२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

वास्तविकता

लघुकथा

गंगा खड्का

ऊ आमाको मुख हेर्ने हरेक औँसीमा फेसबुकमा आमाको फोटो पोस्ट गर्दै लेख्थ्यो, ‘मेरी साक्षात् भगवान्!’

गुरु पूर्णिमामा आमाको फोटो पोस्ट गर्दै लेख्थ्यो, ‘मेरी सबभन्दा ठूली गुरु!’

दसैँमा आमाको फोटो राख्दै लेख्थ्यो, ‘माया, ममता र करुणाकी  देवी!’

अनि लक्ष्मीपूजामा लेख्थ्यो, ‘मेरी घरकी चिराग, मेरो घरमा कृपा राख्ने साक्षात् लक्ष्मीमाता!’

उसका यी सबै पोस्ट हेरेर म उसकी आमालाई दुनियाँको सबैभन्दा भाग्यमानी आमा ठान्थेँ।

एकदिन उसले मलाई उसको घरमा खाना खान बोलायो। म उसकी आमासँग भेट्ने तीव्र चाहना लिएर गएँ। उसको घरमा पुगेपछि मेरा आँखा सरसर्ती उसकी आमाको खोजीमा दौडिएँ। मैले उसकी आमालाई कतै नदेखेपछि उसकी आमाको बारेमा सोधेँ।

उसले बडो भावुक मुद्रामा जवाफ दियो, ‘सबैको भाग्यमा आमासँग बस्न कहाँ लेखेको हुन्छ र? समय दिन नसकेर मैले आमालाई वृद्धा आश्रममा लगेर छोडिदिएको छु।’

प्रकाशित: २९ कार्तिक २०७८ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App