४ वैशाख २०८१ मंगलबार
कला

कम्युनिस्टसँग मिल्नु त्रुटि नै हो त?

पुस्तक

नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अगुवा राजनीतिक दलका रूपमा नेपाली कांग्रेसलाई लिने गरिएको छ।७५ वर्षअघि स्थापना भएको कांग्रेस अहिले १४औं महाधिवेशनको संघारमा उभिएको छ। पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाले अघि सारेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगमा आफूलाई जनस्तरमा कांग्रेसले स्थापित गर्दै आएको छ।

तर,बिपीले अघि सारेको विचार र कांग्रेसले अहिले लिएका नीति विषयमा कांग्रेसभित्र बहस र अलग अलग धारणा विगतदेखि नै आउने गरेका थिए। पार्टीको महाधिवेशन समेत सम्मुखमा नेता मात्र होइन, नीतिका विषयमा पनि चर्चा र बहस हुनु अस्वाभाविक होइन। यही सन्दर्भ पारेर बिपी विचार राष्ट्रिय समाजले ‘बिपी विचार, नीति, सिद्धान्त र व्यवहार’ पुस्तक बजारमा ल्याएको छ।

राजनीतिक एवं साहित्यिक गरी दुई व्यक्तित्व रहेका बिपीलाई कांग्रेसजनले मात्र होइन, अन्य विचार समूह र दलका नेताले पनि आफूअनुकूल व्याख्या गर्ने गरेका छन्। यसले गर्दा बिपी साहित्यिक रूपमा मात्र होइन, राजनीतिक रूपमा पनि साझा व्यक्ति बनेका छन्।

बिपीका राजनीतिक विचार जेलजर्नल, आत्मवृत्तान्तसहित आफैँले तयार गरेका विभिन्न दस्तावेजमा पढ्न सकिन्छ। यिनै राजनीतिक चिन्तनलाई विभिन्न व्यक्ति र संघसंस्थाले पुनर्व्याख्या गर्दै दर्जनौँ पुस्तक प्रकाशित गरेका छन्। सोही क्रममा बाहिर आएको अर्को पुस्तक हो, ‘बिपी विचार, नीति, सिद्धान्त र व्यवहार’।

बिपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, राष्ट्रिय एकता र मेलमिलापलाई व्यावहारिक रूपमा देशमा लागू गर्नु नै बिपी विचार हो। बिपी विचार अहिले पनि सान्दर्भिक भए पनि उनको देहावसानपछि नेपाली कांग्रेसले उक्त विचारलाई छाड्दै गएको यो पुस्तकको सार भेटिन्छ।

कम्युनिस्टसँग मिलेर आन्दोलन गर्नु र सत्ता सहकार्य गर्नुलाई बिपी विचारबाट कांग्रेस विचलित भएको रूपमा पुस्तकमा उल्लेख गरिएको छ। भनिएको छ, प्रजातन्त्रको पुनस्र्थापनाका लागि २०४६ सालको जनआन्दोलनमा कम्युनिस्टसँग संयुक्त रूपमा आन्दोलन गर्‍यौं र प्रजातन्त्रको पुनः स्थापना पनि गर्‍यौं तर बिपीको आदर्श र सिद्धान्त अनुसार त्यो नै नेपाली कांग्रेसले गरेको पहिलो त्रुटि थियो।

कांग्रेसलाई नै वर्गशत्रुको रूपमा घोषणा गरेका, कांग्रेसका नेता एवं कार्यकर्तालाई छानी छानी हत्या र आक्रमण गरी घाइते तुल्याएका पार्टीहरूको निर्वाचन चिह्न ‘हँसिया हथौडी, सूर्य, हलो, गाई’मा मतदान गर्न नेता, कार्यकर्ता एवं आम जनतालाई सत्ताकै लागि आह्वान समेत गरेको पनि पुस्तकमा उल्लेख गरिएको छ। जुन बिपीको राजनीतिक दर्शन, सिद्धान्त र आदर्श विपरीत थियो भनिएको छ। दुईवटा कम्युनिस्ट घटक र मधेसवादी दलको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाको  नेतृत्वमा गठन भएको सरकारले पार्टी नीति र सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्ने दाबी गरिएको छ।

‘जुन दिन नेपाली कांग्रेसले प्रजातन्त्रका आदर्शलाई छाडेर केवल सत्ताको राजनीति गर्ने छ, यो निरर्थक भएर जाने छ।’ बिपीको यही भनाइलाई टिप्दै पुस्तकमा सत्ताका लागि कांग्रेसले जे पनि गरेको उल्लेख गरिएको छ। कांग्रेसलाई जोगाइराख्न ३२ वर्षको अन्तरालमा भएका गल्तीको समीक्षा गर्न ढिला भइसकेको जनाइएको छ। प्रा. बद्रीनारायण गौतमको ‘विचलनको बाटोमा नेपाली कांग्रेस’ शीर्षकको लेखमा यस्तै चिन्ता भेट्न सकिन्छ।

पुस्तकमा बिपी स्वयंले लेखेको ‘राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र’ नामक लेख समावेश गरिएको छ। यस्तै ‘नेपाली कांग्रेसको २०१५ सालको घोषणापत्र’लाई पनि यसमा समावेश गरिएको छ। बिपी कोइरालाको आर्थिक नीतिका सम्बन्धमा प्रा. रामप्रसाद ज्ञवालीले कांग्रेसले विगतदेखि वर्तमानसम्म लिएका आर्थिक नीतिको तुलाना गरेका छन्। ‘बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र वर्तमान नेपाली अर्थतन्त्र’ शीर्षकमा पुस्तकमा समावेश गरिएको लेखले पनि कांग्रेस समाजवादीभन्दा पुँजीवादी बाटोमा अघि बढेको संकेत गरेको छ। नेपालको राष्ट्रियता सधैँ चर्चा र बहसको विषय बन्दै आएको छ।

बिपी कोइरालाले राष्ट्रियताको सन्दर्भमा व्यक्त गरेका धारणा र परराष्ट्र नीतिका सम्बन्धमा दिनेश भट्टराईले विभिन्न कालखण्डलाई प्रस्ट पार्ने प्रयास गरेका छन्। ‘बिपी कोइरालाको परराष्ट्र नीति र राष्ट्रिय स्वार्थको सर्वाेच्चता’ शीर्षकको लेख पनि समावेश गरिएको छ।

नेपाली कांग्रेस र बिपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त र आदर्शका साथै अहिलेको सन्दर्भमा कांग्रेस कहाँ छ भन्ने केही हदसम्म जानकारी लिन पुस्तक सान्दर्भिक हुनेछ। नयाँ पुस्ताले नेपाली कांग्रेसको पृष्टभूमि, विश्वेश्वरप्रसाद कोइराला, नेपाली कांग्रेसले लिएको नीति र कार्यक्रम आदिका सम्बन्धमा बुझ्न मद्दत पुग्नेछ।

बिपी विचार राष्ट्रिय समाजले प्रकाशनमा ल्याएको र वासुदेव खनालले सम्पादन गरेको ३८८ पृष्ठको यस पुस्तकको मूल्य आठ सय रूपैयाँ राखिएको छ।

प्रकाशित: ११ मंसिर २०७८ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App