वसन्त थापा नेपाली लोक संगीत बजारको बेग्लै 'ब्रान्ड' हुन्। नेपाली संगीतिक बजारमा उनको बेग्लै पहिचान र परिचय छ। २०४१ सालमा बागलुङको गलकोटमा जन्मिएका थापाको बाल्यकाल त्यहीको रनवनमा खेल्दै वित्यो। गाउँमा अहिले जस्तो सेवासुविधा थिएन। त्यतिबेला डिजिटल प्रविधिको जमाना थिएन। गीत सुन्न एउटै माध्यम रेडियो थियो। रेडियोमा अग्रज कलाकारहरुको गीत सुन्थे र आफूले पनि त्यस्तै गाउन प्रयास गर्थे वसन्तले। वसन्तको बाल्यकाल त्यसरी नै बित्यो।
पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रलाई हेर्ने हो भने संगीतलाई बुझेर, संगीतमै भिजेर आफ्नो जीवन संगीतमा नै समर्पित गर्ने सर्जकहरु बिरलै भेटिन्छन्। संगीत स्रष्ठाहरुको सिमित परिधीभित्र पर्ने नेपाली लोकदोहोरी क्षेत्रका दरिलो खम्बा हुन्, वसन्त। गाउँका पाखा पखेरामा गीत गुनगुनाउँदै हुर्किएका थापाका अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा गीतहरु निकै लोकप्रिय छन्। उनी अहिलेका व्यस्त गायक हुन्। संघर्ष र त्यागले नै आज संगीत बजारको बेग्लै ब्रान्ड हुन सफल भएका गायक हुन् वसन्त।
बाल्यकाल
उनको परिवारमा गीत संगीतको क्षेत्रमा लागेका कोही पनि थिएनन्। तर पनि उनलाई संगीतको अनौठो लत बस्यो। उनी विद्यालयमा हुने कार्यक्रममा गीत गाउन खुब रुचाउँथे। कला र गला देखेर साथी र शिक्षकहरुले प्रशंसा गरेको उनी सम्झन्छन्। 'विद्यालयको सांस्कृतिक कार्यक्रममा यस्तै, साथीभाइसँग जंगलमा जाँदा गाएको गीत सुनेर साथीभाइ र शिक्षकले मेरो आवाजको तारिफ गर्नुहुन्थ्यो। अगाडी बढ्न प्रोत्साहन गर्नुहुन्थ्यो।' आफ्नो प्रशंसा सुनेर उनमा बेग्लै उत्साह जाग्थ्यो। त्यसबेला उनलाई लागेको थिएन, पछि गएर गायक नै बन्छु भनेर। वनपाखा, मेला महोत्सवमा गीत गाउँथे वसन्त। समाजका अवयवसँग अभिन्न रूपमा जोडिएका कारणले पनि उनको संगीत रचनामा रैथाने स्वाद भेटिन्छ।
बुवाको सपना
वसन्तलाई सरकारी जागिरे बनाउने उनको बुवाको सपना थियो। उनी चाहन्थे, छोरो गाउँकै सरकारी स्कुलमा शिक्षक बनोस्। त्यसैले उच्च शिक्षाकालागि छोरालाई काठमाडौँ पठाएका थिए। तर उनको सपना संगीतमा थियो, त्यसकारण उनले पढाइसँगै गीतसंगीतलाई पनि अगाडि बढाए।
विगतका दिन सम्झिँदै वसन्त भन्छन्, ‘एकातिर बुवाको सपना थियो भने अर्कोतिर मेरो सपना जोडिएको थियो। अन्ततः बुवाको सपनालाई मेरो सपनाले जित्यो। सुरुका दिनमा त बुवा मलाई देखेर निकै निरास हुनुभयो। तर संगीतको क्षेत्रमा मेरो नाम उच्च भएपछि अहिले उहाँ पनि निकै खुसी देखिनुहुन्छ।’
सांगीतिक यात्रा
२०६० सालमा माध्यमिक तहको पढाइ सकाएर उनी स्नातक तहका लागि राजधानी आएका थिए। उनलाई गीत गाउनमा रहर त थियो तर उनले त्यति बेलासम्म गायक बन्छु भन्ने सोचेका थिएनन्। पहिलोपटक २०६१ सालमा उनले ‘निलो फेवाताल’ भन्ने गीत बजारमा ल्याए। उक्त गीतमा उनलाई गायिका लक्ष्मी न्यौपानेले साथ दिएकी थिइन्। सोही गीतबाट औपचारिक रुपमा उनको सांगीतिक यात्रा सुरु भयो। उनका सबै गीत नेपाली पहिचान, कला, संस्कृति बोकेका र समाजले सजिलै बुझ्न सक्ने खालका छन्। त्यही विशेषताले वसन्तले सांगीतिक जगतमा छुट्टै 'ब्रान्ड' बनाउन सकेका हुन्।
उनले २०६५ सालमा ‘नजाउ है सानु पधेँरीमा’ बोलको गीत बजारमा ल्याए। उक्त गीतले उनको पहिचान र स्थान नेपाली सांगीतिक बजारमा स्थापित गर्न निकै सहयोग पुर्यायो। लगत्तै ‘डाँडै फुर्के सल्लो’ बोलको गीत निकाले। यो गीतले पनि बजारमा बेग्लै स्थान कायम गर्न सफल भयो। ती दिन सम्झिँदै वसन्त भन्छन्, ‘मेरा सिर्जनाहरू सफल बन्दै गएपछि मलाई थप जिम्मेवारीबोध हुँदै गयो। मेरा सिर्जनाहरुले दर्शक थप्दै लगेपछि ममा हौसला र उर्जा थपियो। म त्यही कुरामा सन्तुष्ट छु। आजसम्म यही सिर्जनाले मलाई दर्शकसामु चिनाएको छ।’ गायक थापाका सयौँ गीतहरु अहिले चर्चाको शिखरमा रहेका छन्।
धेरैजसो गीतमा बाग्लुङ पर्वतलाई समेटिनुको कारण
उनी बाग्लुङमा जन्मिए, त्यहाँका पाखा पखेरोमा उनको बाल्यकाल बित्यो। खोलानाला, भिरपाखाले उनलाई संगीत सिकायो। उनी जुन समाजमा हुर्के, त्यही समाजका भाषा, संस्कृतिलाई बाहिर ल्याउन पाउँदाको आनन्द उनले अरुमा देखेका छैनन्।
‘मेरो स्मृतिमा जे बढी आउँछ, त्यसलाई नै प्रयोग गर्छु। मलाई संगीत नै ती खोलानाला भिरपाखाले सिकाएको हो,’ उनी भन्छन्, ‘यो मेरो सामाजिक दायित्व पनि हो जस्तो लाग्छ। आजसम्म मैले जति पनि संगीत रचना गरिरहेको छु, त्यो सबै मेरो गाउँठाउँको माया हो। जति हामीलाई आफ्नो आमाको माया लाग्छ मलाई त्यति नै आफ्नोे ठाउँको माया लाग्छ। म चाहन्छु, गीत संगीतमार्फत मेरो जन्मभूमिलाई संसारले चिनोस्। त्यसैले मेरा धेरैजसो गीतहरुमा म्याग्दी पर्वत बाग्लुङदेखि गुल्मीसम्मलाई समावेश गर्छु।’
सालको पातको टपरीले संगीत क्षेत्रमा मारेको फड्को
‘सालको पातको टपरी’ बोलको गीत नेपाली लोकदोहोरी क्षेत्रकै एक फरक पहिचान बोकेको गीत हो। जसले अहिलेसम्म पनि बजार पाइरहेको छ। वसन्तले संगीत भरेको उक्त गीत नेपाली संगीतकै इतिहासमा सबैभन्दा बढी रुचाइएको गीत हो। जसलाई युट्युवमा ७ करोड ३८ लाखभन्दा बढी पटक हेरिएको छ। वसन्तको ‘सालको पातको टपरी’ भन्दा अगाडि सयौँ गीतहरु बजारमा आएर ख्याति कमाए पनि यस गीतले उनलाई थप चर्चाको शिखरमा पुर्याएको छ। थापाका सालको पात टपरी हुनी, स्यानीमाया, सयको गुन तिरौला हजारौँले, माया हाँसेको, जाम सुस्तै, चौतारीको बर, खेतमा बोके झार, आज सँगै कहाँ हाे कहाँ भोली, ए वारि घुम्टे पारी गाँजा, जलजला, ओखल ढिकीमालगायतका पृथक स्वादका दर्जनौ चर्चित गीत छन्।
गीतसंगीतमा आएको परिवर्तन
वसन्त यतिबेला गीतसंगीतमा व्यापक परिवर्तन आएको देख्छन्। पछिल्लो समय बजारमा आएका गीतहरुले स्रष्टा, सर्जक र कलाकारहरूलाई सोच्न बाध्य बनाएको उनी बताउँछन्। ‘लोक संगीतमा विकृति आउनु सर्जकहरूमा नै भर पर्छ। जबसम्म सर्जकहरू आफैंँमा नैतिकवान हुँदैनन् तबसम्म गीतसंगीतमा विकृति कायमै रहन्छ। बजारमा छाडा गीत लिएर आउने सर्जक कुन संस्कार र परिवेशबाट आएको हो। उसले के सिक्यो भन्ने कुरामा निर्भर रहन्छ। मान्छे जुन संस्कारबाट आयो उसले आफ्नो परिवेशमा जे सिक्यो। त्यही प्रस्तुत गर्ने हो। एक बोरा चामलमा एक/दुई वटा ससाना ढुंगा हुनु स्वभाविक हो,’ उनले भने। सर्जकले सिर्जना गर्दा ‘हिट’ बनाउन मात्रै होइन दर्शकलाई महसुस गराउने सिर्जना हुनुपर्नेमा उनी जोड दिन्छन्।
गीतसंगीतमा सरकारको योगदान
पछिल्लो चरणमा सांस्कृतिक, मौलिक लोपोन्मुख संगीतहरु धरासायी हुने अवस्था देखिएको छ। यसलाई जोगाइ राख्नका लागि केन्द्रीय सरकार र स्थानीय सरकारले पहल गर्नु एकदमै जरुरी भएको उनी बताउँछन्। ‘जबसम्म हाम्रा लोक संस्कृति हराउँदै गएको सरकारलाई महसुस हुँदैन तबसम्म सोरठी, यानीमाया र घाटुजस्ता मौलिक संगीतहरू हराउँदै जान्छन्’, उनले भने।
‘सरकारले लोकसंगीतमा न कुनै लगानी गरेको छ न संरक्षण गर्नेतिर ध्यान दिएको छ। यस क्षेत्रमा सरकारको न लगानी छ न कुनै योजना नै। वास्तवमा सरकारसँग यस खालको ज्ञान पनि छैन। जबसम्म सरकारको कुनै योजना र सहयोग हुँदैन तबसम्म यो क्षेत्र यस्तै अस्तव्यस्त नै रहन्छ। तर आशा गरौँ, सरकारले बिस्तारै यो क्षेत्रलाई जगेर्ना गर्नका लागि कुनै कदम उठाउला’, उनले भने।
अन्त्यमा
नेपाली सांगीतिक क्षेत्रमा उनको योगदान बिर्सिन नसक्ने बनिसकेको छ। नेपाली मौलिकपनलाई कसरी जोगाइ राख्नेरु समाजलाई कस्ता खालका सिर्जना पस्कने भन्ने प्रशस्त ज्ञान उनमा छ। उनले नेपाली लोकसंगीत क्षेत्रलाई उच्च स्थानमा पुर्याएका छन् भन्ने कुरामा दुईमत छैन। र अन्त्यमा उनले भने, ‘मान्छे कुनै कुराले कहिल्यै पनि सन्तुष्ट हुँदैन। जीवनमा गर्नुपर्ने धेरै कामहरू अधुरा छन्। गन्तव्य अझै धेरै टाढा छ। गीतसंगीतमै रमाउन पाएको छु। सांगीतिक क्षेत्रलाई नै कर्मभूमि बनाउँदा निकै खुसी लाग्छ। म यसै क्षेत्रमा आफ्नो जीवन समर्पण गर्न चाहन्छु।’
प्रकाशित: २९ कार्तिक २०७८ १३:०० सोमबार