बस्छौ, कहाँ जान्छौ ? मलाई पनि लैजाऊ। म यहाँ आएदेखि भाउजू जाम्बवतीलाई देख्न पाएकी छैन। उनी कहाँ बस्छिन् ? मलाई बताऊ, म पनि भेट्न जान्छु।’

स्यमन्तकले भने– जाम्बवती हाम्रै आफन्तकहाँ बस्छिन्। म पनि कहिलेकाहीँ त्यहीँ गएर बस्ने गर्छु। चिन्ता नगर, तिमीलाई छिटै म त्यहाँ लैजानेछु।

यति कुरा भएपछि गुणवती मुत्रत्याग गर्न बाहिर निस्किन्। त्यही बेला भेष बदलेका जाम्बवन्तले उनको घाँटीमा तरबार राखेर सोधे– तेरो पति स्यमन्तक खोई? जाम्बवन्तले आफ्नो पछाडि दुई–चारजना सिपाही पनि राखेका थिए।

गुणवतीले चिच्याउँदै भनिन्–मेरो पति वनमा सिकार गर्न गएका छन्।

उनले पति र घरका अरू मान्छेलाई सतर्क गराउने हेतुले चिच्याएकी थिइन्। जाम्बवन्तले सोधे– कुन वनमा कता गएको छ, स्पष्ट भन्।

– सिकार गर्न भनी वनतिर लागेका थिए, कुन वनतिर लागे भन्ने मलाई थाहा छैन।  ‘तेरो घरमा सुनचाँदी कहाँ छ?’

गुणवतीले पुनः चिच्याउँदै भनिन्–ऊ त्यो कक्षमा छ, सुनचाँदी।

जाम्बवन्तले मुकुन्डो खोलेर सोधे, ‘बुहारी ! तिमीले किन सही ठाउँ देखायौ? सुनचाँदी नभएको कक्षतिर पनि देखाउन सक्थ्यौ!

गुणवती बोलिन्–पिताहजुर, मान्छेको मन धनसम्पत्तिमै अड्कन थालिसकेको छ। झट्ट थुप्रै धनदौलत देखेपछि मानिस केही कमजोर हुन पुग्छ। त्यतिन्जेल स्यमन्तकले कुनै तयारी गर्लान्,उनीहरू धनदौलत देखेर आत्तिएका बेला आक्रमण गरौँला भनेर सुनचाँदी भण्डारकै कक्ष देखाएकी हुँ। यसै पनि मानिसको जीवनअघि सुनचाँदी के नै हो र? परन्तु, हजुरले मलाई यस्तो परीक्षा किन लिनुभयो?

जाम्बवन्तले यति मात्रै भने– हिँड, जाम्बवतीलाई भेट्न जाऊँ। उनले छोराबुहारीलाई लिएर गुफातिर लागे। गुफाको सबै रहस्य बताउँदै उनले गुणवतीलाई भने–बुहारी, यो गुफाको भेद कसैलाई नभन्नू, यो हाम्रो शक्ति र कमजोरी दुवै हो।

जाम्बवतीकी बहिनी भेरीलाई गुफामाथि रहेको उद्यान निकै मनपथ्र्यो। भेरी धेरैजसो यही उद्यानमा बसेर पक्षीहरूसँग कुरा गर्थिन्। युद्धकला सिक्थिन्। तर, उनी केही भावुक प्रकृतिकी थिइन्। सत्राजित आफ्नो गाउँमा आएर एक महिनासम्म बसेको भेरीलाई थाहा थियो।

एक साँझको नाचगान हुँदा भेरी सत्राजितलाई हेर्न मात्र गएकी थिइन्। उनलाई सत्राजित असाध्यै मनपरेको थियो। उनी धनु र तरबार कलामा निपुण थिइन्। सत्राजित आएका बेला उनले तरबार कला सिक्दै थिइन्।

 दाजु स्यमन्तकले कतै जान नदिई कडा अनुशासनमा राखेर उनलाई तालिम दिइरहेका थिए। त्यसैले उनले सत्राजितसँग भेटघाट र कुराकानी गर्न पाइनन्। त्यसको एक महिनामै सत्राजित र जाम्बवतीको विवाहको खबरले उनी दुःखी भइन्।

उनको आनीबानी र दैनिकीमा परिवर्तन हुन थाल्यो। पुत्रीको मनोव्यथा बुझेर महाश्वेताले पतिलाई भनिन्– उपमुखियाका छोरा नलले जाम्बवतीलाई मन पराएका थिए। जाम्बवतीले सत्राजितसँग विवाह गरेपछि उनी क्रोधमा छन्।

उनले भोलि राज्य र हाम्रो परिवारलाई नै क्षति हुने गरी नकारात्मक निर्णय लिन सक्छन्। उनको क्रोध शान्त गर्न हामीले उनलाई पुत्री भेरी दिन सक्छौँ, पहिले त भेरीको इच्छा बुझ्नुपर्‍यो।’

जाम्बवन्तलाई पत्नीको सल्लाह ठीक लाग्यो। महाश्वेताले पहिले पुत्री भेरीको इच्छा बुझिन्,उनले नलसँग विवाहको इच्छा प्रकट गरेपछि जाम्बवन्तले कुरा अघि बढाए,भेरी र नलको विवाह भयो।

एक दिन भेरी र नलले घरमै बसेर सुरापान गरेका थिए। सुरापान गरेपछि उनले सत्राजितलाई सम्झिइन्।

दिदी जाम्बवन्तीको ईर्ष्या गर्न पुगिन् र पति नलसँग कुरा गर्ने क्रममा गुफाको रहस्य खोलिन्। नलले त्यहाँको सब हातहतियार र खजाना लुटेर आफू प्रमुख मुखिया हुने सपना बुन्न थाले।

गुणवती र स्यमन्तकको विवाह भएको, जाम्बवती सकुशल रहेको खबर सत्राजितलाई पुर्‍याइयो। खबर पाएर सत्राजित बहिनीलाई भेट्न र जाम्बवतीलाई लिन आए।

जाम्बवन्त र सत्राजित बगैँचाको एक काठको मेचमा बसेर ऊँच र नीच कुलका बारेमा चर्चा गर्दै थिए। औँसीको रात भएकाले सर्वत्र अँध्यारो थियो। त्यसैले मेचको नजिकै दीपाधारमा दियो बालिएको थियो।

जाम्बवन्तले भने–कुल–वंश यस्तो परम्परा हो, जसमा पुरुषले आफ्नो रगतलाई निरन्तरता दिने मोह राखेको हुन्छ। कुल–वंशबीच ऊँच–नीचको भावना आउनु अर्को विषय हो, जसमा मानिसले आफ्ना पुर्खालाई सर्वश्रेष्ठ बनाउने कथाहरू बुनेको हुन्छ। अहिले हाम्रो वरिपरि जुन वर्ण–व्यवस्थाको अभ्यास हुन थालेको छ, यो धर्म र शासन चलाउने रणनीति हो,जो मनशास्त्रसँग सम्बन्धित छ। वर्ण–व्यवस्थामा ठूलो र सानो,पवित्रता र अपवित्रताको मान्यता बनाइएको छ। यही मान्यता मानिसको विश्वास बनेको छ।

मुख्यतः मनका तीन प्रकृति हुन्छन्–भड्किनु, मोहमा पर्नु र पूर्वनिर्मित विश्वासको साँचोमा विनातर्क अडिनु। मनको पहिलो प्रकृति भड्कनु नै हो। भड्केको मन मोह, पूर्वनिर्मित विश्वास वा तर्क–जता पनि जान सक्छ। तर्कको बाटो हुँदै गएको मन अर्को त्यस्तो विश्वासको वृत्तमा पुग्छ– जहाँ संसारका सबै मानिसलाई न्याय गर्ने र मानिसलाई केवल मानिस बनाउने विधि–व्यवस्था सम्भव हुन्छ।

पूर्वनिर्मित विश्वासको साँचोमा विनातर्क अडिएको मनभन्दा भड्केकै मन सुन्दर हो, किनभने त्यस्तो मन तर्कतर्फ उन्मुख हुन सक्छ। यद्यपि, सामाजिक नियम र मूल्य–मान्यताले भड्केको मनलाई विश्वासको साँचोमा हाल्न सक्छ,किनभने मनको अर्को प्रकृति छ–यसले तर्कको तप सहन गर्दैन, विश्वासको साँचोमा आराम गर्न निको मान्छ।

हामीले अहिलेदेखि कोसिस र अभ्यास गरेनौँ भने युगौँ युगसम्म मानिस मानिस कम र जाति वा सम्प्रदाय बढी बन्न सक्छ।

सत्राजित मोहित भएर सुन्दै थिए। जाम्बवन्त केहीबेर चुप लागे र पुनः बोले– मलाई कुनै अनिष्टको आभास भयो।

सत्राजित मेचबाट उठेर सतर्क भए।

‘चिन्ता नगर।’ यति भनेर जाम्बवन्तले दुवै आँखा बन्द गरे। केहीबेरमा सन्नाटालाई चिरेर निकै पर वनमा एकोहोरो कुकुर भुकेको आवाज आयो। त्यसको केहीबेरमै आगोको मुस्लो निस्कियो।

जाम्बवन्तले आँखा बन्द गरिरहेकै थिए। सत्राजित अत्तालिँदै बोले–भगवन्, कहाँ के भयो? अब के गर्ने?

जाम्बवन्त आँखा खोलेर बोले– हाम्रो भण्डार गुफामा लुटेराबाट आक्रमण भयो। किन्तु चिन्ता नगर,हाम्रा सैनिकले उनीहरूलाई खेदिसके। मैले त्यहाँ एउटा बोको राखेको छु, मलाई त्यहाँ कुनै संकटको आभास भयो भने बोकोलाई सम्झन्छु, मैले सम्झेपछि ऊ कराउँछ र हाम्रा सैनिक सतर्क हुन्छन्। हिँड, त्यहाँको अवस्था बुझ्न जाऊँ।

त्यतिञ्जेल जाम्बवती र गुणवती पनि ब्युँझिसकेका थिए। आगोको मुस्लो र आवाजका कारण अन्य गाउँले ब्युँझेर त्यहाँ आएका थिए। सबैलाई सतर्क रहन भनेर जाम्बवन्त र सत्राजित चिराग बोकेर गुफातिर लागे।

हिँड्दै बीच बाटोमा पुगेपछि जाम्बवन्तले बोकेको चिराग निभ्यो। सत्राजितले आफूले बोकेको चिराग जाम्बवन्तलाई दिएका थिए, तर उनले लिएनन्। उनले भने– मैले चिरागविनै बाटो देख्न सक्छु।

गुफामा पुग्नै लाग्दा भाग्दै गरेका तीनजना लुटेराले उनीहरूमाथि अकस्मात् आक्रमण गरे। जाम्बवन्तलाई जोगाउँदा सत्राजितको छातीमा तरबार रोपियो। तैपनि उनले तीनैजना लुटेरालाई ढलाएर आफू ढले।

उनले ढल्दै गर्दा सारा संसार पूर्णिमाको जूनजस्तै चम्किरहेको देखे। रूख, झारपात, ढुंगामाटो,मानिस– सबै बलिरहेको देखे। त्यसपछि उनी बेहोस भए।

दिव्य बूटीको प्रयोग गरी जाम्बवन्तले उनको उपचार गरे। उनी केही क्षणमा पहिलेकै अवस्थामा आए। त्यसपछि पनि सत्राजितले सबै वस्तुहरू चम्किरहेको देखिरहे।

जाम्बवन्तले भने– ऊ त्यो सबैभन्दा चम्किलो बूटी नै औषधि हो। यसपालि सत्राजित त्यस बूटीलाई टिपेर ल्याउन सफल भए। त्यसपछि उनीहरू चिरागविनै गुफामा पुगे, त्यहाँ सबै सैनिक सकुशल थिए।

भोलिपल्ट बिहान, जाम्बवन्तको आँगनमा तीन गाउँका मुखिया भेला भएका थिए, लुटेराको आक्रमणबाट भएको क्षतिबारे बुझ्न। जाम्बवन्तकी पुत्री भेरी पनि आएकी थिइन्।

जाम्बवन्तले भेरीका दम्पती, गुणवतीका दम्पती र जाम्बवतीका दम्पतीलाई एकान्तमा लगेर सोधे– तिमीहरूमध्ये कसैले गुफाको भेद अन्त कतै गएर सुनाएका थियौ कि?

जाम्बवन्तको प्रश्नपछि भेरी र नलले खुट्टा कमाउन थाले।

जाम्बवन्तले भने– व्यक्तिगत मायामोह र स्वार्थमा राष्ट्रलाई दाउमा नहाल्नू। त्यहाँ अरूको जीवनको अस्तित्व जोडिएको छ। संसार सहअस्तित्वमा टिकेको छ। तिमीहरूलाई यही मेरो अन्तिम उपदेश भयो।

प्रकाशित: २५ मंसिर २०७८ ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App