coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेमको नयाँ समाजशास्त्र

कविता

रमेशचन्द्र अधिकारी

 

कृष्णले आँखा उघारिरहेको बेला  

देवकी आँखा चिम्लदै थिइन्

त्यो बेला  

देवकीका आँखामा  

आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ?

भन्नेहरूले  

अझैसम्म पनि भनिरहेकै छन्  

भाँडाहरू फुटाएर तिमीले  

पोखिदिएका थियौ लोभ  

उठाउनै नमिल्ने गरी।

कपटको लाक्षगृह बनाएर

मनभित्र आगो बोकी बस्नेहरूले नै

अलापिरहेका छन्  

तिमीलाई पक्षपाती भनेर।

कोट्याएर कोपिला वास्ना लिनेहरू नै

भनिरहेका छन् तिमीलाई वभिचारी  

र दिइरहेका छन् अश्लील गालीहरू

आमाको नाममा।  

कृष्ण !

तिमीले उठाइदिएको  

प्रेमको गोवद्र्धन पग्लिएर  

कुरूप भएको छ समय

चिरहरण भएर  

अर्धनग्न बाँचिरहेको छ युग,

ठीक यो बेला  

तिमी भने 

बाँसुरी बजाइरहेका छौ।

यता युगले फुकिरहेको छ विगुल

र मागिरहेको छ  

प्रेमको नयाँ समाजशास्त्र,

प्रेमका भिन्नै सिद्धान्तहरू  

र प्रेमको बिलकुलै नयाँ परिभाषा।

                               – मोरङ।

प्रकाशित: १ कार्तिक २०७८ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App