११ माघ २०७८ मंगलबार
कला

बालाई पत्र

कविता

प्रमोद फुयाँल

बालाई पत्र

बा ढोग गरें

सन्चोबिसन्चो यो भूमिका धेरै बाँधिन आज

म सिधै विषयवस्तुमा प्रवेश गरें

बा, तिम्रा सपना त धेरै गरुँगो रै’छ नि

तिम्ले मेरा लागि देखेको

एकथान सपनालाई यतै विश्राम दिँदै

मैले मेरा हलुङ्गो सपनालाई बोकेर

हिँड्ने निर्णय गरें

नचाहेको हैन

प्रयास खूबै गरे

तिम्रा सपना पूरा गर्ने होडमा

मैले मेरा सपनालाई

विस्तारामा नुनुबाबुनुनु भनिरहँदा

मेरा सपनाले मलाई

मेरै सपनामा आएर झस्कायो

मलाई माफ गर्देऊ बा  

मैले तिम्ले देखेको महँगो सपनालाई

लात मार्दै सस्ता सपना अपनाई अघि बढें

बजारभाउ बढेछ बा तिम्रा सपनाको

तिम्ले तिम्रा युगमा देखेको सपना

अहिले मेरा युगमा किन्न

बिलकुल असम्भवझै भए

तिम्ले रोपनीमा देखेको सपना

अहिले कित्तामा किन्न पनि साह्रै गाह्रो रैछ

भनौं कि अझै बित्तामा

मैले चटक्कै त्यागे नि

तिम्ले मभित्र देखेको फलानाको छोरो

अब तिम्ले मभित्र अनि मबाहिर

जताततै जहाँबाट पनि म मात्र देख्छौ

मैले फलानाको छोरो नबन्ने निर्णय गरें

डाक्टर बनेर

फलानाको छोरो नै सेतो  कोट लगाओस् 

वकिल बनेर तिलानाको छोरो नै कालो कोट पहिराओस्

पाइलट बनेर

ढिस्कानाको छोरो नै प्लेन उडाओस्

इन्जिनियर बनेर

हर्केकै छोरो टक्सन कुदाओस् 

बा,मैले त रहर किन्न साँचेको पैसा बेचेर

खुसी किन्ने निर्णय गरें

बा, मलाई माफ गर्देऊ

बा, मलाई माफ गर्देऊ

मैले आजैबाट फलानाको छोरो

नबन्ने निर्णय गरें

उही फलानाको छोरोजस्तै

बन्न नसकेको तिम्रो छोरो।

                  – सुडाल, भक्तपुर।  

प्रकाशित: १३ मंसिर २०७८ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App