फुर्सदमा त हामी जुम्रा हुन्छुङ
चुस्दै हिन्छुङ पसिना सोझोसोझो मान्छेको
हामी आफैं बाँदर आफैं जुम्रा
मंकी हिल जान्छुङ, बाँदर हेर्छुङ, बाँदर हुन्छुङ।
मंकी हिल शीर्षकको हाङयुगद्वारा रचित यो 'चाउचाउ कविता' सुन्दा प्रुफ मिस्टेक जस्तो लाग्छ। 'हुन्छु'लाई 'हुन्छुङ' लेखिएको छ। 'हङकङमा हामी यस्तै बोल्छुङ र यस्तै लेख्छुङ,' हाङयुगले प्रष्टाए।
हङकङको लवजमात्र होइन जीवनशैली समेत समेटिएको हुन्छ चाउचाउ साहित्यमा। त्यहीभएर चाउचाउ खाने ब्रेकमा कविता पढिहाल्छन् पाठकहरु। एकछिन भए पनि थकाइ मेट्छन्।
'हङकङका नेपालीहरुको जिन्दगी तनावै तनावमा छ, त्यसैले हामीहरु पाठकलाई थप तनावमा पार्ने कविता सुन्न चाहँदैनौं,' हाङयुग हँसिला देखिए, 'हाम्रा कविता सुनेर पाठकहरु मुस्कुराउँछन्, खुसी हुन्छन्।' हाङयुगका अनुसार तनाव दिने साहित्य नरचौं भन्ने सुझाव कविता राईले दिएकी हुन्।
च्ाउचाउ साहित्यको परिभाषा यतिमा सीमित छैन। चिनियाँ भाषामा चाउ भन्नाले टापु बुझिन्छ। हङकङ टापु नै टापुमा फैलिएको सहर हो। 'टापु–टापुमै बसेर सिर्जिएकाले पनि हाम्रो साहित्य चाउचाउ भएको हो,' उनले परिभाषा तन्काए, 'यहाँका मान्छेहरु रेलगाडीमा यात्रा गर्छन् तर सबैको ध्यान मोबाइलमै हुन्छ। यसले हरेक मान्छे एउटा टापुजस्तो देखिन्छ। त्यसरी एक्लिएर टापु भएका मान्छेलाई जोड्ने साहित्य हो यो।'
गत अगस्ट ३१ मा हाङयुगले 'चाउचाउ साहित्य'को प्रस्तावनापत्र सार्वजनिक गरिसकेका छन्। हङकङको नेपाली जीवनलाई सरल भाषा र शिल्पमा लेख्न प्रस्तावनापत्रमा आग्रह गरिएको छ। चाउचाउ साहित्य लेख्ने हङकङेलीहरुमा समर गुरुङ, दिनेश सुब्बा, छेवाङ लामा, रविन राई, नेत्रप्रकाश जुनकिरी, हेम लावती, कविता राई, मनु कन्दङ्वा, नगेन्द्र राई, नरेश सुनुवार, टिबी याख्खा, मिना खापुङ लगायत छन्।
एक वर्षअघि सुरु भएको चाउचाउ साहित्यमा विभिन्न मोड आइसकेको छ। पत्रकार जेबी पुनमगरले चाउचाउ भनेको 'जंक फुड' हो, यसले मुटुलाई खराबी गर्छ भनेर सचेत गराइदिए हाङयुगहरुलाई। त्यसपछि हाङयुगहरुले बेलाबेला मुटु सम्मेलन गर्न थाले। चार शृंखला भइसक्यो मुटु सम्मेलनको।
'यान्त्रिक जीवनले मान्छेलाई समाजविहीन, मुटुविहीन बनाइदिएको छ, त्यसैले मुटु–मुटुबाट संवाद गरौं र जे लेखे पनि मुटुबाट लेखौं भन्ने निष्कर्ष निकाल्यौं,' हाङयुगले सुनाए। धेरैले मुटुसँग सम्बन्धित प्रेमकविताहरु यही प्रेरणाबाट रचे।
पत्रकार जेबी, जो हङकङमै बस्छन्, उनले फेरि हाङयुगलाई सावधान गराए, 'मुटुमात्र स्वस्थ भएर पुग्दैन, मान्छेको मस्तिष्क पनि चुस्त हुनुपर्छ।' यो कुराले हाङयुगहरु 'समीक्षक समाज' जन्माउन विवश भए। अहिलेसम्म चार शृंखला चलिसकेको समीक्षक समाजको कार्यक्रममा मस्तिष्कलाई कसरत हुने बौद्धिक अन्तर्त्रि्कया गरिन्छ।
चिन्ताले मान्छेलाई कहिल्यै छोड्दैन। हाङयुग चिन्तित छन्, अहिलेका पुस्ता सकिएपछि हङकङका साहित्यिक गतिविधि शुन्यमा त झर्ने होइन? त्यसैले बालबालिकालाई नेपाली साहित्यमा भिजाउन बालसाहित्य अभियान सुरु भइसकेको छ। यही महिना बालबालिकाप्रति लक्षित एउटा कार्यक्रम गर्ने तरखरमा छन् हाङयुगहरु।
अहिले समुद्रमुनिको सुरुङ हुँदै आधुनिक रेलगाडीमा चिप्लिरहेका हाङयुग कुनै समय काठमाडौंका गल्लीहरुमा राजन मुकारुङ र उपेन्द्र सुब्बाहरुसँग घिसि्रन्थे। काठमाडौंको सिस्टम र साहित्यिक संरचनाप्रति सधैं बागी हुन्थे तीन भाइ। त्यसैको फलस्वरुप २०५७ सालतिर उनीहरुले घोषणा गरेका थिए एउटा आन्दोलन, सिर्जनशील अराजकता।
आशुकवि, महाकवि, राष्ट्रकवि र जनकविहरुले सिर्जेका कवितामा आफूहरु र आफूहरुको जीवन अनुपस्थित छ भन्ने लागेको थियो राजन, उपेन्द्र र हाङयुगलाई। त्यसैले 'सिर्जनशील अराजकता'को झन्डामुनि उनीहरुले नेपाली साहित्यमा स्थान नपाएका पात्रहरुलाई प्रस्तुत गरे। 'अल्पसंख्यक र शोषितपीडित हाम्रो कथा हामीले नै लेख्नुपर्छ भन्ने लाग्यो र लेख्यौं,' हाङयुगले सम्झे।
राष्ट्रिय सभाका सदस्य कइन्द्रविक्रम थाम्सुहाङको स्वकीय सचिव भई ६ वर्ष जागीर खाएका हाङयुगको तलब त ठिकै थियो, पुग्दो चाहिँ थिएन। झोला बोकेर भोकभोकै फुटपाथमा हिँड्ने कर्तव्य साहित्यकारको हुनुपर्छ भन्ने मान्दैनथिए। त्यहीबेला उनको बिहे भयो र पत्नीकै पछि लागेर २०६१ सालमा हङकङ आए।
हङकङमा हाङयुगले फेरि शुन्यबाटै 'गोरु जोत्न' थाले। त्यतिबेला हङकङमा साहित्यिक गतिविधि फाट्टफुट्ट मात्र हुन्थ्यो। त्यसलाई अझ प्रभावशाली बनाउन उनले २०६२ सालमा नरेश सुनुवार अरु केही साथीसँग मिलेर 'सिर्जनशील साहित्य समाज' सुरु गरे। उक्त संस्थाले साहित्य कार्यक्रम गर्नुका साथै पत्रिका र थुप्रै कृति प्रकाशन गर्योर। गणेश राई र देवेन्द्र खेरेसजस्ता साहित्यकारहरु स्थापित भए।
झट्ट हेर्दा हाङयुग आफ्नो 'सिर्जनशील अराजकता'देखि टाढा देखिन्छन्। तर, उनको तर्क बेग्लै छ, 'काठमाडौंको अभियानकै निरन्तरता हो चाउचाउ साहित्य। दुवैले अल्पसंख्यकको आवाजलाई साहित्यमा ल्याइरहेका छन्।' 'रंगीन आविष्कार', 'ढुंगामुडाको मन', 'करङको हिरासत' र 'ककपिक' कवितासंग्रह निकालिसकेका हाङयुगको अबको कृति चाउचाउ साहित्यकै हुनेछ, जुन केही हप्तामै बजारमा उपलब्ध हुनेछ।
हङकङको कंक्रिटको जंगलमा हिँड्दा सधैंजसो मोबाइलमा फेसबुक चलाइरहने हाङयुग संविधान बन्ने बित्तिकै नेपाल फर्किहाल्ने पक्षमा छन्। काठमाडौं होइन पुर्ख्यौली थलो पाँचथरमा बाँकी जीवन बिताउने चाहना उनको छ। गाउँमा के गर्ने त? धेरैले सोध्छन्। उनको जवाफ पनि चाउचाउजस्तै रेडिमेड छ, 'चिया, अलैंची र फलफूल खेती गर्छु, हरेक दिन एउटा रुख रोप्छु।'
प्रकाशित: १६ कार्तिक २०७१ २२:२५ आइतबार





