झन्डै दुई दशकअगाडि राजधानीसँग जोडिएको भक्तपुरमा आफूलाई उच्च वर्ग सम्झने मानिसबाट साधारण किसान परिवार पीडित थिए। स्पष्ट देखिने गरी नै ज्यापू (किसान) परिवार दोस्रो दर्जाको मानिसको रूपमा थिए।
आफूलाई साहुमहाजन भन्न रुचाउनेबाट किसान परिवारका मानिस हेपिएर, दबिएर बस्न बाध्य थिए। एक हिसाबले उनीहरू नोकरजस्तै थिए। २६ भदौमा सार्वजनिक विश्वराम कवांको जीवनीमा आधारित पुस्तक ‘मेरो जीवन यात्रा’ले यस्तै परिवेश प्रस्तुत गरेको छ।
पुस्तकका लेखक विश्वराम पनि एउटा सामान्य किसान वर्गमा जन्मिएका थिए। २०१६ असोज २१ मा भक्तपुर नगरपालिका–७ गोल्मढीमा जन्मेका उनले यस पुस्तकमा त्योबेला उच्च वर्गबाट आफूजस्ता सामान्य किसान वर्गमाथि हुने गरको थिचोमिचो उल्लेख गरेका छन्।
‘पारिवारिक जीवन र विश्वराम कवां’ शीर्षकको पहिलो खण्डको किसानमाथिको थिचोमिचो उपशीर्षकमा लेखकले लेखेका छन्, ‘त्यो समयमा खेतीकिसानीसँग सम्बन्धित एउटा घटना अहिलेसम्म मेरो दिमागमा ताजै छ। त्यो के हो भने बुबाआमा गोल्मढीको घरबाट जगाती भएर खेतमा जाँदा जगातीमा आफूलाई उच्च वर्ग भन्न रुचाउने एक परिवारको पसलमा एकछिन राख्नुपर्ने हुन्थ्यो। त्यहाँ उनीहरूको खेतसम्म लैजानुपर्ने सामान छ भने लगिदिनुपथ्र्याे। साथै बजारबाट जगाती लैजानुपर्ने भए पनि लगिदिनुपर्ने हुन्थ्यो। अनि खेतबाट आफ्नो घर गोल्मढी फर्किंदा पनि केही सामान छ भने जगातीसम्म ल्याइदिनुपर्थ्यो।’
यही उपशीर्षकको दोस्रो पाराग्राफमा विश्वरामले थपेका छन्, ‘यो काम मेरो आमाबुबाका लागि मात्रै थिएन, सामान्य सबै किसान परिवारले पालना गर्नुपर्ने हुन्थ्यो। यो एक हिसाबले अलिखित नियमजस्तै थियो। यतिले मात्रै नपुगी समय समयमा हुने तरकारी, फलफूल आदि खेतबाट घर ल्याउँदा कहिले पैसा दिन्थे भने कहिले पैसा नदिईकनै तरकारी दिनुपर्ने हुन्थ्यो।’
पुस्तक ६ खण्डमा विभाजित छ। पहिलो खण्डमा पारिवारिक जीवन र विश्वराम कवां, दोस्रोमा खेलकुदमा विश्वराम कवां, तेस्रोमा शिक्षामा विश्वराम कवां, चौथोमा भक्तपुर काण्ड र विश्वराम कवां, पाँचौँमा सामाजिक कार्य र विश्वराम कवां र छैटौँ तथा अन्तिममा व्यावसायिक यात्रा र विश्वराम कवां रहेका छन्।
पुस्तकमा दुःख र सुखको समिश्रण रहेको छ। प्रेम प्रस्ताव र विवाह उपशीर्षकमा लेखिएको छ, ‘एक दिनको कुरा हो। लमीकै योजनामा म नानीमैयाँलाई भेट्न एउटा घरमा गएको थिएँ। हामी एउटा कोठामा कुरा गरिरहेका थियौँ। एक अर्कालाई मन परेको अवस्थामा हामी पुगेकाले एक अर्थमा मायाप्रेमकै कुरा चलिरहेको थियो। यस्तैमा मेरी हुनेवाला सासू त्यही घरमा आइपुग्नुभयो। उहाँ आउनुभएको थाहा भएपछि म त्यहाँबाट भागेँ।’ यसरी पुस्तकमा त्यो बेलाको प्रेम अहिलेजस्तो स्वतन्त्र नभएको देखाइएको छ।
पुस्तकमा उल्लेख भक्तपुर काण्ड पढ्दा अहिले पनि भोग्नेहरूको आँखाबाट आँसु बग्ने दुःख छ। २०४५ भदौ ९ गते तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य कर्णप्रसाद हयोजूको मृत्यु भएको थियो। २०४५ सालको महाभूकम्पपछि पीडितलाई राहत वितरण गर्न पुगेको हयोजूले वास्तविक पीडितको सट्टामा गैरपीडित आफ्ना मान्छेलाई राहत वितरण गरी धाँधली गरेको भन्दै जनताको घेराउमा परेका थिए।
त्यो समयमा हयोजूमाथि सामान्य कुटपिट पनि भएको थियो। पछि उनको उद्धार गरी प्रहरी प्रशासनले लगेको थियो। त्यही राति उनको मृत्युको खबर राज्यबाट सार्वजनिक भयो। त्यसपछि लेखक लगायत ६७ जना निर्दाेष भक्तपुरेलाई पक्राउ गरी ज्यान मुद्दा चलाइयो। उक्त समय लेखकसहित ती सबै निर्दाेषले निर्दाेष भईकन पनि १८ महिना कष्टकर जेल जीवन भोग्न बाध्य भए। त्यसपछि २०४६ को सफल जनआन्दोलनसँगै उनीहरू सबै रिहा भएका थिए।
त्यो बेला तत्कालीन पञ्चायत सरकारले भक्तपुरमा एक किसिमको राज्य आतंक नै मच्चाएको थियो। त्यस क्रममा भक्तपुरभरिका जनता राति घरघरमा नभई सार्वजनिक स्थलहरूमा समूह समूहमा रात काट्न बाध्य भएका थिए। किनकि रातिराति घरघरमा आई प्रहरीले आतंक मच्चाउने कार्य त्यो बेला भएको थियो। तत्कालीन पञ्चायती सरकारले भक्तपुरेमाथि गरेको चरम दमन र त्यसबाट उत्पन्न दुःखबारे पुस्तकमा विस्तृत रूपमा उल्लेख छ।
पुस्तकको फरक पक्षको रूपमा लेखकले आफ्नो एकतर्फी मात्रै कुरा लेखेका छैनन्, बरु ठाउँठाउँमा उनलाई चिन्ने मानिसबाट उनको बारेको बुझाइ पनि समावेश गरेका छन्। त्यस अन्तर्गत नौजनाले लेखकका बारे लेखका छन्।
लेखकको खेलकुद जीवनबारे रवीन्द्र खर्वुजा, शिक्षणबारेमा डा. किशोर हाकुदुवाल, सामाजिक कार्यको बारेमा रामगोपाल कर्माचार्यले लेखेका छन्। साथै, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवां, रामगोपाल कर्माचार्य लगायतले पनि पुस्तकमा लेखकको बारेमा आ–आफ्नो बुझाइ र धारणा लेखेका छन्।
पुस्तकको गाता आकर्षक देखिन्छ। पुस्तक एक सय ४५ पृष्ठको रहेको छ। कागजको स्तर राम्रो देखिन्छ। तर, ठाउँठाउँमा भाषामा समस्या देखिन्छ। भाषाशैली क्लिष्ट नभएकोझैँ लाग्छ। साथै, भाषा सम्पादनमा पनि कहीँकतै गल्ती भेटिएका छन्। सिलसिला कहीँकतै तलमाथि परेको हो कि जस्तो भान हुन्छ।
यस पुस्तकको प्रकाशन लेखककै श्रीमती नानीमैया कवांले गरेकी हुन्। पुस्तकको मूल्य व्यक्तिगत दुई सय र संस्थागत तीन सय रूपैयाँ राखिएको छ। यसलाई अहिलेको बजार भाउका आधारमा महँगो भन्न मिल्दैन। पुस्तक बिक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघ भक्तपुरलाई सहयोगार्थ प्रदान गर्ने पुस्तकमै उल्लेख छ।
प्रकाशित: १६ आश्विन २०७८ ०३:२९ शनिबार