१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

बाटो बिराएपछि

कथा

शारदा पराजुली

सुधा! आज तिमीलाई म यस्तो ठाउँमा लिएर जान्छु। तिमी जसरी पनि आऊ है। प्रमतकले फोनमा अनुनय गरे।

‘हुन्छ’ को स्वीकृति दिएँ, मैले।

हतारहतार छोराछोरीलाई स्कुल पुर्‍याएर हुँइकिएँ निर्देशित स्थलतर्पm। म पुग्दा प्रमतक पर्खिरहेका रहेछन्। म बाइकमा चढेपछि हाम्रो यात्रा सुरु भयो। प्रमतक जति बाइक हुँइक्याउथे उतिउति चिप्लँदै म प्रमतकको शरीरमा टाँसिन्थेँ। उनको शरीरबाट निस्केको एक किसिमको खुस्बुले मेरा मनमा सुषुप्त अवस्थामा बसेका अतृप्त चाहनाका बुँद उठ्न थालिसकेका थिए। मैले प्रमतकको स्पर्शमा मैले आफ्नो धरातल बिर्सिरहेकी थिएँ। अर्थात् मलाई उनको स्पर्शले अभूतपूर्व आनन्द दिइरहेको थियो। मैले त्यसबेलाको अनुभूत गरिरहेकी थिएँ, जुन बेला प्रमतकले मसँग मायाको भीख मागिरहेका थिए।

प्रमतकसँगको प्रेमसम्बन्ध मेरो घरपरिवारलाई थाहा थियो। जातभातका कुरा ल्याएर उसबाट छुटाउने उद्देश्यले मलाई काठमाडौँ फुपूकोमा ल्याएर अन्त विवाह गरिएको कुरा मेरा लागि दर्दनाक पीडा बनेको थियो। विवाह भएका झन्डै पाँच वर्षसम्ममा मैले प्रमतकलाई बिर्सिसकेकी थिएँ तर काठमाडौँको व्यस्त सडकमा एकदिन हाम्रो जम्काभेट भएको थियो। त्यसपछि हामी बीच बिस्तारै भेटघाट र हिमचिम बढ्न थाल्यो।

उनले रातमाटे डाँडाको टुप्पोमा लगेर बाइक रोके। हामी पाइलट द्वारभित्र छिर्‍यौँ। छेवैमा मन्दिर रहेछ। मन्दिरबाट शङ्ख र घण्टाका कर्णप्रिय ध्वनिहरू गुञ्जिरहेका थिए। त्यहाँ पाइलट बाबाको कुटी रहेछ। कुटीमा प्रवेश गर्नेबित्तिकै मनमा एक किसिमको शान्त भावना जागृत भयो।

पाइलट बाबालाई शिरदेखि पाउसम्म नियालेँ। अन्य बाबाले झैं औँलैपिच्छे औँठी लगाएका थिएनन्।गलामा खालि एउटा रुद्राक्षको माला थियो। जुँगा–दाह्री सेतै फुलेका गेरुवस्त्रधारी बाबाको कोठाभरि विभिन्न धार्मिक र दार्शनिक किताब थिए।

उहाँको विचार, त्याग, समर्पण मानव जीवनका लागि अमूल्य वाणी थिए। हामी त्यहाँ चार घण्टा जति बस्यौँ। तर, मलाई चार मिनेट बसेजस्तो अनुभूति भइरहेको थियो। उहाँको विचारबाट प्रभावित भएर मैले आत्मालोचना गरेँ। मैले बाटो बिराएको अनूभुति हुँदै थियो। म र मेरा सन्तानको उज्ज्वल भविष्यको निर्माणका लागि दुबई गएका श्रीमान्लाई सम्झेँ। बाबासँग मनमनै भए पनि गल्तीको माफी मागेँ।

बेलुकीपख उसैगरी प्रमतकको बाइकमा बसेर घर फर्केँ। बिहानको झैं प्रमतकको कम्मर समातेर टाँसिएर बस्न पटक्कै मन लागेन। म अलि अलगै बसेर सोचिरहेँ। मेरा दुबई गएका श्रीमान्, छोराछोरी र मेरो भावी जीवनको नक्सा कस्तो बनाउने भनेर। 

प्रकाशित: १३ मंसिर २०७८ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App