१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘चोटदेखि मृत्युसम्म’ को पाठकीय अमल

समीक्षा

खेमराज पोखरेल

आरम्भ –

आरम्भ कसरी गरूँ ? आकस्मिक आरम्भ गरूँ कि प्रायोजित ? ‘चोटदेखि मृत्युदेखि’ लघुकथासंग्रहका रचयिता लता केसीसँग सामाजिक सञ्जालका फलकमा आकस्मिक भेट भयो। मसमेत एडमिन भएको ‘लघुकथा कुनो’मा उनको लघुकथा पोस्ट भयो। मैले प्रतिक्रिया लेखेँ हुँला। तत्क्षण नै मैले नचिनेकी लता केसीमा अपार स्रष्टा सामर्थ्य देखेँ। लघुकथाको क्षेत्रमा एउटा उज्ज्वल ताराको उदय भएको अनुभूत गरेँ। त्यसैले मैले नेपाल पुगेको बेला भेट्ने इच्छा राखेँ। सायद मेरो इच्छा आकस्मिकता थियो होला।

नेपाल पुगेपछि लता केसीसँग भेट्ने वातावरण बन्यो र मन्दिरा मधुश्री, जया शर्मा, लता केसी, गंगा आचार्य सापकोटा, उमा सिजापति लगायत म र श्रीराम राई २०१९ को जुलाई महिनाको अखिरीतिर बानेश्वरको रेस्टुरेन्टमा  प्रायोजित तवरले भेटियौँ। गफियौँ। आफन्तियौँ। यसरी आफन्तिएका हुनाले यो आलेख पूर्वाग्रहयुक्त हुनपुग्ने खतरा पनि छ। पाठकले यसै रूपमा बुझिदिन म सविनय अनुरोध गर्दछु।

आवरण–

एक दिन ‘चोटदेखि मृत्यसम्म’ लघुकथासंग्रह मेरा कम्प्युटरको भित्तामा विद्युतीय भर्याङ चढेर उदायो। पुस्तकको आवरणमा चोट र मृत्युको कालो छाया बनेर नीरबहादुर याक्खाको कला बिम्ब भएर उदाएको छ। आवरण पृष्टको पश्च भागमा भोजपुरमा २०१७ सालमा जन्मिएकी लघुकथाकारको तस्बिरसहित  बायोडाटा छ। शिक्षक भएको सूचना छ। त्यसमुन्तिर वरिष्ठ लघुकथाकार रवीन्द्र समीरको भनाइको कटपिस छ।

आवरणभन्दा भित्रका पाताहरूमा पुस्तकको तानाबाना बनाउन चाहिने सरदमको पूरापूर व्यवस्था गरिएको छ। शिखा बुक्सले प्रकाशन गरेको पुस्तक २०७७ सालमा प्रकाशन भएको छ। यो पुस्तकको लेआउट प्रकेश सिन्धुलीयले गरेका छन्। लघुकथैपिच्छे टंकबहादुर आले मगरको चित्रकला छ। ‘लता केसीका लघुकथामा समयको धुकधुकी’ शीर्षकमा प्राडा कपिल लामिछानेको भूमिकामा ‘लता केसीका लघुकथामा समकालीन जीवन भोगाइका यथार्थताको सूक्ष्म र सूक्ष्मतम अभिव्यक्ति पाइन्छ’ भनेका छन्। यसपछि राजु क्षत्री अपुरो, शेखरकुमार श्रेष्ठ तथा रवीन्द्र समीरको शुभकामना छ। लघुकथाकार लता केसीको ‘आफ्नै गन्थन’मा लघुकथाको रचनागर्भ र रचनापरिवेश झल्क्याइएको छ। त्यसपछि ६१ वटा लघुकथाको सूची छ जसमा ‘चोट’बाट सुरु भएर ‘मृत्यु’मा गएर अन्त्य गरिएको छ।

अन्तर्य  

लेखक भन्नु पनि सामाजिक प्राणी हो। त्यसकारण ऊसँग जीवन बाँच्दा अनेकन् आवेग, संवेग, उच्छवास, चाहना तथा परिस्थिति हुन्छन्। यही परिस्थितिका आधारमा लेखकले आफूले देखेको, भोगेको, सुनेको, पढेको, अनुभूत गरेको तथा त्यही वृत्तले निर्माण गरेको चेतका आधारमा कृति लेख्ने हो। विचारको प्रकटीकरण गर्ने हो। त्यही आवेगले निर्माण गरेको धरातलको जगमा कृति सिर्जना गर्ने हो। त्यसकारण विषयवस्तुको प्रस्तुति लेखकको विशेष निजात्मकता हो। यस विषयमा लेखक सार्वभौम हो। लेखक संसारका जुनसुकै विषय छान्न स्वतन्त्र छ। यही स्वतन्त्रताको आधारभूमिमा लघुकथाकार लता केसीको यो ‘चोटदेखि मृत्युसम्म’ लघुकथासंग्रहमा समेटिएका लघुकथाहरूको विषयवस्तुको अन्तर्यलाई पर्गेल्ने प्रयास गरिएको छ।

विषयवस्तुको अन्तर्यलाई हेर्दा यो  संग्रह सामाजिक वृत्तमा रहेका विविध विषयको मिमांसा गर्दै घुमेको छ। याने कि विविध सामाजिक विषय यस कृतिमा समेटिएका छन्। मूल रूपले कृतिमा मानिसको आडम्बरमाथि प्रहार गरिएको पाइन्छ। मानवीय स्वभावलाई विविध कोणबाट हेरिएको छ। मान्छेको प्रवृत्तिलाई केन्द्रमा राखिएको छ। समग्र मान्छेको सकारात्मक वा नकारात्मक प्रवृत्ति केलाउँदै जाँदा महिला विषय प्रमुख भएर आएको छ। नारी विद्रोह, दाइजो प्रथा, खराब श्रीमती, असल श्रीमती, श्रीमान् – श्रीमतीका बीचमा शंकाउपशंका तथा लैंगिक समानतामाथि दर्बिलो कलम चलेको छ।

लघुकथाकार शिक्षक पेसाबाट निवृत्त भएकाले लघुकथामा शैक्षिक विसंगतिलाई महत्त्वपूर्ण रूपमा उजागर गरिएको छ। पुस्तकको मूल विशेषता शिक्षाको परिवेशलाई चित्रण गर्नु रहेको छ। वर्तमान कालमा भइरहेको शिक्षाको व्यापारीकरण, बाल मनोविज्ञान, विद्यार्थी तथा शिक्षक स्वाभाविक रूपमा लघुकथामा अग्रपङ्तिमा छन्। यही क्रममा नेपालमा भइरहेको बौद्धिक चोरी जस्ता विषयले प्रश्रय पाएका छन्। यस्ता विसंगतिविरुद्ध जेहाद छेडिएको छ।

माथि पनि भनियो कि यो लघुकथासंग्रहमा बहुविषय समावेश छन्। ती बहुविषय समाजसापेक्ष छन्। वर्तमान समाजमा विद्यमान सामाजिक सञ्जालका विकृति, लैंगिक प्रेम, फेसबुकका आधारमा बसेको मायापिरति तथा सामाजिक जनजीवनमा देखापर्ने स्वार्थी सम्बन्धहरूमाथि गतिलो झापड दिइएको छ। समाजभित्र नै रहेका नलायक सन्तान, साहित्यकारका पीडा, पुरुष प्रवृत्ति केलाउने क्रममा सुन्दर र शालिन समाजको परिकल्पना गरिएको छ।लघुकथामा नेपालको भताभुंग राजनीतिक तथा प्रशासनिक प्रणालीमाथि पनि प्रहार गरिएको छ।

आर्थिक, राजनीतिक तथा प्रशासनिक भ्रष्टाचारमाथि कडा व्यंग्य प्रहार गरिएको छ। केन्द्रमा  राष्ट्र, राष्ट्रियता तथा देश देखिन्छ। देशको अवस्थाप्रति चिन्ता दर्शाइएको छ। नेपालको राजनीतिकवृत्तमा देखा परेको कोटा प्रणाली याने आरक्षण प्रणालीका विरुद्ध सशक्त आवाज उठाइएको छ। यसै क्रममा नेपालको राजनीतिक अव्यवस्थाले जन्माएको वैदेशिक रोजागारीका पीडाहरू छताछुल्ल भएर देखा परेका छन्।  

लघुकथाकारको नजर यी तमाम विसंगतिका साथै प्रकृतिमाथि पनि परेको छ। मान्छेले गरेको प्रकृति विनाश, पशुपन्छी तथा जनावरको अधिकार तथा प्राकृतिक प्रकोपका विषयमा प्रकाश पार्दै यो प्रवृत्तिमाथि प्रहार गरिएको छ। यसै क्रममा समकालीन नेपाली समाजमा ज्यादै धेरै लेखिएको विषय कोरोना माहामारीलाई पनि संग्रहले आफ्नो विषय बनाएको छ।

अन्तःकरण

लघुकथाकार लता केसीले प्रस्तुत लघुकथासंग्रहका माध्यमबाट एउटा छुट्टै छाप छोडेको महसुस हुन्छ। वास्तवमा लघुकथाकारको अन्तःकरणले विविध विशेषता पस्केका छन् लघुकथामा। उनको अन्तःकरणमा मूलत सामाजिक विषयवस्तु आएकाले उनलाई सामाजिक विषयको लघुकथाकार भन्न सकिन्छ। समाज हेर्ने दृष्टिकोण याने कि सामाजिक जीवनदृष्टि प्रगतिशील छ। समाज परिवर्तनको लक्ष देखिन्छ। सुखी र सुन्दर समाजको परिकल्पना गर्नु उनको विशेषता हो। त्यसैले उनको विशेषता भनेको प्रगतिशील बान्की पनि हो।

साहित्यका क्षेत्रमा भनिन्छ कि स्वैरकल्पनामा कृति सिर्जना गर्न थप शिल्पको आवश्यकता पर्दछ। स्वैरकल्पना भन्नाले मानवइतर पात्रको व्यवस्थापन गरेर तिनका बोलीबाट विषयप्रयोजन प्रस्फुटन गर्नु भन्ने बुझिन्छ। यो चुनौतीलाई पनि यो लघुकथासंग्र्रहले स्वीकारेको छ। फलस्वरूप केही लघुकथा स्वैरकल्पनामा पनि लेखिएका छन्। यो विशेषता स्तुत्य छ।

लघुकथामा यथार्थवादी धार पनि प्रस्टसँग आएकाले उनी यथार्थवादी लघुकथाकार हुन्। परम्परावादी धारबाट एक तह  विद्रोह गरेर वर्तमानको यथार्थ धार पत्ता लगाउनु लेखकको विशेषता रहेको छ। समतामूलक यथार्थ उनको कृतिको विशेषता हो।

आरन परीक्षण

लघुकथा परीक्षणको मूल आधार भनेको कथानकको ओज र विशिष्ट बुनौट हो। यी दुई मध्ये कुनै एक पक्ष फितलो हुनेबित्तिकै लघुकथा सामान्य भइहाल्छ।त्यसकारण यही कथानकको ओज तथा बुनौटको आरनमा राखेर लघुकथाको बारेमा आफ्नो धारणा बनाउने प्रयत्नरत छु। 

लघुकथाकारको ‘आफ्नै गन्थन’मा लेखिएअनुसार लघुकथामा चाहिने सम्पूर्ण तत्त्वका बारेमा लघुकथाकार परिचित भएको आभाष हुन्छ। लघुकथाका सीमाहरू पर्गेलेर नै यी लघुकथाहरू लेखिएका हुन् भन्न सकिन्छ। त्यसो भएकाले ज्यादातर प्रचलित शब्दअनुशासनभित्र बसेका छन् लघुकथा। यो हुनु भनेको असल लघुकथाको लक्षण हो। यद्यपि लघुकथाको शब्दसीमा कठोर भने हुँदैन। शब्दसीमा मात्र लघुकथा हुनु र नहुनुको आधार होइन। मूलत यसको बुनौट शिल्पले नै उल्लिखित आख्यान लघुकथा भएको वा नभएको छ्ट्याउँछ।

आरनमा राखेर हेर्दा शतप्रतिशत लघुकथाहरूले सूक्ष्मता, लघुत्व, सरलता, सूत्रता, तिक्ष्णता, सुन्दरता जस्ता गुणलाई अबलम्बन गरेका छन्। यसो भनिनु लघुकथाका लागि निकै महत्त्वको कुरा हो। समापनमा चातुर्यको प्रयाश स्तुत्य छ।

यही आरनका रापको आँखीझ्यालबाट चिहाउँदा लघुकथा बान्कीला देखिन्छन्। त्यसैले धेरैधेरै राम्रा लघुकथाको हारमा चोट, दृष्टिकोण, दुर्घटना, कोटा, बहर, सत्यबोध, फोहोर, संस्कार, आडभरोसा जस्ता लघुकथाहरू अब्बल बनेका छन्।

 अर्जी –

यो समीक्षा लेख्ने काम नै छिन्द्रान्वेशी हो। लघुकथासंग्र्रहको भौतिक स्वरूपले धेरै जना विद्वानको शुभकामना भेट्नु र भूमिका लेखिनु निसन्देह रञ्जित विषय हो। नेपाली समाजमा विद्यमान रहेको नामपूजक संस्कृतिले पनि यही कुरा इंगित गर्दछ। सायद यति धेरै भूमिका र शुभकामनाले कृतिको ओजमा सकारात्मक वा नकारात्मक प्रभाव पारेको बारेमा मेरो केही आकलन छैन। संग्रहमा समेटिएका लघुकथाहरू हेर्दा तिनमा लेखकको दृष्टिकोण पाइन्छ। नेपाली लेखकहरूको त्यसमाथि पनि महिला लेखकहरूमा आफ्ना कृतिमा आदर्शवादी चिन्तन पाइन्छ।यथार्थमा आदर्शवाद वा यथास्थितिमा आदर्शवादतबरका कृति लेख्न कम जोखिमका हुन्छन्। अग्रगम्यतामा लेख्दा आदर्शवादी समाज याने पाठकका खप्की खानुपर्ने हुन्छ लेखकले। यही बिन्दुमा यो संग्र्रहका धेरै लघुकथाहरू खप्की नखाने सिर्जना हुन्। याने कि आदर्शवाद मूल थिम हो संग्रहको।

लघुकथामा वर्णनात्मक शैली पनि अपनाइएको छ। वर्णनात्मक शैली निबन्धको अब्बल आधार हो। तर आख्यानमा सम्वादको स्वाद झन् धेरै हुन्छ। नेपाली लघुकथा क्षेत्रमा असाध्य धेरै प्रयोग गरिएको शैली भनेको अन्त्यविस्तार हो। साँच्च्चि भन्नु पर्दा अन्त्यविस्तार आम समस्या हो। यो संग्र्रहका केही लघुकथा अन्त्यविस्तारबाट जोगिन सकेका छैनन्। लघुकथाकारले टिपेका विषयवस्तु आफू बाँचेको यथास्थिति समाज, गाउँघर तथा आफ्नै घुर्यानबाट प्रभावित छन्। त्यस्तो परिस्थितिमा नुतन विषय समावेश गर्न असाध्य गाह्रो हुन्छ। संग्रहका अनेकन विषयमा यो कुरा पनि खट्केको छ। भनिन्छ साहित्यले आफू बाँचेको समयभन्दा धेरैपछिसम्मको जीवनको परिकल्पना गर्नुपर्दछ। यथास्थितिमा आदर्शवाद समावेश गर्दा कैयौँ लघुकथाले अग्रगामी सन्देश दिन सकेका छैनन्। यथास्थितिवदामा रमाएका छन् लघुकथाहरू।

वर्तमान विश्वमा भौतिकवादले जन्माएका अनेकन नयाँ समस्याहरू छन्। विज्ञानले प्रादुर्भाव गरेका अनेकन जटिलताहरू छन्। पराभौतिकवादले जन्माएका अनेकन् अन्तःकरणहरू छन्। त्यसले जन्माएको रुढिवादी र परम्परावादी धारका दर्शनहरू छन्। ती भौतिक तथा पराभौतिक धारलाई पनि लघुकथाका विषय बनाइएको भए पनि हुन्थ्यो भन्ने त लागिहाल्दो रहेछ।

यहाँसम्म कि कतिपय लघुकथामा महिलाको स्वतन्त्रताको सवालमा आदर्शवादी सशक्तीकरण खोजिएको छ।आदर्शवादी  तरिकाले महिलाको पूरापूर सशक्तीकरण सम्भव हुने कुरा होइन। भनिन्छ अधिकार मागेर पाइने कुरा होइन, खोसेर लिनुपर्दछ। यो जोखिम साहित्यकारले उठाउनु नै पर्ने हुन्छ। यो जोखिमबाट भने संग्रह जोगिएको छ।

अन्त्याकस्मिकता

जसरी यो आलेखको आरम्भ एउटा आकस्मिकताले भएथ्यो, त्यसै गरी अन्त्य पनि एउटा आकस्मिकता हो। किनकि हाम्रो जीवनका क्रियाप्रतिक्रिया आकस्मिक हुन्। त्यसैले पनि उपसंहारका बेला पनि आकस्मिकता नै जब्बर भइदिन्छ। किनकि अर्को आकस्मिकता मेरा सँघारमै छ। ऊ मेरो बाटो कुर्देछ। 

र पनि म यो कृतिमाथि गवेषणका क्रममा पुलकित भएको छ। समयको सदुपयोग भएको अनुभूत गरेको छु। किनभने त्यो एउटा आकस्मिकता थियो। जहाँ मैले लघुकथा लेखनका सवालमा लघुकथाकारलाई अब्बल ठहर्याएको थिएँ। मेरो आंकलन सत्य सावित भएकोमा खुसी छु। किनभने उदाउनेबित्तिकै सामाजिक सञ्जालमा लघुकथाकारका धडाधड लघुकथाहरू ओइरो नै लागे। यही ओइरोको घानमा जन्मियो यो ‘चोटदेखि मृत्युसम्म’। वर्तमानमा लता केसीको नाम केवल लघुकथाकारको रूपमा मात्र सुवासित छैन, लघुकथाको विकासको अभियन्ताका रूपमा पनि चिनिन्छ। यो कृति मात्र होइन, उनका लघुकथाहरू भकाभक पुरस्कृत हुनथाले। सामाजिक सञ्जालमा समालोचनाका खात लागे। घागडान लघुकथाकारमा स्थापित गरिदिएको छ समयले। क्यानाडाबाट सञ्चालित मसमेत जाँचकी भएको अन्तर्राष्ट्रिय लघुकथा प्रतियोगितामा नाम छोपेर मूल्याङ्कन गर्दा पनि उनको लघुकथा दोस्रो भएर पुरस्कृत भएथ्यो। यसले पनि लता केसीमा रहेको लघुकथाप्रति लगावको सुनलाई सुगन्ध थपिदियो। ‘हाम्रो लघुकथा पाठशाला’ नामक सामाजिक सञ्जाल स्थापना गरेर लघुकथालाई आकाशमा पुर्याउने तीव्र अठोटका साथ अघि बढेकी अभियन्ता लता केसीको जाँगरमा घुन नलागोस् भन्ने कामना गर्दछु।

र अन्त्यमा, धेरै समालोचना, समीक्षा तथा चर्चा भइसकेको यो अब्बल कृतिमा मैले पनि केही पाठकीय विचार राख्ने दुःस्साहस गरेको छु। यो दुःस्साहस मेरो रहर मात्र हो। त्यसैले लघुकथाकार लता केसीलाई अग्रकार्यका लागि शुभकामना अर्पण गर्दछु। फेरि यसै गरी भेट होला वा नहोला, थाहा छैन। तर अहिलेलाई भने यो कार्यको पटाक्षेप गर्दछु।  

प्रकाशित: २२ आश्विन २०७८ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App