१२ जेष्ठ २०७९ बिहीबार
कला

विश्ववारा मानवसंस्कृतिको विकासमा प्राचीन आर्य

पुस्तक समीक्षा

सृष्टिको प्रारम्भदेखि नै मानवले प्रकृतिसँग पौँठेजोरी खेल्दै,प्राकृतिक प्रकोप, रोग,भोग जस्ता शत्रु तथा ह्रिंसक जनावर र अत्याचारीबाट बाँच्दै,आफूलाई प्रकृतिका नियमसँग अनुकूलन गर्दै अनुभवजन्य ज्ञान बटुल्दै नयाँनयाँ आविष्कार गर्दै तथा सुखी जीवन बिताउने कला संस्कृतिको निर्माण गर्दै आजको उच्च तर जटिल जीवनको स्तरसम्मको यात्रा गरेको छ।

यस पुस्तकमा मानवको यात्रा आर्यहरूले निर्माण गरेको ताम्र युगको साक्षर नागरिक प्रथमा संस्कृति (प्रिमाइभल कल्चर)को पडावसम्मको वर्णन–विवेचनामा सीमित छ। सुरुका दुई परिच्छेदमहरूमा ब्रह्माण्ड,पृथ्वी र नेपालको सृष्टिको वैज्ञानिक अध्ययन प्रस्तुत छन्।

जसको प्रयोजन प्रकृतिका शाश्वत नियम(ऋत)सत्यमा टिकेको हुन्छ र मानव धर्म र संस्कृति यस्तो सत्यमा टिकेको हुन्छ भन्ने तत्त्व ज्ञान दिई कर्तव्यबोध गराउनु र मानव धर्मका उत्थान गर्नु नै रहेको छ।

वैज्ञानिक र अनुसन्धानात्मक अध्ययन हुनाले भाषा र वर्णन केही जटिल त हुने नै भयो। यस पुस्तकमा वर्णित जटिल विषयलाई बुझ्न सर्वप्रथम प्राक्कथन खण्ड पढ्नु उपयोगी हुनेछ।

फरक रूपमा प्रस्तुत मानव उद्विकाससम्बन्धी परिच्छेदमा २०–२५ लाख वर्ष पूर्वका आदि मानवले पाषाण औजार र हतियार बनाउन थालेको आदि वर्णन छन्। पछि गएर आजभन्दा पाँच–सात लाख वर्ष पूर्वका होमो–इरेक्टस मानवले बालबालिका,वृद्धवृद्धा,अशक्त र रोगीलाई गुफामै राखी अथवा खुला ठाउँमै हाँगापातको छाप्रामा नै ‘होमबेस’ बनाएपछि मात्र यो जंगली पाषाण संस्कृति वास्तवमै मानव धर्मयुक्त संस्कृति बनेको लेखकको ठम्याइ छ।

सृष्टिबाटै उत्पन्न र मानव विकासको साथसाथै विकसित भएका संस्कृतिबारेका वैज्ञानिक अभिमतका साथै वेद पुराणले यस विषयलाई कसरी व्याख्या गरेका छन् भनी दर्शाइएको भए यस्तो अध्ययन अझ बढी उपयोगी हुने थियो।

परिच्छेद ६ मा नवपाषाण युग(आजभन्दा १२ देखि ७ हजार वर्ष पूर्व) मा मानव जीवनमा आएका परिवर्तनको अध्ययन प्रस्तुत छ। मानवले सिकारी जंगली जीवन छोड्दै कृषि र पशुपालनतर्फ लागी स्थायी गाउँ बनाउन थालेपछि पशुजस्तो स्वच्छन्द यौनाचार छाडी एकल पति एकल पत्नी प्रथामा आधारित नाभिकीय परिवार बनेपछि र भाषाको विकास भएपछि मात्र समाज निर्माण भएको,साँधसिमाना तोकी सुरक्षित भई सरदार छान्ने चलन चलेपछि राज्य निर्माणको जग बसेको र समाज सञ्चालनका लागि केही निषेध(ट्याबुज) लागू गरेपछि कानुनी राज्यको श्रीगणेश भएको लेखकको मान्यता रहेको देखिन्छ।

परिच्छेद ७ मा प्रमुख चार मानव नश्ल र नृवंशको उद्विकासको अध्ययन छ। यसकै खण्ड ‘ख’मा आर्यको पहिचान,मूल अभिजन र यसबारेका पौराणिक वर्णन, प्राचीनतम इन्डो–युरोपियन केन्टुम‘विरोस’हरू,इन्डो–इरानियन र वैदिक आर्यबारेको अध्ययन अत्यन्त रोचक र ज्ञानवर्द्धक रहेको छ। पुरा कथा शास्त्रीय तथा पुरातात्त्विक प्रमाण, नृवंशीय आधार र भाषाशास्त्रीय आधारमा आर्यको उद्गम र विस्तार स्थलहरूको निरूपण गरिएको छ।

पश्चिम र मध्य एसियामा उद्विकसित अस्ट्रेलोआइड (निषाध, भिल्ल र शवरका पुर्खा) ले इबेरियन–फोनेसियन पणि(द्रविडका पुर्खा)का सहयोगमा ताम्रपाषाण युगदेखि गरेको कृषि, स्थल यातायात र जल यातायात,अन्तर्देशीय व्यापारका साथै अनेक धार्मिक र सामाजिक रीतिथितिकै आधारमा पछि देखापरेको आर्यको प्रथमा साक्षर नागरिक सभ्यताको निर्माण भएको आदि वर्णन यस परिच्छेद–८ मा प्रस्तुत छ।

परिच्छेद–९ देखि १३ सम्म र परिच्छेद १५ मा प्रथमा संस्कृतिका प्रथम चरणका निर्माता सुमेरियन आर्य र मिस्र देशवासी तथा दोस्रो चरणको प्रथमा संस्कृतिका निर्माता पणिहरू,हिब्रूहरू,हित्ती र मितन्नी आर्यहरू तथा भूमध्य सागर क्षेत्रको ग्रिक युरोपियन आर्य तथा पर्सियन आर्य बारेका अध्ययन प्रस्तुत छन्।

यस खण्डको लेखन मुख्यतः प्रख्यात विश्व इतिहासकार, प्रो. हल, प्रो. विइच, प्रो. डार्लिङ्टन र प्रो. श्रीराम गोयल आदिका अन्वेषण र अभिमतकै आधारमा लेखिएकामा इतिहासकारले बेवास्ता गरेका अथवा दृष्टि पुर्‍याउन नसकेका पौराणिक वर्णनमा आधारित अनेकौँ प्रागैतिहासिक तथ्य लेखकले उजागर गरेका छन्।जसको पुष्टि पुरातात्त्विक प्रमाणबाट हुनुपर्ने छ।

साढे ५ हजार वर्ष पूर्वमा सुमेरमा साक्षर नगर राज्यका निर्माता स्वयम्भूव मनुका वंशज ऊरूजन आर्यका साथै अन्य आर्य रहेको,यिनीहरू उराल पर्वत क्षेत्रबाट आदि सुमेरु पर्वत(हालको उच सुमेर भनिने अल्ताई पर्वतमालाको माउन्ट वलुखा) तिरबाट किरगिज (क्षीर) सागर(हालको अराल सागर)तिरबाट इराकको दक्षिणी क्षेत्र सुमेरमा बनिबनाउ (रेडिमेड) संस्कृति र सभ्यता लिई आएको लेखकको मान्यता छ।

यिनीहरूले विश्वमा सर्वप्रथम लिपिको आविष्कार गरेका थिए। यिनीहरू गौपूजक हुनुका साथै यज्ञाहूति, मन्त्र,जप र संकल्प गर्ने,मृत्युको नदी (वैतरणी) र नर्कलोकको अवधारणा विकास गर्ने र वैदिक आर्यले मान्ने पञ्च महाभूत (पञ्च तत्त्व) मध्ये आकाश,वायु, जल र पृथ्वी गरी चार तत्त्वबाट विश्व ब्रह्माण्डको निर्माण हुन्छ भन्ने मान्यता राख्ने गर्दथे।

मिस्र देशमा आजभन्दा ५४०० वर्ष पूर्वतिर प्रथम राजवंश खडा गर्ने राजा मिनेस स्वयंभूव मनुका वंशज र राजा प्रियवर्तका सन्तान शाल्मलि द्वीपका राजा मानस नै हुन सक्ने लेखकको अभिमत छ। शाल्मलि द्वीपमा श्याम वर्णका मानिस हुने र कपासको उत्पादन हुने पौराणिक वर्णनहरूबाट पनि यस तथ्यको पुष्टि हुने देखिन्छ।

प्राचीनतम मिस्रवासीले विकसित गरेका जीवात्मा (काः) र (दैवी प्रज्ञा) परम आत्मा (टाः) आदिको अवधारणा सर्वप्राचीन हुन सक्ने देखिन्छ। त्यस्तै प्रकृतिको शाश्वत नियम(मात)को प्राचीन मिस्रदेशीय अवधारणाका आधारमा ‘ऋतको’ ऋग्वेदिक अवधारणा बनेको लेखकको अभिमत छ।

हालको सिरिया देशका प्राचीन बासिन्दा अति क्रूर र भीषण लडाकु असिरियनहरू नै भारतीय पुराणहरूमा वर्णित असुर भएको र यिनीहरूको सङ्घर्ष मितन्नी र अन्य आर्यसँग सैकडौँ वर्ष चलेको भन्ने मत्स्य पुराणका वर्णनका आधारमा लेखकले आफ्नोे मान्यता राखेका हुन्।अतः देवासुर सङ्ग्राम प्रागैतिहासिक तथ्य नै हुन सक्ने लेखकको ठहर छ।

त्यस्तै, हालका टर्की देशका प्राचीन बासिन्दा ऐड र हित्ती आर्यले त्यहाँ पूजा गर्ने गरेको साँढेमा सवारी गर्ने त्रिशूलधारी ऋतुदेव नै पछि गए शिवशङ्करका रूपमा र सिंहवाहिनी ‘हम्मा’(उम्मा) नै पार्वतीका रूपमा पूजित भएको र हित्तीहरूको १३ दिन जुठो बार्ने जस्ता प्रचलन त्यहाँबाटै यस उपमहाद्वीपमा यक्षहरूले ल्याएको वर्णन सत्यको धेरै नजिक रहेको मान्नुपर्छ।

मितन्नी आर्यहरूको देवता मित्र, वरुण र इन्द्र रहेको, दसरत्थ जस्ता अनेक नाम र संख्यावाचक शब्द भारतीय देवता र राजाहरूको नाम र संख्यावाचक शब्दसँग मिल्ने पुरातात्त्विक प्रमाणलाई पनि लेखकले उजागर गरेका छन्। भूमध्य सागरीय क्षेत्रमा डोरियन र (पछि गएर रोमन संस्कृतिको संस्थापना गर्ने) इट्रस्कोन आर्यले ग्रिक सभ्यताको निर्माण गरेको वर्णन र त्यहाँका नगरराज्य र प्रजातन्त्रको विकासको प्रस्तुत इतिहास रोचक छ।

खास गरी अरस्तुको डेमोक्रेसी(भीडतन्त्र) र पोलिटी (प्रजातन्त्र) को अवधारणा आज पनि सान्दर्भिक छन्। त्यस्तै,पर्शु (पारसी) आर्य र वैदिक आर्यमा इरानमा सँगै बस्दा सैकडौँ वर्ष गृहयुद्ध भई वैदिक आर्य धकेलिएर भारतीय उपमहाद्वीपमा पसेको बारेमा थप अध्ययन हुन जरुरी छ।

उता प्राचीन चीनमा पनि दोस्रो चरणको प्रथमा संस्कृतिको निर्माण भएको समयदेखिको क्रमबद्ध इतिहास यस पुस्तकमा प्रस्तुत छ। दक्षिणी तिब्बतको मानसरोवर कैलाश क्षेत्र(झाङझुङ)मा बोन धर्मको विकासमा बोनपा जगत्गुरु शेंराव मि–वो– चेको योगदान र त्यहाँ यक्ष,नाग र ऊरूवंशी (प्रचेतज्ञ दक्ष) को राज्य रहेको प्रमाण तिब्बती पौराणिक ग्रन्थहरूको आधारमा प्रस्तुत गरिएको कार्य धेरै महत्त्वपूर्ण छ। तिब्बतबाट बझाङको उरई नाका (ऊरू पर्वत) हुँदै आर्यहरू नेपाल पसेको हुन सक्ने स्कन्द पुराणको मानस खण्डमा वर्णित प्रस्तुत प्रमाण पनि मननयोग्य छन्।

परिच्छेद १६ र १७ मा प्राग्–सैन्धव सभ्यताको निर्माणमा राजा पृथुको अफगानिस्तानतिर गरिएको कृषिक्रान्ति र नगर निर्माण कार्यबाट हुन गएको योगदान बारेको चर्चा तथा वैवस्वत मनुको भारतमा सर्वप्रथम राज्य निर्माण र चक्रवर्ती सम्राट् मान्धाताले इलावंशीलाई पश्चिमतिर लखेटेको र यिनै इलावंशी आर्यले सिन्धसभ्यताका केन्द्रमा पूर्वतर्फबाट हमला गरी ध्वस्त पारेको वर्णन नौलो भए पनि सत्य हुन सक्ने देखिन्छ।

यसपछि मात्र उत्तर पश्चिमी भारतीय उपमहाद्वीप र भारतको मध्य देशमा वैदिक संस्कृति र सभ्यताको विस्तार भएको थियो।

निष्कर्षमा भन्दा यस्तो अनुसन्धानमूलक पुस्तक नेपालमा सम्भवतः पहिलोपल्ट प्रकाशित भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले प्रकाशकीयमा भनेझैँ यस गहन कृतिले मानवसभ्यताको विषयमा अध्ययन र अनुसन्धान गर्न चाहने व्यक्तिलाई अत्यन्त उपयोगी सहायता मिल्ने छ।

यो कृति विद्यार्थीका लागि पनि निकै राम्रो मार्गदर्शक बन्नेछ। यस उच्च स्तरको पुस्तकमा प्रयोग गरिएको कागज पनि उच्च स्तरकै हुनुपर्ने थियो।अनुसन्धानमूलक भएकाले यस पुस्तकको भाषा अलि जटिल नै छ।

सरल भाषामा लेख्न सकिन्थ्यो कि? आवरण मुखपृष्ठको डिजाइन आकर्षक छ। तीन सय रूपैयाँ मूल्य सस्तो नै हो। धेरैभन्दा धेरै पाठकको हातमा यो पुस्तक पुगोस् भन्ने उद्देश्य नेपाल प्रज्ञा–प्रतिष्ठानको रहेको देखिन्छ।

यस्तो गहन शोधपूर्ण पुस्तक लेख्नुहुने शिवराज श्रेष्ठ मल्ल र मार्गदर्शन गर्दै प्रकाशन गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठान बधाइका पात्र छन्। यस पुस्तकको अंग्रेजी भाषामा प्रकाशन भए (लेखक र प्रकाशकले चाहे जस्तो गरी) विश्ववारा संस्कृति कस्तो हुनुपर्दछ भन्ने बारेको छलफल बढाउन समेत ठूलो मद्दत मिल्नेछ।

कृति : मानव यात्रा : सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म

विधा : प्राग्इतिहास र प्रथमा संस्कृति

लेखक : शिवराज श्रेष्ठ मल्ल

प्रकाशक : नेपाल प्रज्ञा–प्रतिष्ठान

पृष्ठ :३३६

मूल्य : रु.३००।–

(शिरीष अर्याल इतिहास र लोकसंस्कृतिको क्षेत्रमा कार्यरत अन्वेषक हुन्।)

प्रकाशित: २७ कार्तिक २०७८ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App