२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

धन्धुकारि

लघुकथा

नन्दलाल आचार्य

‘डुब्यो! डुब्यो!! धन्धुकारि पानीमा डुब्यो।’ एकजनाको स्वरपछि लगतै अर्को स्वर सुनियो, ‘लौन, बचाऊ! बचाऊ!! धन्धुकारिलाई कसैले त बचाऊ।’

भीडको हल्ला सुनेर एक अधबैँसे पोखरीमा झ्वाम्मै हामफाल्यो। सबैको सोच उसले धन्धुकारिलाई पाखा उतार्ला भन्ने थियो।

त्यसबेला २०७८ कार्तिक २४ गतेको रूपनगर खानेपानी कार्यालय परिसरको पोखरी भक्तिमय भएको थियो। ‘छइठ माता की– जय!!! सूर्य भगमान् की– जय!!!’ यस्तै भन्ने भीडको ध्यान अस्ताउँदो सूर्य दर्शन गर्न आतुर थियो।

‘छइठ माता र सूर्य भगमान्को कृपाले धन्धुकारिलाई केही हुन्न।’ ‘त्यसलाई बचाउन देवीदेवताले कसै न कसैलाई खटाएकै हुन्छन्।’

भीड यस्तै भन्दै थियो। अधबैँसेकै चालचुल नदखेपछि हातको डाली भुइँमा थप्पक्क राखेर ‘जय छइठ माई’ भन्दै युवराज पोखरीमा हाम्फाले। क्षणभरमै अधबैँसेलाई पाखा निकाले र अरूहरूले प्राथमिक उपचार गर्दै अस्पतालतिर दौडाए।

‘नाम धन्धुकारि भए पनि मान्छे साह्रै जाति थियो।’ कसैले भनेको सुन्नासाथ युवराज पुनः पोखरीमा पसेर खोजतलास जारी राखे। कसै गरे पनि धन्धुकारिको अवशेष फेला परेन।

सूर्य पनि आफ्नो घर अस्ताचल प्रवेश गरिसकेका थिए। हातहातमा अर्घ र डाली बोकेर कम्मरकम्मर पानीमा डुबेका व्रतालु र अन्य भक्तजन बिलखबन्दमा थिए।

त्यत्तिकैमा पोखरी डिलमा टाउको रुमालले छोपेर टुक्रुक्क बसेको ठिटोले भन्यो, ‘सूर्य अस्ताउनै लागे किन बेर गरेको?’

मुखले ‘विचरा धन्धुकारि’ भन्दै सबैले सूर्यलाई अर्घ दिने र डाली देखाउने काम गरे।

पछि थाहा भयो– रुमाल पानीमा खसेकाले टिप्न धन्धुकारि पोखरीमा पसेको रहेछ। पोखरीको पानी सुकेको बेला गाउँलेले माटो निकालेर गहिरो बनाएको ठाउँमा परेछ। पानी भित्रभित्रै पौडेर अर्कातिरको पाखामा निस्केछ। अघि टाउको रुमालले ढाकेर बोल्ने उही धन्धुकारि पो रहेछ।

प्रकाशित: २५ कार्तिक २०७८ ०८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App