८ वैशाख २०८१ शनिबार
कला

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध

भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा राना थारु भाषालाई सरकारी कामकाज भाषाको लागि सिफारिस नगरेर विभेद गरेकोभन्दै कञ्चनपुर र कैलालीका आदिवासी रानाथारु समुदायले विरोध जनाएका छन। रानाथारु भाषालाई कामकाज भाषा बनाउन माग गर्दै उनीहरूले विरोधका कार्यक्रम गर्ने बताएका छन। 

आइतबार आयोजित पत्रकार सम्मेलनमा रानाथारु समुदायका अगुवाले भाषा आयोगले राना थारुको भाषालाई सिफारिस नगरेर आफूहरूको पहिचान मेटाउन खोजेको भन्दै विरोध प्रदर्शन गर्ने बताएका हुन। ‘राना थारु समाजको अगुवाईमा एक दर्जन बढी संघ संस्थाले राना थारु भाषालाई सरकारी कामकाज भाषा बनाउन माग राख्दै भोली सोमवार धनगढीमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ,’ नेपाल राना थारु समाजका अध्यक्ष कृपाराम रानाले भने। धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म प्रदर्शन गरिने उनले बताए ।

भाषा आयोगले जनगणना २०६८ का आधारमा सरकारी कामकाज भाषा सिफारिस गरेको थियो। सरकारी कामकाजको भाषा बनाउन प्रदेशको जनसंख्या,भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली लगायतलाई प्रमुख आधार मानेको बताइएको थियो। ७ वटै प्रदेशमा सरकारी कामकाज भाषा भनेर सिफारिस गरेको थियो। भाषा आयोगावट सिरफारिस गरिएका डोटेली र थारु भाषालाई सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाज भाषामा मान्यता दिइएको छ। थारु समुदाय र राना थारु समुदाय अलग भाषा, भेषभुषा, संस्कृती र पहिचान भएका समुदाय हुन ।

‘डोटेली र थारु भाषा जस्तै रानाथारु भाषाले पनि कामकाजी भाषाको मान्यता पाउनुपर्ने हाम्रो माग हो,’ अध्यक्ष रानाले भने, ‘सरकारले राना थारु समुदायलाई आदवासी जनजातीको रूपमा अलग्गै सूचिकृत गरिसकेको छ तर भाषा आयोगले गरेको विभेद्ले हामी विरोधमा उत्रन बाध्य हुनुपरेको छ ।’ ठूलो जनसंख्या भएको समुदायले बोल्ने भाषालाई भाषा आयोगले उपेक्षा गरेको उनको भनाइ छ। डोटेली र थारुसँगै रानाथारु भाषालाई पनि प्रदेशमा कामकाजी भाषाको मान्यता दिन प्रदेश सरकारको पनि ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

नेपालमा कैलाली र कञ्चनपुरमा मात्रै रानाथारु समुदायको बसोबास छ। थारु समुदाय अन्तर्गत राखिएका रानाथारुको भेषभुषा, पहिचान, रितिरिवाज सबै अलग भएकाले छुट्टै आदीवासीको सूचिमा राखिनु पर्ने लामो समयदेखिको माग हो। उनीहरूको माग सम्बोधन गर्दै प्रधानमन्त्री केपी प्रसाद ओलीको सरकारले २०७७ जेठ ५ गते राना थारुलाई छुट्टै आदिवासीको सूचीमा सूचीकृत गरेको थियो। कैलाली र कञ्चनपुरमा गरी रानाथारु समुदायको जनसंख्या तीन लाखभन्दा बढी रहेको उनीहरूको भनाई छ। कैलाली र कञ्चनपुरमा आदिबासीको रूपमा रहेको रानाथारुको छुट्टै भाषा, भेषभुषा, संस्कृती, पहिचान र रितिरिवाज रहेको छ ।

कामकाजी भाषा बनाउनका लागि आवश्यक जनसंख्या, भाषाको प्रयोग, इतिहास, व्याकरण, शब्दकोष, मानकीकरणलगायतका सबै आधारहरू रहेको राना थारु समुदायका अगुवा नेता कमल रानाले बताए। ‘सरकारी कामकाजी भाषा बनाउन आवश्यक सवै कुरा हुँदाहुँदै रानाथारु भाषालाई उपेक्षा गरिनु आपत्तीजनक हो,’ उनले भने। पाठ्यपुस्तक तयार गरेर कैलाली कञ्चनपुरका २७ सामुदायिक बिद्यालयमा कक्षा १ देखि ५ सम्म रानाथारु भषामा पठनपाठन भैरहेको उनले बताए। ‘भाषा आयोगले विभेद गरेकाल हामी त्यसका विरुद्ध आन्दोलन गर्ने निर्णयमा पुगेका हौं ।’

सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको प्रदेश प्रहरी तथा प्रदेश निजामती सेवाको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत राना थारुको समावेशिताको व्यवस्था नगरिएकोमा पनि उनीहरूले आपत्ती जनाएका छन। ‘रानाथारुलाई सरकारले छुट्टै आदिवासीको सूचीमा सुचिकृत गरिसकेकाले प्रदेश सरकारका निकायमा पनि आरक्षण छुट्याइनु पर्छ,’ उनले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रम गरिरहन्छौं ।’

प्रकाशित: २८ भाद्र २०७८ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App